झ्यालबाट हिँडिरहेका मानिसहरू देखिन्थ्यो। गाडीहरू गुडिरहेको हुन्थे। फोटो पत्रकार प्रविन कोइराला भने अस्पतालको एउटा सानो कोठामा थुनिन बाध्य थिए। लकडाउनमा सुनसान सडकदेखि अस्पतालसम्मको फोटोहरू खिच्दै हिँडेका उनलाई अस्पताल बसाई सकस बनेको थियो।
कोरोना महामारी फैलिएको सुरुवाती दिनमा त्रास त थियो। तर, काममा खट्नु 'फ्रन्टलाइनर'को जिम्मेवारी। आवश्यक सुरक्षा सामाग्रीको प्रयोग गर्दै काममा खटे।
भदौ पहिलो साता उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमणकै कारण शारीरिक अप्ठ्याराहरू त भोग्न परेन उनले। तर, सक्रिय मानिस अस्पतालभित्र गुम्सिनुपर्दा तनाव बढ्दै गयो।
'जति एक्लो भएँ, त्यति बढी सोच्न थालेँ। मेरो कल्पना भयावह बन्दै गयो, ' उनले सुनाए, 'शारीरिक समस्या त्यति थिएन। तर, मलाई केही भइहाले परिवारलाई कति गाह्रो होला? भन्ने प्रश्न खेलिरहन्थ्यो।'
भाइरसले गालेको शरीर तङ्ग्रिदै जाँदा पनि उनमा चिन्ता कम भएन। त्यसैले संक्रमणमुक्त भएको निकै पछिसम्म काममा फर्कने आँट गरेनन्। उनमा संक्रमित हुनुअघिको जस्तो जोस बाँकी थिएन। डर आइसोलेसनमा रहँदाभन्दा चुलिएको थियो।
कोठाभित्र एक्लै हुँदा पनि मास्क नलगाइ बस्न सक्थेनन्। चुपचाप बस्दा पनि केही मिनेटको अन्तरालमा स्यानिटाइजर लगाइरहन्थे। चाहिनेभन्दा बढी गरिरहेको छु भन्ने महसुस गर्थे तर आफूलाई रोक्न सक्थेनन्।
'मानिसहरू देख्दा डर लाग्ने। कतै उनीहरूबाट फेरि संक्रमण सर्ने हो कि? भन्ने त्रास। स्वास्थ्य जटिलता नभोगी निस्किँदा समेत मलाई कोरोनाले तर्साइ राख्यो,' प्रविनले भने।
उनलाई आफ्नो स्वासप्रस्वास असामान्य भएजस्तो लाग्ने रहेछ। मुटु काँपेजस्तो हुने। अनि शरीर अनियन्त्रित भएजस्तो।
काममा फर्कँन नसकेका उनी अस्पतालसम्म धाउने त कुरै भएन। त्यसैले अनलाइन परामर्शदाताहरूको सहयोग लिए। उनीहरुको निर्देशन अनुरुप गरे पनि। तर, अवस्था सामान्य बन्न समय लाग्यो। सबैको सल्लाह बमोजिम मुटुको परीक्षण गराएपछि भने उनी केही ढुक्क भए। नजिता सामान्य आएको थियो।
'त्यसपछि चिन्ता थोरै कम भयो। डर त थियो तर बिस्तारै कोप गर्दै गएँ,' उनले भने, 'कार्यालय त फर्किएँ तर फिल्डमै खट्न निस्किन त थप केही समय लिएँ।'
कार्यालयमा बसेर विभिन्न अन्तर्राष्ट्रिय लेखहरू, खोजपत्रहरू पढ्दा थाहा पाए – उनलाई पोस्ट- कोभिड ट्रमा देखिएको रहेछ। उनले त्यस अवस्थासँग जुँध्न अनलाइन परामर्शदाताको समय लिए। अहिले बल्ल उनको दैनिकी लयमा फर्कँदैछ।
वानेश्वरका २६ वर्षीय उन्नत सापकोटा संक्रमणमुक्त भएको तीन महिना भयो। तर, कोभिड-१९ संक्रमणसँगै सुरु भएको दिक्दारी अझै महसुस गर्छन् उनी।
‘पहिलेभन्दा बढी अल्छी लाग्छ। घण्टौंसम्म ओच्छ्यानमै पल्टिरहन मन लाग्छ। काममा ध्यान नै जाँदैन। स-साना कुरामा दिक्दार महसुस हुन्छ,’ उन्नतले सुनाए, 'अझ ठूलो समस्या त, निकै सामान्य कुराहरू पनि बिर्सने भएको छु।'
एकदिन उनी खाना खान तयार भए। हात धोएर थाल समातेका उनलाई दिदीले सम्झाइन् उनले केहीबेर अघि नै खाइसकेको कुरा। कतिपटक फोनमा बोल्दाबोल्दै मोबाइल खोजेका छन्। यस्ता कुरा सुनाउँदा हाँस्छन् उनी।
तर, कोभिड-१९ पछि देखिएका यस्ता समस्या हाँस्ने विषय होइनन्। सुरुवाती चरणमा संक्रमण पुष्टि भएकी प्रसिद्धि श्रेष्ठले आफ्नो ब्लगमा लेखेकी थिइन् : यस प्रक्रियामा मैले के महसुस गरेँ भने हामीले मानसिक स्वास्थ्यको पाटोलाई बेवास्ता गर्दा रहेछौं। सास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरू र मानिसले देखाउने व्यवहारका कारण हामीमा चिन्ता बढ्दो रहेछ।
यो प्रसिद्धि एकजना वा प्रवीण वा उन्नतको मात्र भोगाइ भने होइन।
अन्तर्राष्ट्रिय स्तरमा भएका अध्ययनहरूले कोरोना भाइरस संक्रमणपछि मानिसहरूमा नैराश्यता, डर, छट्पटाहट र बिर्सने समस्या बढेको पुष्टि गर्छन्।
अमेरिकामा कोरोना भाइरस संक्रमणपछि उपचारका लागि आएकामध्ये २० प्रतिशत मानिसमा मनोवैज्ञानिक असर परेको देखिएको छ। त्यहाँको ६ करोड ९० लाख मानिसको स्वास्थ्यस्थिति मूल्याङ्कन गरिएको थियो। जसमध्ये ६२ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमित हुन्। त्यस्तै ६ प्रतिशत् वयश्कको मानसिक स्थिति सन्तुलित पाइएन।
हेल्थलाइनका अनुसार अध्ययनले कोभिड-१९ भएका बिरामीमा पहिलोपटक चिन्ता र छट्पटीको समस्या हुने जोखिम दुई गुणा बढाएको देखायो। संक्रमित भएकोका मानिसको हकमा भने बिर्सने समस्या दुईदेखि तीन गुणा बढेको छ।
कस्तो छ त नेपालमा अवस्था?
नेपालमा भने कोरोना संक्रमपछि देखिएको मानसिक समस्या सम्बन्धी यकिन तथ्याङ्क नभएको बताउँछन् पाटन अस्पतालका मनोरोग विशेषज्ञ डाक्टर पवन शर्मा। उनले दिएको जानकारी अनुसार अस्पतालमा आउने २० जना बिरामीमध्ये १ जनामा एन्जाइटी (छट्पटीको समस्या) र डिप्रेसन (नैराश्यता) देखिएको छ।
जसलाई संख्यात्मक हिसाबमा धेरै मानिँदैन।
लकडाउन अघिको तुलनामा पाटन अस्पतालमा मनोपरामर्श र मनोरोग उपचारका लागि आउनेको संख्यामा वृद्धी भएको छैन। निजी क्लिनिकमा भने समस्या पहिचानका लागि आउनेको संख्या बढेको उनले बताए।
‘अस्पतालमा संक्रमितको उपचार भइरहेको छ भन्ने खबरले पनि मानिसलाई केही त्रसित बनाएको छ। त्यसैले अस्पतालमा भन्दा बढी मानिस क्लिनिकमा धाइरहेका छन्। संक्रमणले मानिसमा मनोवैज्ञानिक असर पारेको छ,’ उनले भने।
यस्तोखाले असर लकडाउनको मध्यदेखि नै देखिएको बताउँछन् डाक्टर शर्मा। त्यस समय मानिसमा आफूलाई पनि संक्रमण हुने डर थियो। त्यसैले कोरोनाको लक्षण मिल्दो समस्याहरू देखिँदा आत्तिने र परामर्शका लागि आउनेहरू थिए। बिस्तारै मानिसले कोभिड-१९ सँगै दैनिकीलाई सामान्य बनाएर अघि बढाए।
‘मास्क नै नलगाइ हिँड्नेहरू देखिन्छन्। कोरोनाकै डर नभएपछि यस विषय सम्बन्धी चिन्ता लिने पनि उस्तो छैनन्। संक्रमण भइसकेकाहरूमा चाहिँ अल्पकालीन मनोवैज्ञानिक समस्याहरू देखिएका छन्,’ उनले भने।
विशेषगरी वृद्धवृद्धा र लामो समय आइसोलेसनमा बसेकाहरूलाई चिन्ता बढ्ने, छट्पटी हुने, डर र निराशा छाउनेजस्ता समस्या देखिएको डाक्टर पवनले बताए।
सचेत छैनन् आम मानिस
दुई महिनाअघि एक व्यक्ति मनोविद् गंगा पाठक कहाँ पुगे। उनमा अनिद्रा र नैराश्यताको समस्या थियो। पाठकसँगको भेट र परामर्शमा उनले आफूलाई के कुराले सताइ रहेको छ खुलाएनन्।
परामर्शको केही श्रृङ्खलापछि थाहा भयो – ती व्यक्तिले आफूलाई कोभिड-१९ संक्रमण भएको तथ्य लुकाएका रहेछन्। त्यसपछि बल्ल समस्या पहिचान भयो।
'संक्रमण हुनु भनेको निकै ठूलो समस्या हो। यसका कारण आफू र आफ्नो परिवारलाई हेर्ने दृष्टिकोण र भोग्नु पर्ने व्यवहार सामान्य रहँदैन भन्ने सोचेर कुरा लुकाएका रहेछन्,' डाक्टर पाठकले भनिन्।
ती मानिसलाई खुल्न समय लाग्यो। तर, समस्या पहिचानपछि भने उचित परामर्श पाए। केही सातामा उनलाई निद्रा लाग्न थाल्यो।
यस घटनाले आम मानिस मनोवैज्ञानिक समस्या र आवश्यक परामर्शबारे सचेत नभएको पुष्टि गर्ने बताउँछिन् पाठक।
'नेपालीलाई सहने बानी छ। आफूलाई केही नभएजस्तो बन्न पनि सक्छौं तर मनोवैज्ञानिक समस्या शरीरमा लागेको चोटजस्तो हुँदैन। देखिँदैन। भित्रभित्रै पाक्दै जान्छ। त्यसैले परामर्श आवश्यक छ,' उनले भनिन्।
धेरै गाह्रो भएपछि मात्र मनोरोग विशेषज्ञ कहाँ जानु र औषधी खानुभन्दा समयमा परामर्शमा जोड दिन सुझाइन्। 'मनोवैज्ञानिक पाटो नजरअन्दाज गर्दा तत्काल नतिजा नदेखिएला तर बिस्तारै यसको असर भयावह देखिन्छ,' उनले भनिन्।
मानिसहरू उर्जाविहीन महसुस गर्ने, स-साना कुराहरू याद नहुने, शरीर दुख्ने, नैराश्यता र चिन्ताहरू दबाएर राख्दा मानसिक साथै शारीरिक जटिलता बढ्दै जाने बताइन्।
यस विषयमा द लानसेटले लेखेको छ : १८ प्रतिशत कोरोना संक्रमित संक्रमण पुष्टि भएको तीन महिनासम्म मानसिक रोगको उच्च जोखिममा हुन्छन्।
‘महामारीले दिएको तनाव र रोगले पारेको शारीरिक असरका कारण मनोविज्ञानमा आघात पार्छ,’ लेनोक्स्ट हिल अस्पताल, न्यूयोर्ककी मनोविद् ब्रिटानी लेमोन्डालाई उदृत गर्दै हेल्थलाइनले जनाएको छ।
कस्तो छ कोरोना कालमा मनोरोगको दृष्य?
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था कोसिसले मनोरोग उपचाररत् महिलाहरूमा कोभिड-१९ महामारी र लकडाउनले पारेको असरबारे गरेको अध्ययन अनुसार नियमित हुने त्रास, सीमित मानिससँगको सम्पर्क र दैनिक उपभोग्य वस्तु अभावका कारण उनीहरूको मानसिक स्थिति झनै बिग्रिएको देखियो। एक सय पाँच जना संक्रमित महिलाहरुमा गरिएको अध्ययनका अनुसार ७० प्रतिशत् महिलामा धेरै रीस, निराशा, दिक्दारी, डरलगायत समस्या बढेको अध्ययनले देखाएको छ। त्यस्तै, ५८ प्रतिशतलाई अनिद्रा र अरुची भएको देखियो।
लकडाउनको अवधिमा ४५ प्रतिशत् मनोरोगी महिलाहरू दैनिक उपभोग्य वस्तुको अभावबाट गुज्रिएको सर्वेक्षणले देखाउँछ। तीमध्ये ३४ प्रतिशतले मात्र राहत पाए। त्यस्तै ३४ प्रतिशतमा विभिन्न किसिमका हिंसाले पनि असर गर्यो।
लकडाउनकै कारण २६ प्रतिशत मनोरोगी दैनिक प्रयोग गरिरहेको औषधीबाट बञ्चित भए। औषधीलाई निरन्तरता नदिनुका कारणहरू स्वास्थ्य संस्थासम्म पहुँच नहुनु, आवश्यकतालाई बेवास्ता गर्नु, जाँगर नहुनु, आर्थिक विपन्नता र पारिवारिक सहयोग नहुनु आदि हुन्।
संस्थाका कार्यक्रम अधिकृत युवराज चन्दका अनुसार महामारीपछि मनोसामाजिक पाटोमा देखिने असरबारे बुझ्न र ती समस्या निवारणका बाटो पहिल्याउन विभिन्न सर्वेक्षण गरिएको हो।
कोसिसले नै गरेको अर्को सर्वेक्षणमा प्रत्येक प्रदेशबाट ३ सय ८५ जना शारीरिक तथा बौद्धिक अपाङ्गता भएकाहरू सहभागी थिए। जसमध्ये ५० प्रतिशतले लकडाउनयता आफ्नो भावनात्मक पाटो एवं व्यवहारमा परिवर्तन महसुस गरे। तीमध्ये २२ प्रतिशतलाई एक्लोपनले गाँजेको देखियो।
१३ प्रतिशतलाई चिड्चिडाहट बढेको, १४ प्रतिशतलाई रीस स्वभाविकभन्दा बढी उठेको, १७ प्रतिशतलाई अधैर्यता बढेको, २० प्रतिशतलाई डर र दिक्दारी, २० प्रतिशत आतंकित हुने, ६ प्रतिशतलाई ग्लानी भएको, ७ प्रतिशत हताश हुनेक्रम बढेको देखिन्छ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ)का अनुसार कोभिड-१९ को महामारीपछि मानिसमा अधैर्यता, डर, चिन्ता, छट्पटी बढेको छ। संस्थाले १५ सय सहभागीबिच गरेको सर्वेक्षणका अनुसार ४२ प्रतिशतलाई कुनै एक किसिमको मनोसामाजिक असर देखिएको छ। त्यस्तै २६ प्रतिशतमा दुई वा सोभन्दा बढी लक्षण देखिएका छन्।
२५ प्रतिशतले आफूमा समस्या महसुस भएको बताएका छन्। टीपीओका मनोविद्ले महिला, विद्यार्थी, प्रभावित व्यवसायी र दैनिक ज्याला मजदुरी गर्नेहरूमा मनोसामाजिक समस्या बढी देखिएको बताए।
के गर्न सकिन्छ मनोवैज्ञानिक समस्यासँग जुँध्न?
विश्व स्वास्थ्य संगठनले पनि कोरोना महामारीको समयमा संक्रमित एवं अन्य मानिसले मानसिक स्वास्थ्य स्वस्थ राख्नका लागि विशेष जोड दिनुपर्ने उल्लेख गरेको छ।
महामारीको समयमा कोही मानिस घरबाट काम गरिरहेका छन्। कोही बेरोजगार भएका छन्। बालबालिका घरबाटै पढिरहेका छन्। सामाजिकरण न्यून हुँदा मानिसले एक्लै बस्ने, धेरै सोच्ने गरेका छन्। संगठनका अनुसार मानिसमा संक्रमणको त्रास बढ्दो छ र आफू सबैभन्दा कमजोर छु भन्ने अनुमान गरिरहेका छन्। यस्ता सोचबाट पर रहन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे जानकार रहन सुझाएको छ। त्यस्तै, तालिका बनाएर दैनिकी अघि बढाउनुमा पनि जोड दिएको छ। निद्रा, सर-सफाइ, स्वस्थ खाना, शारीरिक व्यायम र आरामका विषयमा ध्यान दिन अत्यावश्यक भएको जनाइएको छ।
मादक तथा नशाजन्य पदार्थ नखान वा कम गर्नुले मानसिक स्वास्थ्य सन्तुलित राख्न मद्दत पुर्याउने उल्लेख छ।
संक्रमण नियन्त्रणका लागि गरिएका लकडाउनका कारण मानिस मानिससँग भन्दा बढी जोडिएको छ प्रविधिसँग। भाइरसको विश्वव्यापी असरदेखि यसबाट जोगिने उपायहरूबारे विविध प्रविधिमार्फत् जानकार रहे मानिसहरु। कामदेखि पढाईसमेत इन्टरनेटमार्फत् नै भए। तर, अध्ययनहरूका अनुसार प्रविधिको उच्च र गलत प्रयोगका कारण पनि मानिसहरूमा मनोवैज्ञानिक असर बढ्दो छ।
त्यसैले, संगठनले प्रविधिमार्फत् सामाजिक सम्पर्क कायम राख्न तर समाचार लगायत सामाग्री कम ग्रहण गर्न सुझाएको छ। सकेसम्म ‘स्क्रिन टाइम’ घटाउन र सामाजिक सञ्जालमार्फत् आफूले पनि सकारात्मक सन्देशहरू प्रवाह गर्नु महत्वपूर्ण हुने बताइएको छ।
कोभिड-१९ ले मानिसको केन्द्रीय स्नायु प्रणाली (सेन्ट्रल नर्भस सिस्टममा) कस्तो असर गर्छ? भन्ने विषयमा वैज्ञानिकहरू अनुसन्धान गरिरहेका छन्। तर, त्यसले मस्तिष्कको रक्त सञ्चारमा असर गर्ने र मस्तिष्कको उतक (टिस्यु)हरू सुन्नाउँछ।
भाइरसका कारण स्वासप्रस्वास प्रक्रियामा परेको असरका कारण पनि मस्तिष्कमा पर्याप्त अक्सिजन नपुग्ने हेल्थलाइनले जनाएको छ।
त्यसैले, कोभिड-१९ संक्रमण भएका र त्यसबाट मुक्त मानिसले नियमित मनोपरामर्श लिन आवश्यक भएको बताउँछिन् मनोविद् गंगा पाठक। हरेक व्यक्तिपिच्छे देखिने असर फरक हुने भएकाले सबैलाई फरक तरिकाले त्यस मानसिक स्थितिबाट बाहिर आउन मद्दत आवश्यक पर्ने बताइन्।
यसरी हुनसक्छ सहयोग
लकडाउनयता विभिन्न संघ संस्था, अस्पताल र मनोविद्हरूले आवश्यक परामर्शको लागि ढोका खुला राखेका छन्। कोभिड-१९ र लकडाउनले पार्ने मनोवैज्ञानिक असर न्यूनिकरण, उपचारका लागि सचेतना लगायत विषयमा तालिमसमेत भएका छन्।
कोसिस नेपालले हटलाइनमार्फत् हालसम्म १३ सय १४ जनालाई आवश्यक परामर्श दिएको जनाएको छ। संस्थाले प्रत्येक प्रदेशबाट कूल २० जना मनोविदमार्फत् सेवा दिएको हो। परामर्शदेखि अस्पताल रेफर वा उद्दारको समेत काम गरेको संस्थाका कार्यक्रम अधिकृत युवराज चन्दले बताए। उनका अनुसार यस अवधिमा संस्थाले ८ सय ३२ जनालाई मानसिक स्वास्थबारे बुझाउने कक्षामा सहभागी गराए। मनोरोगीहरूलाई भर्चुअल उपचारको समेत व्यवस्था गरेका थिए।
कोसिसको हटलाइन सेवा फेब्रुअरीसम्मका लागि कायम छ। वागमती प्रदेशको हकमा भने फेब्रुअरी पछाडि पनि टोल फ्री नम्बर १६६००१२२३२२ मार्फत् निरन्तर परामर्श दिइने चन्दले जानकारी दिए।
त्यस्तै, टीपीओले पनि टोल फ्री नम्बर १६६००१०२००५ मार्फत् आवश्यक मनोवैज्ञानिक परामर्श दिइरहेको छ।