PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’को लोकार्पण



देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’को लोकार्पण

काठमाडौं : नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’लोकार्पण भएको छ। फाइनप्रिन्टले प्रकाशन गरेको सो कृतिको आइतवार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो।

‘पाण्डे जति क्षेत्रमा संलग्न हुनुभयो, जहाँजहाँ उहाँले कर्म गर्नुभयो, सबै ठाउँमा छाप छाड्नुभएको छ’, लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले भने, ‘निष्काम कर्म गर्न रुचाउने पाण्डेले बाँचिरहेको समयको इतिहास पनि यो पुस्तकमा रहेको छ।’

लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक निर्माण भएर लागू भइसकेपछि पनि यहाँको राजनीति र अर्थतन्त्रले जुन कोल्टे फेर्नुपर्ने थियो, त्यसो नहुँदा आफूलाई सधैँ विरक्त लाग्ने गरेको देवेन्द्रराज लेखक पाण्डे बताए।

उनी भन्छन्, ‘त्यसपछि आफ्नै जीवनलाई फर्केर हेरेँ, आखिर मैले पनि जीवनमा के गरेँ त?’, उनले भने, ‘आफ्नै आत्मसमीक्षा गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले यो पुस्तक रचना हुने आधार बन्यो। र, कुनै एक रात म सुत्न नसकेको अवस्थामा यसको खाका तयार पारेँ। र, बिस्तारै लेख्दै गएँ, मिलाउँदै गएँ। अन्ततः यो पुस्तकले साकार रूप लियो।’

पुस्तकमा पाण्डेले आफ्नो व्यक्तिगत जीवनबारे एकदमै कम तर आफूले बाँचेको समय, आफूले गरेका काम, आफूले डोर्‍याएको नागरिक आन्दोलन आदिका विषयमा चर्चा गरेको फाइनप्रिन्टका प्रकाशक अजित बरालले बताए।

‘यो पुस्तक नेपाली समाज, राजनीति, इतिहास र अर्थतन्त्र चियाउने आँखीझ्याल हो,’ उनले भने।

१९९६ भदौमा काठमाडौंमा जन्मिएका पाण्डे २०१७ साल चैतमा तत्कालीन श्री ५ को सरकारको निजामती सेवाअन्तर्गत शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरेका थिए।

२०३६ साल फागुनमा अर्थसचिवबाट स्वेच्छाले राजीनामा दिएका र पछि अर्थमन्त्रीसमेत भएका विशिष्ट बुद्धिजीवी तथा चिन्तनशील लेखक पाण्डेले २०१४ सालमा त्रिचन्द्र कलेजबाट बिए र २०१६ सालमा इलाहावाद विश्वविद्यालयबाट एमकम डिग्री हासिल गरेका छन्।

संयुक्त राज्य अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयबाट २०२० सालमा आर्थिक विकास मुख्य विषय लिई सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स डिग्री (एमपिआइए) एवं २०२५ सालमा सोही विश्वविद्यालयबाट सोही विषयमा पीएचडी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell