PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

अप्ठ्यारो पर्दा महाजनसँग जग्गा धितो राखेर ऋण लिए, जग्गा पास भइसकेको थाहा पाउँदा झसङ्ग



सुमित मिश्र

अप्ठ्यारो पर्दा महाजनसँग जग्गा धितो राखेर ऋण लिए, जग्गा पास भइसकेको थाहा पाउँदा झसङ्ग

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय बिघाकी जागोदेवी दासको परिवारको आर्थिक स्थिति निकै कमजोर थियो। परिवारको आर्थिक स्थिति कमजोर रहेका कारण जागोदेवीले श्रीमान् कमलेश दासलाई वैदेशिक रोजगारमा पठाउने योजना बनाइन्। तर, त्यसका लागि समेत पैसा नभएकाले गाउँकै सुरेश कुमार यादवसँग ऋण लिइन्।

जागोदेवीले उनका श्रीमान् कमलेश दासकै नाउँमा रहेको १ कठ्ठा १० धुर जग्गा धितो राखेर २ लाख रुपैयाँ ऋण लिइन्। श्रीमान् रोजगारीका लागि कतार गएको ४ वर्ष भइसकेको छ। यता पैसा दिनका लागि पुग्दा महाजन यादवले ६ लाख रुपैयाँको तमसुक बनाउनुका साथै जग्गा समेत पास गराइसकेको जागोदेवीले बताइन्।

जागोदेवी श्रीमान् कमलेश दासको नाउँमा रहेको सो जग्गामै घर बनाएर बस्दै आएकी छन्। सो जग्गाको बजार मूल्य अहिले २० लाख रहेको उनले बताइन्।

त्यस्तै, सुरेशसँग ऋण लिने सोही गाउँकी सुरेखिया देवी पनि हुन्। उनले समेत कोरोना संक्रमणको त्रास रहेको बेला आफ्नो ७ कठ्ठा ११ धूर जग्गा बिक्री गर्ने योजना बनाइन्। उनको त्यो जग्गा लिनका लागि सुरेश तयार भए। तर, कोरोना संक्रमणको त्रासका कारण कार्यालयहरु बन्द रहेका कारण रजिष्ट्रेशन हुन सकेको थिएन।

त्यसैबीच, पैसाको खाँचो रहेकाले उनले सुरेशसँग ३ लाख रुपैयाँ लिइन्। जसका लागि सुरेशले ९ लाख रुपैयाँको तमसुक पनि बनाए। अब कार्यालयहरु खुलिसकेपछि पैसा दिन र जग्गाको रजिष्ट्रेसन गर्न भन्दा कुन पैसा के को पैसा भनी आफूलाई जवाफ फर्काएको सुरेखियाले पीडा पोखिन्। उनका अनुसार कोरोना संक्रमणको बेलामै आफूले पैसा लिएपनि सुरेशले २ वर्ष अगाडिको कागज बनाएको बताइन्।

यता सुरेशले यसरी पैसा ऋणमा लगाएर पीडा दिन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरुले उजुरी दिए। प्रहरीले सुरेशलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell