PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अबको आन्दोलन, संयमता र सजगता



अबको आन्दोलन, संयमता र सजगता

राजनैतिक दलको आन्तरिक कचिङ्गल र नेताहरूको अदुरदर्शी कदमले गर्दा देश अस्थिरताको र आन्दोलनको दुश्चक्रमा होमिइसकेको छ। हिउँदको जाडोमा पनि आन्दोलनको सरगर्मी चढेको छ। दलहरूको आन्दोलनले त्यति गति लिन नसके पनि नागरिक अगुवाहरूको नेतृत्वमा आन्दोलनले गति लिँदै गरेको छ। कतिले त अबको आन्दोलन ‘तेस्रो जन आन्दोलन’ पनि भन्न थालिसकेका छन्। सर्वोच्चको फैसला आउन बाँकी छ तर सर्वोच्चको फैसलालाई नै नमान्ने गरेर आन्दोलनका आवाजहरू उठेका छन्। फैसला आउने बित्तिकै आन्दोलन अर्को चरणमा प्रवेश गर्ने निश्चित जस्तै छ। अहिलेको स्थितिमा सर्वोच्चको फैसला जे आए पनि आन्दोलन रोकिने स्थिति देखिदैन। हुन त कानुनी राज्यमा आफूले माने पनि नमाने पनि, आफ्नो पक्षमा फैसला आए पनि आफ्नो विपक्षमा फैसला आए पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला सर्वमान्य हुनुपर्ने हो, तर नेपालमा कानुनभन्दा बलले सत्ता हत्याउने चलन बसिसकेकोले सर्वोच्चको फैसलाकै विरुद्धमा पनि आन्दोलन हुने निश्चित छ। राजनितिज्ञको विगत र वर्तमान हेर्दा सबैलाई थाहा छ कि उनीहरूले आफ्नो पक्षमा फैसला आएन भने त्यो फैसलालाई नकारेर सडकबाट नै बल प्रयोग गरेर आफ्नो शक्ति देखाउने र आफ्नो फैसला सुनाउनको लागि आन्दोलन गर्न सडकमा जानेछन्।

हुन त वर्तमान संविधान सबै राजनैतिक दलका नेताहरूले सँगै बसेर बनाएको भए पनि संविधानलाई आ-आफ्नो ढङ्गले व्याख्या गर्ने गरेका छन्। त्यसैले सर्वोच्चको फैसलापछि देशको राजनीति झन् संकटपूर्ण अवस्थामा धकेलिने देखिन्छ।

सर्वोच्चले ओलीको पक्षमा फैसला गर्‍यो भने अहिलेका आन्दोलनरत पक्ष खुरुक्क निर्वाचनमा जानु पर्ने हो तर त्यो होला जस्तो देखिदैन। अनि अर्को तर्फ यदि सर्वोच्चले प्रतिनिधि सभा विघटनको विपक्षमा फैसला सुनायो भने ओलीले खुरुकक सत्ता छोडेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरिदिनुपर्ने हो तर त्यो पनि हुन सक्ने स्थिति देखिंदैन। कतिपय राजनैतिक विश्लेषकहरूले त यदि सर्वोच्चको फैसला आफ्नो पक्षमा आएन भने ओलीले संकटकाल लगाउने छन् भनेर ठोकुवासमेत गरिसकेका छन्। त्यो बेलामा जुन पक्षले गरे पनि एकमात्र विकल्प भनेको आन्दोलन नै हुनेछ।

त्यसैले नेपालीको नियतिमा अर्को आन्दोलन त अब अवश्यम्भावी जस्तो नै देखिन्छ। यदि हाम्रा नेताहरू दुरदर्शी हुन्थे भने, हाम्रा नेताहरू नैतिकवान हुन्थे भने, यदि हाम्रा नेताहरूले देश र जनताको लागि सोच्थे र अलिकति पनि जिम्मेवार हुन्थे भने आन्दोलन रोकिन सक्थ्यो, अस्थिरता रोकिन सक्थ्यो, अराजकता रोकिन सक्थ्यो तर त्यो हुने स्थिति देखिदैन। हाम्रा नेताहरूलाई देशलाई अस्थिरता र अराजकतामा धकेलेर धमिलो पानीमा माछा मार्ने बानी बसिसकेको छ। आन्दोलन त रोकिने देखिदैन तर यदि आन्दोलनकारीहरू र सरकारको पुरै मति भ्रष्ट भैसकेको छैन भने, अझैं पनि अलिकति बुद्धि बाँकी छ भने आन्दोलनलाई संयमित बनाउन र यसलाई आफ्नो उदेश्यबाट भड्किन नदिन सजगता अपनाउनै पर्छ।

आन्दोलनमा संयमताः

हामीले देखैकै छौं, हाम्रा विगतका आन्दोलनहरू कति उत्तेजित र असभ्य थिए भन्ने। इराकमा नेपाली मारिंदा नेपालमा आगजनी गर्नु कति सम्मको मुर्खता थियो? विदेशको एउटा कलाकारले नेपालको बारेका केही नराम्रो कुरा गर्दा आफ्नै देशको सम्पत्ति तोडफोड गर्नु आफ्नै दाजुभाइलाई कुटपिट गर्नु कति सम्मको असभ्यता थियो? नेपालमा हुने हरेक आन्दोलनमा हामीले देखेको भनेको जनधनको क्षति हो, उद्दण्डता हो, उछृङ्खलता मात्र हो। सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, नारा र भाषणमार्फत आफ्ना विपक्षीहरूलाई गाली बेइज्जती गर्ने कुरा आन्दोलनको छुटाउनै नहुने पाटो बनिसकेको छ। अहिले चलिरहेको आन्दोलनले पनि विस्तारै त्यो रुप धारण गर्न थालिसकेको छ। आन्दोलनकारीहरूले सुन्नै पनि गाह्रो लाग्ने नाराहरू लगाउन थालेका छन्। तर हामीले एउटा कुरा के बिर्सनु हुँदैन भने आन्दोलन गर्न पाउने हामी सबैको अधिकार हो तर हरेक अधिकारसँग त्यसका कर्तव्यहरू पनि जोडिएका हुन्छन्। अधिकार र कर्तव्य एउटै तराजुका दुई पल्ला हुन् र हामीले त्यसलाई सन्तुलनमा राख्नु पर्छ। अधिकार मात्र खोज्ने तर आफ्नो कर्तव्य पालना नगर्ने छुट कानुनी राज्यमा कसैलाई पनि हुनु हुँदैन। स्वतन्त्रताको नाममा उछृङ्लाता कदापी स्वीकार्य हुन सक्दैन। त्यसैले आन्दोलनरत जो भए पनि निकै संयमित भएर कुनै तोडफोड नगरी, उछृङ्खलता नदेखाई शान्तिपूर्ण आन्दोलन गर्नु, आफ्नो अधिकारको साथै कर्तव्यको पनि ख्याल गर्नु अहिलेको आवश्यकता हो।

आन्दोलनमा सजगताः

आन्दोलनका क्रममा आन्दोलनले रुप बदलेको त हामी सबैले पटक पटक देखेकै कुरा हो। २०६२/६३ कै आन्दोलन पनि शुरुमा राजाको कदम सच्याउन शुरु भएको थियो तर त्यसले रुप बदलेर अढाइ सय वर्षको राजतन्त्रको नै अन्त्य गरिदियो। आन्दोलनले आफ्नो उद्देश्य र रुप बदल्नमा प्रमुख भूमिका खेलेको हुन्छ आन्दोलनका क्रममा थपिदै जाने बाहिरी तत्वहरू र तिनका मागहरू। बाहिरी तत्व भन्नाले विदेशीमात्र हैन शुरुमा आन्दोलनसँग केही सरोकार नभएकाहरू हुन सक्छन्। तर उनीहरूले आन्दोलनले आकार लिन थालेको देखेपछि आफ्ना मान्छे र आफ्ना मागहरू आन्दोलनमा घुसाउँछन्। कतिपय आन्दोलनमा ती बाह्य शक्तिहरूको घुसपैठले राम्रै नतिजा पनि ल्याउन मद्दत गर्छन् तर धेरैजसो आन्दोलनहरूमा ती घुस पैठले आन्दोलन तुहाउने अथवा शुरुमा सोचेको भन्दा ठ्याक्कै उल्टो नतिजा निकालिदिने गर्छन्। त्यसैले बाह्य घुसपैठ भएर आन्दोलनले रुप बदलेर के को लागि आन्दोलन शुरु भएको थियो त्यसलाई बिर्सेर अर्को माग राख्दै आन्दोलन सजिलै अर्को दिशामा जान सक्छ।

गणतान्त्रिक लोकतन्त्रमा देश गैसकेपछि वर्तमान संविधान अनुसार हामी अधिकार सम्पन्न स्वतन्त्र नागरिक भैसकेका छौं त्यसैले अर्को आन्दोलनबाट हाम्रा हक र अधिकारको लागि ठूला राजनैतिक मुद्दाहरू अहिलेको अवस्थामा छैनन्। तर यदि आन्दोलमा सजगता अपनाइएन र बाह्य शक्तिले आफ्नो स्वार्थ पुरा गर्न घुस पैठ गर्न पायो भने हामीले आन्दोलनबाट पाउनेभन्दा पनि गुमाउने डर धेरै छ। त्यसै पनि राजतन्त्रको अन्त्य गरेकोमा, हिन्दु राष्ट्र हटाएएर धर्म निरपेक्ष राष्ट्र बनाएकोमा र देशलाई संघीयतामा लगेकोमा विरोध गर्नेहरूका स्वरहरू प्रशस्त सुनिने गरेका छन्। यदि सजगता नअपानएर यही आन्दोलनमा घुस पैठ भयो भने अबको आन्दोलन दिशा बदलेर ती मुद्दा सम्म पुग्न सक्छ र देशमा अर्को अस्थिरता र अराजकता आउने मात्र नभएर हामीले अहिले प्राप्त गरेका अधिकारहरू पनि गुम्ने खतरा बढ्न सक्छ। त्यति मात्र नभएर आन्दोलनको मौका छोपी आन्दोलनमा घुस पैठ गराएर नेपाललाई सधैं अस्थिर बनाउन चाहने विदेशी शक्तिहरूको चलखेल पनि बढ्न सक्छ। त्यसैले भुइँको टिप्न खोज्दा पोल्टाको गुम्ने स्थिति नआओस् भन्नेमा सबै आन्दोलनकारीहरू सबै सजग हुनु जरूरी छ।

त्यसैले आन्दोलनका योजनाकारहरूले निकै सजग भएर आन्दोलनलाई आफ्नो एजेन्डाबाट बाहिर निस्कन नदिनु र आफ्नो एजेन्डाबाट असन्तुलन हुन थाल्यो भने बरू आन्दोलन नै केही समयको लागि रोक्नु नै देशको हितमा हुनेछ। आन्दोलन त फेरि फेरि गर्न सकिन्छ तर देशकै भविष्यमाथि नै खेलवाड हुन थाल्यो, पाएका हक र अधिकारहरू नै गुम्न थाले भने जुनसुकै आन्दोलन पनि घातक सिद्ध हुनेछ।

त्यसैले सकभर सर्वोच्चको फैसला जे आएपछि त्यसलाई नै सर्वोपरी मानेर आन्दोलनमा जाने स्थिति नै नबनाउन सबै राजनैतिक दलहरू र नागरिक समाजले पहल गर्नुपर्छ। तर उनीहरूले यदि कानुन नै नमान्ने र जबर्जस्ती आन्दोलनमा जाने नै निर्णय गरे भने संयमता र सजगता अपनाएर मात्र आन्दोलन गर्नु नै बुद्धिमानी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell