PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सक्ने भए म पनि माउन्ट केटू चढ्न जान्थेँ, प्रधानमन्त्रीले हिमाल चढ्यो भनेर गज्जब हुन्थ्यो : ओली



सक्ने भए म पनि माउन्ट केटू चढ्न जान्थेँ, प्रधानमन्त्रीले हिमाल चढ्यो भनेर गज्जब हुन्थ्यो : ओली

काठमाडौं : पाकिस्तान र चीनको सीमामा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर 'माउन्ट केटू'को हिउँदमा सफल आरोहण गरी कीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीहरु आज स्वेदश फर्किए। त्रिभुवन विमानस्थलमा स्वागतपछि पर्वतारोही समूहलाई नगर परिक्रमा गराइएको थियो। नेपाल पर्यटन बोर्डमा सम्मान थापेपछि पर्वतारोहीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले पर्वतारोहीहरुलाई सम्मान गरे। विश्वमा नै नेपालको शिर उच्च पारेकोमा बधाइ दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली बहादुरहरुको देश भएको भन्दै सरकारले पर्वतारोहीहरुको सम्मान गर्ने बताए। हरेक कठिनाइसँग जुधेर पराजित गर्न सक्ने जनताको देश भनेर पुष्टि गर्न पर्वतारोहीहरुले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

साधरण मानिसलाई हिउँका थुप्रा देखेपछि सबै हिमालै लाग्ने भन्दै सगरमाथा, केटू चढ्ने काम असाधरण भएको ओलीको भनाइ थियो। आम जनताका लागि हिमाल चढ्न कठिन हुने भन्दै ओलीले भने, 'हाम्रो लागि मकालु, गणेश, लाङटाङ जुन चढे पनि उस्तै हो। सर्वसाधारणका लागि त्यो असाधरण कुरा हो। जहाँ हामी पुग्न सक्दैनौं, पुग्यौं भने फर्किन सक्दैनौं।'

पर्वतारोहीहरु साहसका प्रतीक भएको र हिमाल आरोहणका क्रममा उचाईले भ्रम सिर्जना गर्ने भन्दै ओलीले ठट्यौली शैलीमा हिमाल चढ्न सहज भएको भए आफू पनि हिमाल आरोहणमा जानसक्ने बताए। 

भने, 'हरेक पाइलामा कठिनाइ हुन्छ तब न माउन्टेनियरिङ, नत्र त म पनि जान्थेँ। १० जनाको टोलीमा ११ औंमा म पनि हुन्थेँ होला। प्रधानमन्त्री पनि जान पाएको भए दुनियाँमा झन् धुमधाम हुन्थ्यो होला। गज्जब नै हुन्थ्यो। तर, त्यो दुस्साहस गरेको भए आज म तपाईँहरुको बिचमा हुुँदिन थिएँ। '

हिमाल आरोहणका लागि ठूलो अभ्यास र प्रशिक्षण चाहिने भन्दै ओलीले पर्वतारोहीहरु ठूला योगीहरु जस्तै हुने बताए।  

'मुटु, फोक्सो, मांसपेशी, सहनशक्ति, मस्तिस्क सबै चुस्त दुरुस्त राख्न सकेन भने हिमाल चढ्न सकिँदैन। यो सबै चुस्त राख्ने काम सहज होइन। त्यसका लागि ठूलो अभ्यास र प्रशिक्षण चाहिन्छ। यो असाधरण मानिसले गर्नै सक्दैन,' उनले भने।

विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न नेपालीको सहयोगबिना सम्भव नभएको ओलीले दाबी गरे।

'मान्छे घिसारेर, तानेर, सामान बोकेर मान्छेलाई पिकमा पुर्‍याउनु पर्छ। कहिलेकाही त मान्छे नै बोक्नुपर्छ। हिमालको जति टुप्पोमा पुग्न हरेक पाइला कठिन हुन्छ। केही मिटरमात्रै बाँकी रहँदा फर्किनुपर्छ। सुन्दा अचम्म लाग्छ। केही मिटर बाँकी भए त घुरर... कुदेर गए भइहाल्छ। तर केही मिटर चढ्नु निकै गाह्रो हुन्छ। प्रतिकुलता र असाधरणताबीच हाम्रो टोलीले सफलता हासिल गरेको छ,' उनले भने।

हिउँदमा कोही हिमाल चढ्न सफल नभएको बेलामा नेपालीहरुले कीर्तिमान काम गरेर फर्किएकोमा उनले टोलीलाई बधाई दिए। देशको नाम उचो राख्ने काममा जाँदा सरकारलाई योजना प्रस्तुत गर्न आह्वान समेत गरे।

'यो सरकारले नगर्ने होइन गर्छ। अपेक्षा अनुसार नहुनसक्छ तर सरकारले सक्दो गर्छ। यस्तो काममा जाँदा सरकारलाई भनेर जानु भयो भने हामी सहयोग गर्छौं नै,' ओलीले भने।

ओलीले पर्वतारोणसँग सम्बन्धित रहेर नै एउटा छुट्टै सम्मान पदक वितरण गर्ने उनले घोषणा समेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell