काठमाडौं : नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध जिल्ला कार्यसमितिले गर्ने भनिएको प्रदर्शन फागुन ३ गते हुने स्पष्ट पारेको छ। मंगलवार काँग्रेसको केन्द्रीय समितिले तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। जसबारे प्रेस ब्रिफमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए।
'माघ १९ गते भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने र माघ ३० गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ,' मंगलवारको प्रेस ब्रिफमा पार्टी प्रवक्ता शर्माले भनेका थिए। यद्यपि त्यससमयमा केन्द्रीय समिति जारी नै थियो।
केन्द्रीय समितिको निर्णय भएको भनिए पनि काँग्रेस केन्द्रीय समितिको फाइनल निर्णय भने जिल्ला कार्यसमितिले गर्ने प्रदर्शन फागुन ३ गते नै भनेर आयो। त्यो निर्णय आइसक्दा धेरैजसो सञ्चार माध्यममा माघ ३० गते नै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने दिन भनी समाचार प्रकाशन भइसकेको थियो। त्यसैले पनि फाइनल निर्णयले मिडियामा ठाउँ पाएन।
त्यसपछि पुन: बुधवार प्रेस नोट जारी गर्दै काँग्रेसले जिल्ला कार्यसमितिको प्रदर्शन फागुन ३ गते भन्दै स्पष्ट पारेको हो। काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटमा भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा यसलाई स्पष्ट पार्न सूचना जारी गरिएको भनिएको छ। 'कतिपय संचार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ,' बुधवार जारी प्रेस नोटमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्धमा काँग्रेसले पुस १३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ स्थानीय तह र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो।