PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वामदेवको प्रस्ताव: संयुक्त सरकार बनाउने, दुई चरणमा पार्टी एकता



वामदेवको प्रस्ताव: संयुक्त सरकार बनाउने, दुई चरणमा पार्टी एकता

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन्। ललितपुरको धोबिघाटमा आयोजित सभामा गौतमले अभियानको घोषणा गरेका हुन्।

नेकपा हाल प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल गरी दुई समूहमा विभाजित भएको छ। विभाजित भएपनि निर्वाचन आयोगले दुवै समूहको दाबी अस्वीकृत गरिसकेको छ। कानुनी मान्यता नपाएको नेकपाका दुई समूहलाई अझै एक गर्न सक्ने दाबी गौतमको छ। त्यसैले उनले एकता अभियान सुरु गरेका हुन्।

बुधवार अवधारणा पत्र सार्वजनिक गर्दै गौतमले व्यवहारिक रुपमा विभाजित भएको पार्टीभित्र अझै एकता कायम गर्न सकिने बताए। अभियानको मुख्य उद्यश्य दुवै समूहलाई एक ठाउँमा ल्याउनु रहेको गौतमले बताएका छन्।

गौतमले पार्टी एकताका लागि दुई चरणको योजना प्रस्तुत गरेका छन्।

'पार्टी पुन:एकीकरणको हाम्रो योजना अहिलेका लागि दुई चरणको हुनेछ ।पहिलो चरण हो, सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण सर्वोच्च अदालतको निर्णय आएपछि हो,' अबधारणापत्रमा भनिएको छ।

गौतमले विवाद समाधानका लागि ओली सरकारको सट्टामा संयुक्त सरकारको अवधारणा समेत अघि सारेका छन्। सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा भने उनको अवधारण पत्र मौन छ। साथै, उनले निर्वाचन भएमा कार्यगत एकता हुनुपर्ने योजना समेत अघि सारेका छन्।

'प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिनेछ,' गौतमको योजना छ।

सर्वोच्चले प्रतिनिधिसभा पुन: स्थापनाको निर्णय सुनाएको खण्डमा एकता अभियान जारी राख्ने गौतमको योजना छ। नेकपा दुई समूहमा विभाजित भएर कानुनी मान्यता पाएको खण्डमा आफूले दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने उनले उल्लेख गरेका छन्।

गौतमले अभियान सञ्चालनका लागि आचार संहिता समेत बनाएका छन्। उनले बनाएको आचार संहितामा निर्वाचन बैठक, कोणसभा, जनसभा, आमसभाहरुमा जनतासमक्ष आत्मालोचक बनि प्रस्तुत हुने उल्लेख छ।

सार्वभौम अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा सहकार्य गर्न प्रतिबद्ध रहने उनको आचारसंहितामा उल्लेख छ।

निर्वाचन हुने भए त्यसमा प्रतिस्पर्धा गर्ने अन्य पार्टीको स्वस्थ आलोचना मात्र गर्ने र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने उनले उल्लेख गरेका छन्।

पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा ६५१ जनाको केन्द्रीय समन्वय समिति बनाउने योजना छ। केन्द्रीय समन्वय समितिमा अधिकतम् १७५ जनाको कार्यसम्पादन समिति राख्ने र सचिवालय गठन गरी एकता अभियान चलाउने वामदेवले योजना बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell