PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अख्तियारको फन्दामा जहिले पनि साना कर्मचारी मात्र! कसरी उम्किन्छन् ठूला माछा?



सुमित मिश्र

अख्तियारको फन्दामा जहिले पनि साना कर्मचारी मात्र! कसरी उम्किन्छन् ठूला माछा?

जनकपुरधाम : मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेर पौने तीन लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लियो। यातायात कार्यालयमा घुसवापतको मोटो रकम रहेको र कार्यालयमै त्यसको भागबण्डा हुन लागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मंगलवार साँझै देखि कार्यालयमा पहरा जमाएको थियो।

अख्तियारको टोली कार्यालय भित्र त दिउँसै पसेका थिए तर कार्यालय बन्द हुने समयको २ घण्टा पछि मात्र बाहिर हल्लाखल्ला भयो कि कार्यालय भित्र अख्तियारले छापा मारेको रहेछ भनेर। अख्तियारको टोली कार्यालय बन्द भएको समयदेखि झण्डै ७ घण्टासम्म भित्र बसे। उनीहरु कार्यालयबाट ठूलै माछा समात्ने योजना बनाएर आएक थिए। तर, उनीहरुको योजना भने सफल हुन सकेन।

कार्यालयबाट भागे ठूला माछा, समातिए एक कार्यालय सहयोगी र एकजना बिचौलिया। टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई २ लाख ७३ हजार ८ सय २० रुपैयाँसहित नियन्त्रणमा लियो। स्काभेटर र लोडरको ट्राइल परीक्षाका लागि दलालहरुबाट मोटो रकम उठाइएको र त्यसको भगवण्डा कार्यालयमै हुन लागेको सूचनाका आधारमा कार्यालयमा छापा मारिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता मनिराम ज्ञवालीले बताए।

कहाँ-कहाँबाट भयो पैसा बरामद?

अख्तियारको टोलीले कार्यालयभित्र छिरेको लामो समयसम्म केही हात पार्न सकेन। कार्यालयको समय सकिसकेपछि पनी उनीहरु त्यहिँ बसे। केही कर्मचारी त कार्यालयको समय सकिने बित्तिकै निस्के, केही भित्रै बसेर काम गरिरहे। स्रोतका अनुसार छापामारी चलिरहेको समयमा कार्यालयमा कार्यालय प्रमुख, दुईजना करारका कर्मचारी, एक कार्यालय सहयोगी भित्र थिए। पछि टोलीले उनीहरु सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थाले।

उनीहरु कार्यालय भित्रको हरेक कोठाको कुनाकप्चामा पैसा खोजे। कतै केही भेटिएन। त्यसबीचमै बिचौलिया राजकिशोर भगत ५० हजार रुपैयाँ र एउटा नामावली लिएर कार्यालयभित्र छिरे।

भगतले ‘अनिल सर कहाँ हुनुहुन्छ?’ भनेर कार्यालय भित्र छिर्दै गर्दा प्रश्न गरे। त्यतिकैमा उनलाई पनि टोलीले नियन्त्रणमा लियो। र, अनुसन्धान थाल्यो।

प्रवक्ता ज्ञवालीले भने, ‘भगत कार्यालय छिरेपछि छैठोँ तहका करारका कर्मचारी अनील गिरीलाई लाइसेन्स बनाइदिने बापत ४० हजार रुपैयाँ दिन आएका हौँ र १० हजार रुपैयाँ मेरो हो भनेर बयानमा भन्यो। त्यसपछि उनलाई पनि नियन्त्रणमा लियौँ।’

त्यत्तिकैमा करारका कर्मचारी अनिल गिरी कार्यालयबाट फरार भइसकेको ज्ञवालीले बताए।

२ लाख २३ हजार ८ सय २० रुपैयाँ कार्यालय सहयोगी भोगेन्द्र कापर बस्ने कार्यालयकै कोठामा खान तलासी गर्दा फेला परेको ज्ञवालीले जानकारी दिए। कापरको सोफा, खाट र दराजबाट उक्त रुपैयाँ बरामद गरिएको थियो। २ लाख २३ हजार ८ सय २० रुपैयाँ पनि कर्मचारी अनिल गिरी कै हुन सक्ने केहीले अनुमान लगाएका छन्।

किन जहिले साना कर्मचारी नै समातिन्छ?

अख्तियारले रकम चलखेलको आधारमा तल्लो तहका कार्यालय सहयोगीलाई नियन्त्रणमा लिई उच्च तहका कर्मचारीलाई बचाउन खोजिएको आरोपलाई खण्डन गर्दै प्रवक्ता ज्ञवालीले भने, ‘अनुसन्धानमा जसको संलग्नता देखिएको छ त्यसलाई हामी समातेका हौँ। जहाँसम्म कार्यालय प्रमुख लगायत अन्य उच्च तहका कर्मचारीलाई किन समातिएन भन्ने कुरा हो, अनुसन्धानमा तिनीहरुको संलग्नता नदेखिएपछि नियन्त्रणमा लिन सकिदैन।’

उनले कार्यालय सहयोगी र बिचौलिया बाहेक एकजना कम्प्युटर अपरेटर कर्मचारी अनिल गिरीको समेत संलग्नता देखिएको भन्दै खोजी कार्य जारी रहेको बताए। ७ घण्टासम्म अनुसन्धानमा समय लाग्नुको प्रमुख कारण पैसा एकै ठाउँमा नराखी सोफा, टेबुल र कुनाकाप्चामा लुकाएर राखिएको कारण खोज्न समय लागेको उनले बताए।

को हुन् गिरी?

गिरी एक दशकभन्दा बढी समयदेखि यातायात कार्यालय जनकपुरमा छैठोँ तहको करारको कर्मचारीको रुपमा कम्प्युटर अपरेटरमा कार्यरत छन्। उनी घुस र कमिसनको अखाडा जमाएर बसेको र अन्य ठाउँमा सरुवा हुन लागेको बेला उनले पैसा र पावरको भरमा जनकपुर यातायात कार्यालयमै बस्दै आएको अन्य कर्मचारीले गुनासो गर्ने गरेका छन्।

उनले एक दशक यता यातायात कार्यालयमै घुस र भ्रष्टाचार गरी करोडौँको सम्पत्ति आर्जन गरेको कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

उनले भने, ‘गिरी यहाँ हरेक कुरामा सेटिङ मिलाउँछन्। उनको बिचौलियाहरुसँग राम्रो सम्पर्क छ। हामी केही बोले बाहिरी बिचौलियाहरुबाट हामीलाइ नै थर्काउन लगाउँछन्। कुटपिट गर्नेसम्मको धम्की दिन्छन्।’

लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चित कालका स्थगित

अख्तियारले यातायात व्यवस्था कार्यालय जनकपुरधाममा छापा मारेपछि सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चित कालको लागि स्थगित गरिएको छ।

यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख वीरेन्द्र साहले बुधवार एक सूचना जारी गर्दै कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको जानकारी दिए।

साहले भने, ‘अख्तियारको छापाका कारण परीक्षा स्थगित गरिएको हैन। यस कार्यालयको लागि यो समान्य कुरा हो। जनशक्ति अभावका कारण परीक्षा स्थगित गरेका हौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell