PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

‘बाजे वकिल’ को माग पूरा गर्न प्रधानन्यायाधीश तयार !



‘बाजे वकिल’ को माग पूरा गर्न प्रधानन्यायाधीश तयार !

काठमाडौं : पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठको बहस सकिएसँगै शुक्रवार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर भण्डारी देखिए। श्रेष्ठले बोलिसकेपछि भण्डारी उठेर इजलासको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिलको तमासा’ भनेर गरेको आलोचनाले पछिल्ला दिन चर्चामा रहेका भण्डारीले आफूले बोल्न पाउनुपर्ने माग गरे। भण्डारीसँगै अधिवक्ता रक्षा बस्याल र गोपाल पाण्डेले पनि उठेर बोल्न पाउन माग गरेका थिए।

९४ वर्षीय नेपालका जेठा कानून व्‍यवसायी नै उठेर माग गरेपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने, ‘५/१० मिनेट बहस त गर्नुपर्‍यो नि। वरिष्ठज्यूको अनुभव त लिनुपर्‍यो।'

प्रधान न्यायाधीले सिग्नल दिएका छन् - अब ‘बाजे वकिल’ले बोल्न पाउनेछन्।

प्रतिनिधिसभा विघटनको मुद्दालाई बृहत पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासमा अगाडि बढाउने भन्ने विषयमा बहस गरेपछि प्रधानमन्त्री ओलीले भण्डारीविरुद्ध व्यंग्य गरेका थिए। ओलीले 'एक जना बाजे वकिललाई पनि लगेछन् तमासा देखाउन' भनेर अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिपछि भण्डारी चर्चामा छन्।

भण्डारीले यसअघि बाजे वकिलको तमासा भनेर अदालतकै अपमान गरेको भन्दै इजलासले नोट गर्नुपर्ने माग गर्दै शम्भु थापा बोलेको दिन उठेर अनुरोध गरेका थिए। प्रमको बाजे वकिल अभिव्यक्तिविरुद्ध सर्वोच्चमा अवहेलनामा रिट निवेदन भई लिखित जवाफ लिएर आफैं उपस्थित हुन प्रधानमन्त्रीका नाममा आदेश भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell