काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान(नाफा)ले आयोजना गरेको दृष्टान्त चित्रकला कार्यशालाबाट दुईजना उत्कृष्ट चित्रकार छानिएका छन्। शुक्रवार प्रतिष्ठानको प्राँगणमा आयोजित समापन कार्यक्रममा प्रतिष्ठानले दुई जनाको नाम सार्वजनिक गरेको हो।
यसरी छानिएका दुई जना चित्रकारमा पहिलोपोस्टका कार्टुनिस्ट रवीन्द्र मानन्धर र कान्तिपुर दैनिकका कार्टुनिस्ट कृष्णगोपाल श्रेष्ठ रहेका छन्। दुबै जना चर्चित चित्रकार हुन्। प्रतिष्ठानले इतिहास र कला क्षेत्रलाई चिनाउन दुई विषयमा कथा तयार पारी यसको दृष्टान्त चित्रकथा प्रकाशनका लागि कार्यशाला गरेको हो।
कार्यशालामा १० चित्रकार सहभागी थिए। 'अरनिको'को जीवनीमा आधारित चित्र पुस्तक लागि बरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदीले कथा तयार पारेका थिए। उक्त कथाका लागि इशा श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, सुमन महर्जन, भानु भट्टराई र विनिता बुद्धचार्यले कार्यशालामा आफ्नो चित्र प्रस्तुत गरेका थिए। जसमध्ये कृष्णगोपालको चित्र उत्कृष्ट ठहरिएको हो।
यता वरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यद्वारा लिखित 'अनाम' कथाका लागि रवीन्द्र मानन्धर, पल्पसा मानन्धर, रामकृष्ण थापा, सन्तोष सिग्देल, आरबी थापा र उमेशचन्द्र अधिकारीले चित्र प्रस्तुत गरेका थिए। जसमा रवीन्द्रको चित्र उत्कृष्ट ठहरिएको हो। यो कथा आधुनिक चित्रकलासम्बन्धी एक संघर्ष गरेको चित्रकारको कथा रहेको कथाकार आचार्यले बताए। दृष्टान्त चित्रकथा कार्यशाला आयोजक कार्यसमितिका सदस्यसमेत रहेका आचार्यले सिर्जनशील व्यक्तिले नेतृत्व गरेको कुनै पनि संस्थाबाट सिर्जनशील काम समेत हुने पाठ यस कार्यशालबाट सिकाएको बताए। 'सिर्जनशील व्यक्तिले कुनै नेतृत्व गरे त्यो संस्थाले पनि सिर्जनशील कार्य गर्छ भन्ने ज्ञान कार्यशालाले दिएको छ। पहिलोपटक यस्तो कार्यशाला भएको हो,' आचार्यले भने।
तोकिएको कथालाई प्रतिनिधित्व गरेको छ कि छैन भनेर हेरेपछि दुई जना कलाकारलाई उत्कृष्ट छानेको प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले बताए।
अरनिकोको धेरै पृष्ठभूमि चीन भएकोले चित्र बनाउनेलाई धेरै मुश्किल भएको वरिष्ठ बालसाहित्य सर्जक एवं चित्र जीवनीका लेखक रामबाबु सुवेदीले बताए। यता चित्रकला तर्फबाट चित्रकार उमेशचन्द्र अधिकारीले बालबालिकाको कल्पनाशीलता पसेर काम गर्नु साह्रै गाह्रो काम भएता पनि त्यो कार्यशालाले सम्भव बनाएको बताए।
माघ ११ गते बाट प्रतिष्ठानमा शुरु भएको कार्यशाला ६ दिन सम्म चलेको थियो। प्रतिष्ठानले पहिलोपटक यस्तो काम थालेको र यसलाई कुनै प्रतियोगताको रुपमा लिनु नहुने कुलपति कान्छाकुमार कर्माचार्यले बताए। प्रतिष्ठानका कुलपति कर्माचार्यले भने, 'विषय महत्त्वपूर्ण छ। ईतिहास छान्यौ। अरनिको राष्ट्रिय विभुति छान्यौ। अर्को कला क्षेत्रका लागि अनाम छान्यौ।'
प्रतिष्ठान काठमाडौँमा चित्रको प्रभावकारितालाई दृष्टिगत गर्दै सचित्र बाल पुस्तकका लागि दृष्टान्त चित्रकला कार्यशाला गरिएको जनायो। 'कार्यशालामार्फत ओझेलमा परेको दृष्टान्तकलालाई ब्युँताउने प्रसार गरेको र यसले ललितकलामा एउटा जागरण ल्याउनेछ’, प्रतिष्ठानका कुलपति कर्माचार्यले भने।
माध्यमिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौलिक र सुन्दर नमूना चित्र तयार पारेको छ। कार्यशालाले नेपालका चर्चित दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ।
कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको थियो। अब सुवेदी र आचार्यद्वारा लिखित दुई पुस्तक नाफाले प्रकाशन गर्नेछ। कार्यशाला सम्पन्नताका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको समिति गठन गरिएको थियो।