PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सम्पदा संरक्षण गर्न महानगर प्रतिबद्ध छ, रानीपोखरी ३६५ दिन नै खुला गर्छु : मेयर शाक्य



सम्पदा संरक्षण गर्न महानगर प्रतिबद्ध छ, रानीपोखरी ३६५ दिन नै खुला गर्छु : मेयर शाक्य
PHOTO: Newa Patrakar Rastriya Dabu / Facebook

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सामुहिक रुपमा सम्पदा संरक्षणको काम अघि बढाएको बताएका छन्।

शनिवार लखतीर्थमा नेवा: पत्रकार राष्ट्रिय दबु येँ (काठमाडौं) जिल्लाको कार्यालय उद्घाटन गर्दै शाक्यले सम्पदा संरक्षणमा महानगर प्रतिबद्ध रहेको बताएका हुन्। सम्पदा संरक्षण गर्ने नाममा नेवारहरुलाई एकआपसमा लडाउने तत्व सक्रिय भएको भन्दै उनले सम्पदा अभियन्ताहरु बनेर सम्पदा बनाउनै नदिने व्यक्तिहरुबाट बच्न आग्रह समेत गरे।

हाल कमलपोखरी पुनर्निर्माणमा समेत अनावश्यक विवाद सिर्जना गरिएको शाक्यले बताए। कमलपोखरीमा पहिला नै कंक्रिट राखेर निर्माण गरिएको भन्दै उनले अहिले सम्पदा मैत्री पोखरी बनाउन लाग्दा समेत विरोध गरिएको बताए।

कांग्रेस नेता गगन थापालाई पत्र पठाएको सन्दर्भमा उनले भने  ‘त्यहाँ फुलाउने कमलको फूल नै हो। हामीले सम्पदा मैत्री पोखरी बनाउने प्रयास गरेपनि केहीले विरोध गर्दै हिँडे। एक वर्ष अघि गगन थापा र अन्य जनप्रतिनिधिसँग बसेर नै त्यहाँको डिजाइन गरेका हौं। अहिले उनीहरु विरोध गरिरहेका छन्’

थापाले कमलपोखरी निर्माणका क्रममा करौडौं रकम खर्च गरेको बताउँदै आएको भन्दै शाक्यले अब त्यसको हिसाब माग्ने बताए।

‘करोड भन्दा बढीको काम गर्‍यो रे। खै केही काम देखिँदैन। अब गगन थापासँग यसै विषयमा म बहस गर्छु। अहिले लिखित रुपमा थापाले त्यहाँ के के गर्‍यो भनेर मैले सोधेको छु’ शाक्यले भने।

शाक्यका अनुसार गगन थापाले कमलपोखरीलाई छठपोखरीमा रुपान्तरण गर्न चाहेको समेत बताए।

‘उनीहरुले त त्यहाँ छठ पोखरी बनाउन माग गरेका थिए। तर मैले मानिन। त्यहाँ पोखरीको संरक्षण गरेर हामीले मौलिक संरचना बनाउने प्रयास गरेका हौं’ शाक्यले भने।

उनले रानीपोखरीलाई ३६५ दिन नै खोल्ने समेत बताए। रानीपोखरी क्षेत्रलाई खुला गर्न पहिला त्यहाँ शौचालय जस्ता भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले आफूले रानीपोखरीलाई खोलेरै छाड्ने बताए।

‘रानीपोखरी ३६५ दिन नै खोल्छु। अदालत वा अख्तियारले रोके छुट्टै कुरा हो। तर म रानीपोखरी वर्ष भरी खोलेरै छाड्छु। त्यहाँ त पहिला बत्ती पनि बाल्न दिन्न भन्नेहरु थिए। प्रताप मल्लको पालामा बगैंचा थिएन भनेर विरोध गर्नेहरु नि थिए। अहिले विरोध गर्नेहरु नै बत्ती र बगैंचा बनाउन अहिले भन्न आइरहेका छन्’ शाक्यले कार्यक्रममा भने।

मेयरलाई सम्पदा मास्ने व्यक्तिका रुपमा देखाउने प्रयास भएको भन्दै आफूले हात राखेको सम्पदा क्षेत्रमा विरोध गर्ने तत्वहरु नै सक्रिय रहेको उनले बताए।

‘सम्पदा क्षेत्रमा नै शौचालय, फुड स्टलहरु छन्। त्यहाँ कसैको विरोध छैन। तर मेयरले त्यहाँ भन्दा राम्रो संरचना बनाउछु भन्यो भने विरोध गर्नेहरु लाइन लाग्छन्’ उनले भने।

महानगरले सम्पदा संरक्षणका लागि स्थानीयसँग सहकार्य गरिरहेको भन्दै बहा: ,बही: लगायतका संरचना पुनर्निर्माण प्राथमिकतामा राखेको उनले बताए। यद्यपि, यस्ता धार्मिक संरचना महानगरले बनाएर महानगरले नै अधिग्रहण गर्ने हल्लाबाट सचेत रहन उनले आग्रह गरे।

‘महानगरले बनाएर महानगरले नै लिन्छ भनेर भ्रम फैलाइरहेको छ।  महानगरले लिन्दैन। गुठी र स्थानीयलाई हस्तान्तरण गर्ने हो’ मेयर शाक्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell