जनकपुरधाम : सडक विस्तारको क्रममा गैरकानुनी ढंगले स्थानीयको जग्गा अतिक्रमण गर्न खोजेपछि धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास विवादमा तानिएका छन्। हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन वीरेन्द्र बजार-महिनाथपुर सडक खण्ड अन्तर्गत विदेह नगरपालिकाकाको वडा नम्बर ६ स्थित तिनकौरियामा नगर प्रमुख दासले अदालतको आदेश विपरित काम गराउन खोजेपछि स्थानीयले नगरप्रमुखको विरोध गरेका छन्।
नगर प्रमुखले कानुन मिचेर आफ्नो पदीय दायित्व विपरित कार्य गर्न खोजेकाले प्रतिकारमा उत्रिन बाध्य भएको स्थानीय राजकुमार मण्डलले बताए।
‘निर्माण कम्पनीले बाटो बनाइरहँदा मेयर र सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायतका केही व्यक्तिहरु नक्सा विपरित काम गर्न निर्माण कम्पनिलाई दबाब दिएपछि काम बन्द भयो’, मण्डलले भने, ‘त्यसपछि उनीहरु आफैले व्यवहारिक सहमति गरेर पर्खाल दिन लगाए, पछि मेयर लगायतकाले जबरजस्ती त्यो पर्खाल पनि भत्काए, अहिले आएर अदालतको आदेश विपरित स्थानीयको जग्गा नै अतिक्रमण गर्न लागि परेका छन्।’
एक दर्जनभन्दा बढी स्थानीयको जग्गा अतिक्रमण हुने गरी नक्सा विपरित बाङ्गो सडक बनाउन थालिएपछि विवाद उत्पन्न भएको स्थानीय मनोज कुमार गुप्ता बताउँछन्।
‘३२ किलोमिटर निर्माण हुने भनिएको सडक खण्डमा सम्पूर्ण निर्माण पूरा भइसकेको छ। तर, मेयर दासको बदमासीका कारण तिनकौरियामा करिब ४ सय मिटर सडकको काम सम्पन्न हुन सकेको छैन’, गुप्ताले भने, ‘विद्यालय र एक वडाध्यक्षको जग्गा बचाउन उनीहरुले जबरजस्ती स्थानीयको जग्गामा पर्खाल सार्ने प्रयास गर्दै आएका छन्, मेयर जस्तो पदमा बसेका व्यक्तिले अदालतको आदेश अवहेलना गर्नु दुःखद विषय हो।’
स्थानीयले विरोध गरिरहँदा सम्बन्धित वडाका वडाध्यक्ष पनि नगर प्रमुख दासले कानुन मिच्न नपाउने बताएका छन्। वडाध्यक्ष जयराम मण्डलले मापदण्ड विपरितको कार्य हुनु गलत रहेको बताए।
उनले भने, ‘अदालतको आदेश र मापदण्ड अनुसार काम हुनु पर्छ, अदालतको आदेश अवहेलना गर्नु पनि अपराध नै हो, त्यसैले जबरजस्ती कार्य अघि बढाइए त्यो काम बन्द गराउँछु।’
मापदण्ड अनुसार ३० मिटर चौडा सडक निर्माण गर्नका लागि २०६६ सालमा मुआब्जासमेत कायम भइसकेको अवस्थामा तत्काल भने १६ मिटर चौडा सडक निर्माणका लागि ठेक्का स्वीकृत भइ कार्य भइरहेको छ। जस अनुसार मुल सडकको केन्द्रलाई आधार मानी दुवै तर्फ ८/८ मिटर जग्गा अधिग्रहण गर्नु पर्नेमा नगर प्रमुख लगायतका व्यक्तिले एकतर्फी रुपमा स्थानीयको जग्गा अधिग्रहण गर्न/गराउन खोज्दा स्थानीयले उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
स्थानीयले हुलाकी राजमार्ग योजना कार्यालय, ठेकेदार पप्पु जेभी, नगर प्रमुख बेचन दास, वडा नम्बर ६ को कार्यालय, वडाध्यक्ष जयराम मण्डलसहित १० जनालाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय बालकृष्ण उप्रेती र ध्रुवराज नन्दको संयुक्त इजलासले पुनः मापदण्ड अनुसार सडक निर्माण गर्न/गराउन विपक्षीहरुको नाममा २०७६ जेठ १४ गते अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको आदेशमा भनिएको छ, ‘हुलाकी राजमार्ग सडक निर्माण विस्तारको आयोजना सम्पन्न गर्ने प्रायोजनार्थ जग्गा प्राप्तिका लागि प्रकाशित भएको सूचना, सडकको लगत इष्टिमेट, प्रस्तावित सडकको नाप नक्सा समेतका प्रमाणहरुका आधारमा अधिग्रहणमा परेका जग्गामा मात्र सडक निर्माण विस्तार गर्नु, हुलाकी सडक आयोजनाले सडक निर्माण विस्तार गर्नु पूर्व सम्बन्धित जग्गाधनीहरुको नाममा जारी गरेको जग्गा प्राप्तिको सूचनालाई आधार मानी सोही सूचनामा उल्लेखित प्रक्रियाको आधारमा मात्र सडक निर्माण विस्तारको कार्य गर्नु गराउनु, उल्लेखित आयोजना सञ्चालन कार्यान्वयनमा कुनै पनि प्रकारको अवरोध र विलम्ब नगरी तोकिएकै समयमा सडक निर्माण विस्तारको कार्य सम्पन्न गर्नु भनि विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ।’
अदालतको आदेश लत्याउँदै मेयर
अदालतले स्पष्ट रुपमा कुनै प्रकारको अवरोध नगर्न भनिरहँदा केही साता पूर्व मात्र नगर प्रमुख दास लगायतका व्यक्तिहरुले अदालतको आदेशलाई लत्याउँदै बल प्रयोग गरी डोजर लगाएर निर्माणाधिन पर्खाल भत्काएका थिए। नक्सा अनुसार काम गरिरहँदा जनप्रतिनिधिले नै पर्खाल भत्काउन लगाएपछि थप आर्थिक भारको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको छ भने स्थानीयले अदालतको अवहेलना भएको भन्दै थप कानुनी उपचारतर्फ केन्द्रित भएका छन्।
यसैबीच, नगर प्रमुख बेचन दासले सडक निर्माणमा देखिएका विवाद छिट्टै समाधान गरी निर्माण कार्य तीब्र बनाइने प्रतिक्रिया दिएका छन्।
दासले भने, ‘ममाथि लगाइएको आरोप गलत हो, म पनि अदालतको आदेश र मापदण्ड अनुसार नै काम गर्ने/गराउने पक्षमा छु।’