जनकपुरधाम : पछिल्ला समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चलिरहेका अन्तरविवादको असर प्रदेश नम्बर २ को प्रदेशसभामा देखिएको छ।
नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डललाई नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले निर्वाचन प्रक्रियाबाट हटाएको लामो समयपछि प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा संसदीय दलको नेताको हैसिएतमा प्रचण्ड–माधव पक्षबाट निर्वाचित भएका सत्रुधन महतोलाई प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा आसन ग्रहण गराएपछि केपी ओली समूहमा रहेका मण्डलले कार्यक्रम नै बहिष्कार गरेका छन्।
प्रदेशसभा सचिवालयले प्रचण्ड-नेपाल पक्ष तथा प्रमुख प्रतिपक्षी दलको नेतालाई आसन ग्रहण गराएको भन्दै नेकपा ओली समूहले बार्षिकोत्सव कार्यक्रम नै बहिस्कार गरेको हो।
कार्यक्रममा प्रदेशसभा सचिवालयले प्रमुख प्रतिपक्षी दलको नेतामा सत्रुधन महतोलाई बोलाएको थियो। संसदीय दलका नेता महतोले ड्यासबाट सम्बोधन गर्न थालेपछि ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले कार्यक्रम बहिष्कार गरेका हुन्। प्रदेशसभा सदस्य रामचन्द्र मण्डल कार्यक्रमबाट बाहिरिएपछि ओली समूहका थप ४ जना प्रदेशसभा सदस्य उनीसंगै बाहिरिएका थिए।
कार्यक्रम बाहिष्कार गरेका प्रदेशसभा सदस्य रामचन्द्रमण्डलले ८ महिना पूर्व तत्कालिन समाजवादी पार्टी र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल बीच एकीकरण भएपनि ति दुवै दलका नेताहरुले प्रतिपक्षी दलको नयाँ नेता निर्माण कसरी गरेको भन्दै प्रतिप्रश्न गरे।
उनले प्रदेशसभाले नियोजित ढंगबाट नेकपा फुट नहुँदै षड्यन्त्र गरेको भन्दै निन्दा गरे।