PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

जनकपुरका घाइतेहरुलाई यसरी पठाइयो काठमाडौं 

जनकपुरका घाइतेहरुलाई यसरी पठाइयो काठमाडौं 

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : आज आम हड्तालका क्रममा घाइते भएकाहरुलाई साँझ विमान मार्फत् थप उपचारका लागि काठमाडौं पठाइएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झासहितका नेता कार्यकर्ता घाइते भएका थिए। 

प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव सहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो। उनले पूर्वमन्त्री यादव, स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि प्लेनबाट काठमाडौं लगिएको हो।

पूर्वमन्त्री झालाई झडपका क्रममा प्रहरीले लाठी हानेको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको छ। चोट लागेपछि घाइते भएका झालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको स्वासप्रस्वासमा समस्या देखियो। उनको अवस्था 'क्रिटिकल' भएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए। 

‘उहाँको मुटुको चाल ठीक छैन। सास लिन समेत कठिनाइ भइरहेको छ। यहाँ मुटु विशेषज्ञ डाक्टर नरहेकाले काठमाडौं रिफर गरिएको छ,’ डाक्टर यादवले भने। 

पूर्वमन्त्री यादवलाइ प्रहरीले बुटले हानेको थियो। उनको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ। उनी पनि बिचमा बेहोस भएको डाक्टर यादवले जानकारी दिए। हाल उनको अवस्था ठीक रहे पनि उठ्न र बस्न भने कठिन भइरहेको छ। 

यता घाइते भएका शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको टाउकोमा चोट गहिरो छ। 



ट्रेन्डिङ पोस्ट

Ncell