- निशा गुरुङ -
हेटौंडा : अघिल्लो साँझ नेकपा (प्रचण्ड–नेपाल) समूहले आमहडताल आह्वान गर्दै हेटौंडा बजारको मुख्य चोकमा राँको बालेको थियो। सोही ठाउँमा प्रधानमन्त्री केपी ओली समूहले प्रतिरोधस्वरुप बिहीवार प्रदर्शन गरेको छ।
उक्त समूहले हेटौंडा चोकमा नाराबाजी गरेको हो। उनीहरुले ‘नेपाल खुला छ’ भन्दै नाराबाजीसमेत गरे। प्रदर्शनमा नेकपानिकट भ्रातृ संगठनमा आवद्ध युवाको सहभागिता थियो।
प्रचण्ड माधवको हड्तालमा खुकुरी प्रदर्शन!
आम हड्तालका क्रममा हेटौंडाको सीमाचोकमा खुकुरी प्रदर्शन भएको छ। बन्दकर्ता जम्मा भएको हेटौंडाको सीमाचोकमा एक युवकले खुकुरी प्रदर्शन गरेका हुन्।
बन्द सफल बनाउन नेकपा (प्रचण्ड–नेपाल) मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, सचिव बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीलगायत नेता कार्यकर्ताहरु जम्मा भएको समयमा एक युवाले खुकुरी प्रदर्शन गरेका थिए। त्यसपछि बन्दकर्ताहरुले नियन्त्रण गर्ने क्रममा उनी भागका थिए।
बिहीवार हेटौंडाको सीमाचोकबाट धारिलो हतियारसहित एक युवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले धारिलो हतियारसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने वर्ष २१ को दिलिप महतलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको आमहडतालमा उत्रिएका प्रदर्शनकारीको भिडमा धारिलो हतियार (खुकुरी) बोकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीको नियन्त्रणमा रहेको उनीमाथि आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
बन्दकर्ताले आन्दोलनबारे गलत सन्देश प्रवाह गर्न युवा परिचालित भएको दाबी गरे। आफूहरुले युवाको पहिचान गर्ने काम गरिरहेको बताउँदै नेकपा (प्रचण्ड–नेपाल) मकवानपुर सचिव पुलामीले आन्दोलनमा घुसपैठ गरेर अफवाह फैलाउन खोजिएको बताए।
सुरक्षा व्यवस्था कडा
दुई समूहबीच झडपको सम्भावना बढेपछि हेटौंडामा प्रहरीको उपस्थिति बाक्लिएको थियो। बन्दको पक्षमा प्रचण्ड–नेपाल समूह सडकमा रहेको अवस्थामा दिउँसो बन्दको विरोध गर्दै ओली समूहले पनि प्रदर्शन गरेकोले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनायो।
दुवै समूह सडकमा आमनेसामने हुँदा झडप हुने स्थिति सिर्जना हुँदा हेटौंडा बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या थपिएको थियो। मकवानपुर प्रहरी प्रमुख सोमेन्द्रसिं राठौरसहित डीएसपी इन्द्रबहादुर राना र प्रहरी अधिकृत फिल्डमै पुगेका थिए।
प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालमा हेटौंडाको बुद्धचोकमा उच्छृंखल कार्य गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका अखिल क्रान्तिकारीका मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी हुन्। बुद्धचोकमा एक सवारी तोडफोड भएको छ। प्रहरीले बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीलाई केही घण्टा नियन्त्रणमा लिएर छाडेको छ।
जिल्लाको शैक्षिक संस्था ठप्प भए भने सार्वजनिक सवारी साधन चलेनन्। हेटौंडा बजार भने केही मात्रामा खुले। बिहानदेखि नेकपाका नेता कार्यकर्ता सडकमा निस्किए पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। हेटौंडामा ईरिक्सा, मोटरसाइकल जस्ता सवारी निर्वाध चले।
आमहडतालका कारण बिहीवार बिहानदेखि हेटौंडामा अलपत्र परेका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरेर पठाएको छ। चितवनतर्फबाट आएका र प्रदेश–२ का जिल्ला हुदै आएका सवारी हेटौंडामा रोकिएका थिए। सयौंको संख्यामा यात्रुबाहक र मालबाहक सवारीसाधन बाटोमा रोकिएपछि मकवानपुर प्रहरीले स्कर्टिङ गरी हेटौंडा कटाएको हो।
करिब २ किलोमिटर भन्दा बढी लाइन भएपछि प्रहरीले स्कर्टिङ गर्दै सवारीसाधन पास गराएको थियो। नेकपाका कार्यकर्ताले हडतालको अवज्ञा गरेको भन्दै बिहानदेखि सवारी चल्न नदिएर सडकमा अवरोध खडा गरेका थिए।
माधव प्रचण्ड समुहका नेता मुनु सिग्देलले जनताले गरेको बलिदानमाथि खेलवाड गरेको जनताको बनाएको संविधानको बलात्कार गरेको भन्दै आक्रोश पोखिन्। उनले ओलीको सरकार धेरै दिन नटिक्ने दाबी गरिन्।
नेता कुमारी मोक्तानलाई कुनै पनि हालतमा प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने बताइन्।