PahiloPost

Jul 3, 2024 | २० असार २०८१

डिग्रीधारी उत्तिमलाल जसले भगवान बनाएर कमाउँछन् लाखौं



सुमित मिश्र

डिग्रीधारी उत्तिमलाल जसले भगवान बनाएर कमाउँछन् लाखौं

जनकपुरधाम : सानैदेखि ठूलो हुदाँसम्म पनि ‘राम्रोसँग अध्ययन गर्नुपर्छ र धेरै पढेर डाक्टर, ईन्जिनियर र हाकिम बन्नुपर्छ’ भनेर गाउँघरदेखि शहर बजारसम्म आफ्ना छोराछोरीलाई अभिभावकले भन्ने गर्छन्। पढेलेखेर ठूला भइसकेपछि माटोको कार्यबाट टाढा रही खेतीपाती गर्नसम्म अचेलका अधिकांश यूवाहरु रुचाउँदैनन्। तर, यस्ता युवा पनि छन्, जसले डिग्री हासिल गरेर पनि माटो पानीलाई सिँचित गर्दै मनग्य आयआर्जन गरी खुसी छन्।

स्नातकोत्तरसम्म अध्ययन गरेका उत्तिमलाल पण्डित पुर्ख्यौली पेसाको रुपमा रहेको मूर्तिकार पेसालाई संरक्षण र संवर्द्धन गर्न पसिना बगाइरहेका छन्। उनी यति बेला नजिकिँदै गरेको सरस्वती पूजाको लागि सरस्वतीको मूर्ति बनाउन व्यस्त रहन्छन्।

सरस्वती पूजा नजिकिएसँगै उनलाई अचेल मूर्ति बनाउनबाट एकक्षणको समेत फुर्सद छैन। आउँदो फागुन ४ गते विद्याकी देवी सरस्वती पूजाका लागि उत्तिमलाल विभिन्न कलात्मक मूर्ति बनाउन व्यस्त छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित रुपैठाका उत्तिमलालले रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरबाट समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्। उनीसँग सन् २००३ देखि २०१६ सम्म लघु उद्यम विकास कार्यक्रम नामक प्रोजेक्टमा धनुषा जिल्लाको संयोजकको रुपमा समेत काम गरेको अनुभव छ।

सरस्वती पूजा नजिकिएसँग पण्डित बिहानै ७ बजेदेखि राति ९ बजेसम्म मूर्ति बनाउनमै व्यस्त रहन्छन्। पण्डित भन्छन्, ‘सरकारी जागिर खानुभन्दा मलाइ मूर्ति बनाउनमै रमाइलो लाग्छ। चाहे जतिको पैसा पुग्छ।’

जनकपुरधाम उपमहानगरभित्र १ हजारभन्दा बढी मूर्तिको खपत रहेकोले अहिले उनीसहित करिब १८ स्थानमा दर्जनौँ मूर्तिकारहरु मूर्ति बनाउनमा व्यस्त छन्।

उत्तिमलाल बाध्यताले यो पेशामा आएका भने होइनन्। उच्च शिक्षा हासिल गरेका उनी पुर्ख्यौली पेशालाई अझै बढी परिस्कृत गर्नका लागि यो पेशामा लागेका हुन्।

पण्डित भन्छन्, ‘म ५/६ कक्षामा पढ्दा बुवालाई मूर्ति बनाइरहेको देखेर आफूलाई पनि मूर्ति बनाउन ईच्छा जाग्ने गर्थ्यो, म बुवालाई बाल्यकालमा सहयोग गर्ने गर्थेँ। यो हाम्रो पुर्ख्यौली पेशा हो, लोपोन्मुख भइरहेको देखेर पीडा हुन्छ, त्यसैले यसलाई निरन्तरता दिन यस काममा लागेको छु। पढे लेखेर मलाई हाम्रो परम्परा बचाउन अझ बढी सहज भएको छ।’

मूर्तिकलामा उनले शुरुमा आफ्नो बुवालाई सहयोग गर्ने गर्थे भने अहिले आफै लागि परेका छन्। पण्डित (कुम्हार) जातिको पुर्ख्यौली पेशा माटाका विभिन्न कलात्मक वस्तु निर्माण गर्नु नै हो। लगभग २० वर्षदेखि विभिन्न किसिमका कलात्मक मूर्ति निर्माण गर्दै आएका उनलाई यस पेशामा लाग्न बुवाको सहयोगले उत्साहित बनाएको पण्डितले बताए।

सानो उमेरदेखि नै बुवाले मूर्ति बनाउन प्रयोग गरेका विभिन्न तौरतरिका नियाल्दै आएका पण्डित अहिले उक्त कलामा निपूण भइसकेका छन्। उनले ७ जना कामदारसमेत राखेका छन्। ७ जनालाई रोजगारीका साथै खाने व्यवस्थासमेत उनले नै गर्छन्।

उनले भने, ‘यस कामबाटै राम्रो कमाई गर्छु। एक सिजनमा लगभग चार लाख भन्दा बढी कमाई भईहाल्छ भने वर्षमा करिब १० लाख जति कमाई हुन्छ।’

पण्डित प्रति मूर्तिको कम्तीमा ४ हजारभन्दा बढी लिने गर्छन् भने बढीमा ३५ हजार रुपैयाँसम्म लिन्छन्। मिथिलाञ्चलमा मनाईने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ। जसमध्ये विशेष गरी दुर्गा पूजा (दशैँ), गणेश पूजा, विश्वकर्मा पूजा, ईन्द्र पूजा लगायतका चाडपर्वमा माटोले बनाइएका रंगविरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell