PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आमसभाका सहभागीको प्रश्न : हामी बुढाबुढीलाई कम्मल पनि दिन्छन् कि खानामात्र हो? 

आमसभाका सहभागीको प्रश्न : हामी बुढाबुढीलाई कम्मल पनि दिन्छन् कि खानामात्र हो? 

स्वेच्छा राउत/पहिलोपोस्ट


सुगा रङको धोती। हरियोमा बुट्टे बर्को टाउकोदेखि गमलङ्ग ओढेकी थिइन् वागमतीदेवी माझीले। बर्कोमा 'प्राइस ट्याग' प्रष्टै देखिन्थ्यो ।

काठमाडौं जाने भनेर मङ्गलवारमात्र टुङ्गो लाग्यो। बुधवार नै बिरुवा बजार पुगेर किनेकी हुन्, त्यो बर्को। 

हिजो साँझ उनीहरू चढेको गाडी राजधानीका लागि हिँड्यो। 

वागमतीदेवी।


शहरको रमझमबारे सुनेकी वागमती दङ्ग थिइन्। तर, उनलाई काठमाडौं आउनुको उद्देश्य चाहिँ थाहा रहेनछ। बस् यति भनिएको थियो – प्रधानमन्त्रीको भाषण हुन्छ। सुन्ने अनि ताली बजाउने। 

सोचेकी थिइन् – प्रधानमन्त्रीसँग भेट हुन्छ। त्यहाँ आफ्नो 'हक' माग्ने योजनामा थिइन्। तर, केपी ओली त अग्लो मञ्चमा उभिएका थिए।

वागमतीहरू उभिएको ठाउँबाट उनलाई देख्न समेत हम्मेहम्मे। कहाँबाट माग्नु हक? भिडको ठेलम्ठेलले गाह्रो बनाएपछि सडकको छेउमा आइन् र सोधिन् - 'प्रधानमन्त्री त केपी ओली हो, सरकार चाहिँ को हो?'

पर्सागढीकी वागमतीदेवी माझीसँग प्रश्नैप्रश्न रहेछन्।

'काठमाडौं यहाँदेखि कहाँसम्म छ?' 

'सरकारको घर चाहिँ कता पर्छ?' 

मञ्जुदेवी।


उनकै गाउँबाट आएकी मञ्जुदेवी सोहनीलाई चाहिँ काठमाडौंजस्तो ठूलो शहरमा एउटै पसल नदेखेर अचम्म लागेको रहेछ। उनलाई पत्तो थिएन, जुन सभामा थप एक टाउको बनिन् त्यही सभाका लागि देशको सबैभन्दा महङ्गो व्यापारिक हब ठप्प पारिएको सत्य। 

मञ्जुदेवीलाई नेपाली भाषा आउँदैनरहेछ। त्यसैले दोभाषेको काम गरिन् वगमतीले जो नेपाली भाषा फाट्टफुट्ट बुझ्छिन् र बोल्छिन् पनि। यस पटक उनले मञ्जुको प्रश्न राखिन् – अस्तिको आन्दोलनमा आउनेहरूले त काठमाडौंमा ठूलाठूला दुकान छन् भन्थे त! यहाँ त गोलगप्पा पनि सडकमै बेचेका छन्, सुन्तला पनि। 

उनीहरूको गाउँका हरेक घरबाट एकएकजना आएका रहेछन्। वागमती र मञ्जुका पतिहरू चाहिँ प्रचण्ड र माधवकुमार नेपालको नेकपाको अघिल्लो प्रदर्शनमा आएका रहेछन्। त्यसैले यस पटक उनीहरूको पालो पर्‍यो। उनीहरूसँगै गाउँका अन्य महिलाले पनि मौका पाए काठमाडौं आउने। 

बेलवाकी शारदा पटेललाई 'सूर्य छाप झण्डा बोक्न' भनेर ल्याइएको रहेछ। आफू उभिएको भिडलाई देखाउँदै भनिन्, 'झण्डा बोक्न यत्रो मान्छे रहेछन् त। हामीलाई चाहिँ अन्तै घुमाउन लैजान मिल्दैन?' 

शारदा।


बेलावाकै अन्युल मियाँ अन्सारी ७० वर्षका भए। उनलाई काठमाडौंमा आउँदा रमाइलो लाग्दो रहेछ। आफू रमाइलो गर्नकै लागि छोराको साटो आफू गाडी चढेको बताए उनले। आफ्नो ठाउँबाट २२ वटा गाडी एकैपटक छुट्दा बिछट्टै खुशी लागेको थियो उनलाई। 'जनताको लागि त्यत्रो गाडी पठाएका थिए प्रधानमन्त्रीले। अब त सूर्य छापमै भोट खसाल्छु,' उनले भने। 

केपी ओलीको फोटो अंकित झण्डा लिएर उभिएकाहरूको बिचमा बसेका थिए रौतहटका रामकेवल राय। उनी प्रभु शाहको इलाकाबाट आएको बताए। भने, 'प्रभु गुटकै हौं।' 

रामकेवल।


हालमा सल्किरहेको चुरोट तान्दै आफूलाई जाडो भएको सुनाए उनले। सोधे, 'हामी बुढाबुढीलाई कम्मल पनि दिन्छन् कि खानामात्र हो?' 
उनी सरकारसँग धेरै आशा भएकै कारण आफू घण्टौं लामो यात्रा तय गरेर आएको बताइरहेका थिए।

जीतपुरकी प्रभुनाथ चौधरीको आफू केपी ओलीलाई 'भोट दिन आएको' बताउँदै थिइन्। 'चुनाव हुँदा त गाउँ पनि यस्तै बन्छ झण्डा नै झण्डा,' उनले सुनाइन्।

लक्ष्मी चौधरी।


चौधरीकै छिमेकी, लक्ष्मी चौधरी नेपाली भाषा बुझ्दिन रहिछिन्। उनी पनि प्रधानमन्त्रीको भाषण सुन्न आएकी हुन्। 

१० वर्षकी रेनुकुमारी पाश्वानलाई काठमाडौं हेर्न मन थियो। तर, यात्रामा बच्चाबच्चीलाई निषेध भनियो। उनी मान्ने पक्षमा थिइनन्। दुई दिन रोएर हजुरआमालाई मनाइन् र उनकै हात समातेर काठमाडौं आइन्। उनलाई मतलब थिएन - देशमा प्रधानमन्त्री को हुन्।
 

१० वर्षकी रेनुकुमारी। उनलाई देशका प्रधानमन्त्री को हुन् थाहा छैन।
रातो पछ्यौरीमा प्रभुनाथ।
आमसभामा सहभागी महिलाहरू


ट्रेन्डिङ पोस्ट

Ncell