जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले बिहीवार गरेको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना केही नेतामाथि आक्रमण गरेको आरोप लगाएको छ।
जनकपुरधामको नेकपा पार्टी कार्यालयमा धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाएका हुन्।
उनले आफूहरु शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनियोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई आक्रमण गरेको आरोप लगाए। महतोले प्रहरीले योजनाबद्ध ढंगले प्रदर्शनकारीमाथि ढुंगामुढासहित गोली, लाठी बर्साउनुका साथै पार्टीका शीर्ष नेताहरुमाथि फायरिङ गरेर आतंक मच्चाएकाले यस घटनाको अनुसन्धान गर्न समेत माग गरे।
यस्तै पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले डीएसपी मकेन्द्र मिश्रको नेतृत्वमा रहेको प्रहरी टोलीले न्यून संख्यामा रहेका प्रदर्शनकारीमाथि बल प्रयोग गरी नेता रामचन्द्र र मातृका यादवमाथि हमला गरेको आरोप लगाए।
नेकपा धनुषाका संयोजक सुधिर साह र सहसंयोजक दिपक यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा भएको दमन र आक्रमणमा संलग्नमाथि कारबाहीको माग समेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रुपमा अकारण स्थानीय प्रहरी/प्रशासनले ५० औँ राउण्ड गोली, अश्रुग्यास, लाठी प्रहार तथा ढुंगा प्रहार गर्दै हाम्रो केन्द्रीय नेताहरुलाई ज्यान मार्ने प्रयास गरेका छन्।’
यस क्रममा दर्जनौँ कार्यकर्ताहरुलाई बन्दी बनाई पूर्वमन्त्री मातृकाप्रसाद यादव, पूर्वमन्त्री रामचन्द्र झा, शहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, कारीराम यादव, प्रदीप साहलाई गम्भीर घाइते बनाउनुको साथै दर्जनौँलाई घाइते बनाएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ् ‘प्रशासनको उक्त कार्यको घोर भर्त्सना गर्दछौँ। साथै सम्बन्धित निकायले कडा कारबाही गरोस् भन्ने जोडदार माग गर्दछौँ।’