PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

सत्ताको 'जात्रा'मा भूईंमान्छेको व्यापार



स्वेच्छा राउत

सत्ताको 'जात्रा'मा भूईंमान्छेको व्यापार

काठमाडौं : सधैं रत्नपार्कको एउटा कुनामा बस्थिन् बेलकुमारी घिमिरे। त्यहाँ उनी चुरोट, गुट्खा, सुपारी, मधू आदि बेच्थिन्। लकडाउन यता मास्कको पनि राम्रै व्यापार हुन थालेको छ। दैनिक हुने ६० देखि एक सय रुपैयाँ कमाइ हुन्छ। त्यो रकम ७० वर्षीया घिमिरे र उनका ७२ वर्षीय श्रीमान कृष्णप्रसादको तरकारी खर्च हो।

शुक्रवार बिहान साबिकै जसो रत्नपार्कमा आएर सामान फिजाइन्। तर, न कुनै गाडी आयो न त ग्राहक नै। उनलाई थाहा थिएन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको आमसभा छ। केहीबेरमा एकहुल मानिस झण्डा र पर्चा बोकेर आएको देखिन्। भिडलाई पच्छ्याउँदै हिँडिन उनी पनि। पुगिन् चिटिक्क बनाइएको दरबारमार्ग।

सडकको एकछेउमा आफूले बोकेको पानीको झोला र अरु सामान फिजाइन्। चप्पल ओच्छ्याइन् र बसिन् बेच्न।

'जहाँ मान्छे हुन्छन् त्यहीँ व्यापार। त्यसैले म त यतै आएँ', उनले सुनाइन्, 'तर यस्तो भिड देख्दा डर पनि लाग्छ, फेरि देशमा के हुने होला? दश बाह्र वर्ष पहिले यस्तै हुन्थ्यो।'

मकवानपुरकी उनी किलागलको डेरामा बस्छिन्। उनका श्रीमान र छोरा पनि फुटपाथमै व्यापार गर्छन्। फुटपाथमा व्यापार गर्नेहरूलाई नेपाल बन्द, हड्ताल लगायत शहर ठप्प पारिने आमसभाहरू नाकाबन्दीजस्तै हुने बताउँछिन् उनी।

'सामान नबेची नुनतेल कसरी किन्ने? भाडा कसरी तिर्ने?', आवाज आइरहेको मञ्चतर्फ हेर्दै उनले भनिन्, 'भाषण जति गर्नु छ गरुन् तर बन्द नगरिदिउन्।'

अन्य दिनभन्दा आमसभामा व्यापार चाहिँ राम्रै भएको बताइन् उनले। 'अरु बेला दरबारमार्गमा पसल राख्न दिँदैनन् नत्र त राम्रै कमाइ हुन्थ्यो होला नि', उनले अनुमान गरिन्।

+++

आमसभालाई जात्राको संज्ञा दिन्छन् सिन्धुलीका चित्रबहादुर चौलागाईं। 'जात्रामा जस्तै भव्य व्यापार हुन्छ। चार पाँच दिनको कमाइ बराबर आज एकदिनको भयो', उनले मानाको बदाम झोलामा खन्याउँदै भने। उनी बदाम र केरा बेच्न भिडमा मिसिएका हुन्।

४२ वर्षीय उनले २५ वर्षयता ठेला व्यापार गर्दै आएका छन्। राजनीतिक घटनाक्रमले व्यापार प्रभावित गरेको थुप्रै घटनाका साक्षी छन् उनी। केही वर्ष यता त्यो क्रम रोकिएको थियो, फेरि सुरु हुने कुराले चाहिँ डर पैदा गराएको छ उनमा। 'नेताज्यूहरू आन्‍दोलनको धम्की दिनुहुन्छ डराउनु त पर्‍यो नि', उनी केही व्यङ्ग्यात्मक सुनिए।

उनीजस्तै कल्पना घिमिरे ठेलामा बदाम लिएर बालाजुदेखि दरबारमार्ग आइपुगिन्। अरु दिन यसरी आउन किन पाउँथिन् र? उनलाई चाहिँ सभा सम्मेलन हेर्न रमाइलो लाग्दो रहेछ। 'व्यापार भए पनि नभए पनि नाचगान हेर्न पाइन्छ नि', उनले केही रौसिँदै प्रष्ट्याइन्,'कमाइ पनि राम्रै हुन्छ। पैसा पनि, रमाइलो पनि।'

वीरगंजका वंशिलाल साह भने घाम नलागेकोमा गुनासो गर्दै थिए। उनको चिन्ता अर्कै रहेछ। पानीपुरी र चट्पटे बेच्न आएका उनी धुम्म परेको आकाश हेर्दै भन्दै थिए, 'घाम नलागेर कसैले पनि अमिलो पिरो खाएनन्।' अरु दिन बसपार्कमा व्यापार गर्ने उनी ग्राहक खोज्दै आमसभामा आएका थिए।

सुन्ताला बेच्न आएकी सुमित्रा श्रेष्ठको पनि गुनासो उही। घाम लागेको भए व्यापार हुने उनको अनुमान थियो। 'सयमा एक किलो दिँदा पनि किनेनन्', उनले यतिभन्दा छेउमा उभिएका एक स्वयं सेवक आए र एक किलो सुन्तला जोख्न लगाइहाले। सुमित्र दङ्ग परिन्।

आमसभामा भिडभाड देखिन्थ्यो, किताब पसल फिजाएर बस्नेसामु। राजनीति, दर्शन र आध्यात्माका किताबहरू बिक्री भएको व्यापारी दीपक श्रेष्ठले बताए। उनले एकैदिन करिव ६० वटा किताब बेचे। जसमध्ये ६/७ वटा मात्रै थियो मार्क्सवादी पाठ्यक्रममा आधारित 'कम्युनिस्ट स्कूल।'

'सभामा राजनीति सम्बन्धी पुस्तक धेरै बिके। मैले सभामा बिक्ने खालकै सामाग्री छानेर राखेको थिएँ। आख्यानमा चाहिँ प्राय सहभागीको चासो देखिएन,' दीपकले सुनाए। सम्पर्कका आधारमा किताब बेच्ने उनी यस्ता सभा, सम्मेलनहरूमा विषय सम्बन्धित पुस्तकहरू लिएर पुग्ने गरेका छन्। त्यही मेलोमा हिजो उनी दरबारमार्गमा देखिएका थिए, जहाँ कुनै पुस्तक पसल छैन।

पशुपतिको जात्रा सिद्राको व्यापारजस्तै थियो धेरैका लागि हिजोको आमसभा। त्यसो त आमसभा आफैँमा एउटा राजनीतिक व्यापार थियो नै। त्यही व्यापारमा आफ्नो दुकान राख्न इयरफोनदेखि पानीसम्म, बेलुनदेखि कटन क्यान्डीसम्म बेच्नेहरु दौडादौड गरिरहेका थिए। उनीहरुलाई आमसभा सफल भयो कि भएन चिन्ता थिएन, थियो त बढीभन्दा बढी बिक्रीको मेलो मार्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell