निशा गुरुङ
हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण भएको एकीकृत नमूना बस्तीको उदघाटन गरेका छन्।
शनिबार रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण भएको एकीकृत नमुना माझी बस्तीको पौडेलले नमूना बस्ती समुदायलाई हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रम मार्फत काम गरीरहेको बताए। उनले प्रदेश सरकार आवास बिहीन नागरिकहरुलाई व्यवस्थित आवासको व्यवस्था गर्न लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।
बस्ती निर्माणका लागि वाग्मती प्रदेश सरकारले डेढ करोड र गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन्। बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए।
कार्यक्रममा खाँडदेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमूना बस्ती निर्माण हुनु खुसीको विषय भएको बताएका थिए। बस्तीभित्र ४२ वटा घरहरुसहित चिल्डेनपार्क, टावर, सभा हल, स्विमिङ पुल लगायतका पूर्वाधार निर्माण हुनेछ। एकीकृत बस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना भने निर्माण भइसकेको छ। गाउँपालिकाले एकीकृत वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए। उनले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने भन्दै एकीकृत बस्ती विकासको अवधारणलाई आगामी दिनमा समेत जोड दिनुपर्ने बताए।