PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

नागरिकता माग्दा सौता उपहार!



सुमित मिश्र

नागरिकता माग्दा सौता उपहार!

जनकपुरधाम : सर्लाही चक्रघटा गाउँपालिका - ६ पररियाकी २५ वर्षीया अनितादेवी साहको महोत्तरी बलवा नगरपालिका - ६ बनौटका मुकेश साहसँग बिहे भयो। तीन वर्षअघि तामझामका साथ गरिएको बिहेमा अनिताकी बुवा विष्णुदेवले दाइजोसहित २५ लाख बढी खर्च गरे।

तर बिहेको केही दिन नबित्दै अनितामाथि मुकेशले हातपात शुरू गरे। लाखौं दाईजो पाएर खुसीखुसी श्रीमानबाट यसरी यातना पाउलान् भनेर सायदै सोचेकी थिइन् अनिताले। तर भइदियो त्यस्तै।

'थप दाइजो चाहियो,' भन्दै कुटपिट शुरु भएको थियो। यो क्रम जारी रह्यो। सासुससुराले पनि साथ दिन्थे मुकेशलाई। उनीहरु मिलेर अनिताको जिउमा आगो झोस्थे। ‘कहिले हातखुट्टा बाँधेर कुट्थे। कहिले श्रीमान सासु ससुरा मिलेर आगोले झोस्थे,’ अनिताको स्वर दबिँदै गयो। 'दाम्पत्य जीवन हो, केही ठाकठुक भाइहाल्छ, पछि सुध्रिएला' भनी सहँदै गइन् उनले। तर, अनिताको ज्यानमाथि श्रीमानको हात र लात बज्रिन छोडिएन।

'शुरुमा त दाइजो ल्याएमात्रै घरमा बस्न दिन्छु भन्थे। पछि तिमीभन्दा राम्री अर्कीसँग विवाह गरिसकेको छु। तिमी यहाँबाट गइहाल भन्न थाले,' अनिताले भनिन्।

त्यसपछि उनी बाध्य भइन् माइती गुहार्न। माइतीको सल्लाहमा अनिता न्यायका लागि गत असारमा इलाका प्रहरी कार्यालय बलबा र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिइन्। त्यसपछि जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा मुकेशसँग कागजी सहमति भयो - अबदेखि यातना नदिने र राजीखुसी घरमा बस्ने गरी। तर सहमति कागजमै सीमित रह्यो। सहमति भएको केही दिनमै मुकेशले थाले कुटपिट।

नागरिकता माग्दा कुटपिट दोहोरियो

उनले भनिन्, ‘साउन ७ गते अबदेखि कुनै मिल्ने, नागरिकता, विवाह दर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भएको।’

त्यसयता नागरिकता बनाई दिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको अनिताले दुखेसो पोखिन्, ‘सहमतिको कुरा लिएर चौकीमा उजुरी दिए। तर कुनै सहयोग पाएको छैन। पटकपटक धाउँदा प्रहरीले हप्काउँछन्।’

अनिताका बुवा विष्णुदेवले सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटकपटक बलबा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सई रविन्द्र सिंहले, 'अब यहाँ रहेर समस्या समाधान हुँदैन। आफ्नो ग्यारेन्टीमा दुई साताअघि जनकपुर बस्न पठाई दिए' भनेर फर्काई दिएको बताए।

मुकेशले अनितालाई जनकपुर भ्रमरपुरा चोक नजिक एक डेरा गरेर राखे। त्यहाँबाट मुकेश दुई दिनमै गरगहना र मोबाइलसमेत लिएर फरार भए। अनिताले बुवालाई जनकपुरधाम बोलाइन्।

छोरी अनितालाई लिएर पुनः बलबा र जिल्ला प्रहरी कार्यालयमा सहयोगका लागि पुग्दा प्रहरीबाट सहयोग नपाएको विष्णुदेवले गुनासो गरे। ‘कानूनको पालना र सुरक्षा दिने निकाय नै असहयोग गर्न थालेपछि अब कहाँ जाने?’ विष्णुदेवले प्रश्न गरे।

अहिले अनितालाई अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ।

यता ईलाका प्रहरी कार्यालय बलबाका प्रमुख सई रविन्द्र सिंहले भने विवाद सुल्झाउन हरसम्भव प्रयास गरेको बताउँछन्। सिंह भन्छन्, ‘हामीले पटक पटक सहमति गराउने प्रयास गरेकै हौँ, पछिल्लो पटक गत साउन महिनामा एसपी सापकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति नै भयो। त्यो सहमति कार्यान्वयन प्रयास गर्‍यौं। हुन सकेन।’

पारिवारिक विवाद सहमतिबाटै निकास खोजौं भनी सासुससुराबाट टाढा बसेपछि विवाद अन्त्य हुन सोचेर केटाकेटी दुवैलाई जनकपुर गएर बस्न लगायौं। तर दुई दिनपछि केटा नै त्यहाँबाट फरार भएको सिंहले बताए।

अर्कै महिलासँग फरार!

मुकेश अर्कै महिलासँग प्रेम सम्बन्धमा रहेको बताउँछिन् अनिता। तर उनी मुकेशलाई सजाय भन्दा पनि चाहन्छिन् आफ्नो दाम्पत्य जीवन बचाउन। उनी भन्छिन् ‘श्रीमान अर्कै महिलालाई लिएर फरार भएको कुरो मलाई थाहा छ। तर के गरुँ? मेरो भाग्य को दोष हो यो। श्रीमान अर्कै महिला लिएर फरार भए पनि उनीसँगै जिउने मेरो धोको छ।’ २ वर्षे छोरोलाई लिएर सेफहाउसमा शरण लिन बाध्य भएकी छन् उनी।

प्रदेश नम्बर २ सरकारले सुरक्षित बेटी अभियान र बेटी बचाउ बेटी पढाउ अभियान सुरु गरेको छ। तर प्रदेश नम्बर २ मै अनिता झैं बेटीहरु असुरक्षित भइरहेका छन्। यसले सरकारी अभियान बालुवामा पानी खन्काए झैं भएन र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell