जनकपुरधाम : बडो तामझाम र चर्को प्रचारबाजी सहित करिब ५ महिनाअघि भारतबाट ल्याइएको बहुप्रतिक्षित रेल र प्रदेश २ सरकारले सञ्चालन गर्न लागेको प्रदेश परिवहन(बस) सञ्चालन अझै हुन सकेको छैन। विभिन्न बाधा अडचन देखाउँदै यी सेवा सञ्चालनमा आउन नसकेको हो।
भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्था (करिब ३५ किमी) रेलमार्गको पूर्वाधार तयार छ। ब्रोडगेज रेल्वे ट्रयाक गत वर्ष नै तयार पारेर विभिन्न पटक परीक्षणको कामसमेत भइसकेको छ। गत साउन महिनामा आएको बाढीले क्षति पुगेका केही स्थानमा समेत मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ। रेल सेवा माघबाटै सुरु हुन्छ भनिएको पनि थियो तर माघ बित्न लाग्दा पनि त्यसको सुरसार भने छैन। रेल सञ्चालन गर्ने विभिन्न मिति अड्कलबाजी भइरहेको छ। तर रेल सञ्चालन गर्न देखिनुपर्ने सकारात्मक संकेत अझै देखा परेको छैन। रेल सञ्चालनका लागि दुई देशको अन्तरदेशीय रेलमार्गमा दुवै देशको स्वीकृति, कर्मचारी र कानुनको अभावले तत्काल रेल्वे सञ्चालनको छाँट देखिदैन।
रेलको सुरक्षामा ३० प्रहरी, नटबोल्ट हुन्छ दिनहुँ चोरी
भारतबाट गत असोज २ गते नेपाल भित्र्याइएका दुबै रेल अहिले नेपाल–भारत सीमा क्षेत्रको जनक नन्दनी गाउँपालिकाको इनर्वास्थित रेल्वे स्टेसनमा एकअर्कासँग जोडेर त्रिपालले छोपेर राखिएको छ। रेलको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली नै खटाइएको छ्। सुरक्षाका लागि प्रहरी खटाइए पनि ठाउँठाउँमा रेलको लिक कस्न प्रयोग भएको ‘नटबोल्ट’ चोरी हुन थालेको छ। रेलको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले इनर्वामा अस्थायी बेस क्याम्प नै खडा गरी सुरक्षा दिइरहेको छ। त्यसका लागि ३० जना सशस्त्र प्रहरी तैनाथ छन्। तै पनि रेलको लिक कस्नका लागि प्रयोग भएको ‘नटबोल्ट’ चोरी भइ कबारमा बेचिदै छ। प्राप्त तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा १ हजारभन्दा बढी क्लिप ‘नटबोल्ट’हरु चोरी भएका छन्। लिकमा प्रयोग हुने एउटा क्लिपमा करिब आधा केजी फलाम हुन्छ। रेल्वे लिकको क्लिप धमाधम चोरी भइरहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले स्वीकार गरेका छन्। पहिलोपोस्टसँग चित्रकारले भने, ‘लिकको क्लिप बेला–बेला चोरी भइरहेको छ। देशको माया नगर्नेहरूले क्लिप चोरेको जस्तो लाग्छ।’ उनले थपे, ‘देशको राष्ट्रिय सम्पतिको सुरक्षाका लागि जनता स्वयं नै सजग हुनु आवश्यक छ, राष्ट्रिय सम्पतिको सुरक्षा गर्नुपर्छ नबुझ्नेहरुले नै चोरी गरेको हुन सक्छ।’
उनले अहिले आएर रेलको सुरक्षाका लागि सुरक्षा व्यवस्था थप बढाइएको जनाउँदै पछिल्लो समय चोरीका घटनाहरुरुमा कमी आएको बताए।
मुसाले तार तथा सिट काट्ने जोखिम
लामो समय एकै स्थानमा यसरी रेल थन्क्याएर राख्दा मुसाले तार तथा सिट काट्ने जोखिम बढ्ने रेलको रेखदेखमा खटिएका भारतीय पक्षका कर्मचारीले बताए। उनले रेललाइ त्रिपाल ओढाएर राखिएकोले सधैं त्रिपाल हटाउने र ओढाउने काम सम्भव नभएकोले मुसाले तार तथा सिट काट्ने जोखिम बढेको बताए। ती कर्मचारीले भने, ‘हामी दिनहुँ रेलको हेरचाह गरिरहेका हुन्छौ। तर रेल त्रिपाल ओढाएर राखिएकोले मुसाले तार तथा सिट काट्ने जोखिम बढ्छ।’
ठेकेदार कम्पनीका कर्मचारी प्रणव कुमारका अनुसार रेल सञ्चालन पूर्व भारतले ती रेललाई नेपाल सरकारसमक्ष हस्तान्तरण गर्नुपर्ने बताउँछन्। नेपाललाई रेल हस्तान्तरण नगरुन्जेलसम्म आफूहरुले रेखदेख गरिरहनुपर्ने उनको भनाइ छ।
नेपाल सरकारले कहिले रेल सञ्चालन गर्छ भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको उनले बताए। उनले भने ‘हामीले सुरुदेखि रेलको सम्पूर्ण जिम्मेवारी लिएर बसेका छौँ, नेपाल सरकारलाई भारत सरकारले रेल हस्तान्तरण गरेपछि हाम्रो दायित्व पूरा हुनेछ।’
रेल कहिलेबाट सञ्चालन हुने लागेन टुंगो
नेपालले जनकपुर–जयनगरका लागि दुई रेल सेटसहित खरिद गर्न भारतको कोंकर्ण रेल्वे कर्पोरेसनलाई करिब १ अर्ब रूपैयाँ खर्चेको छ। नेपालको माग अनुसार कर्पोरेसनले करिब १० महिना पहिले नै रेल सेट तयार पारिदिएको हो। तर रेल कहिले गुड्ने भने अहिलेसम्म छिनोफानो लगेको छैन। यसअघि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले माघ मसान्तमा रेल आउने दाबी गरे पनि रेल विभागका प्रवक्ता चित्रकारले रेल चल्ने समय नतोकिएको बताए। ‘रेल चलाउने तयारी हामीले गरिराछौं, तर रेल ठ्याक्कै यही मितिमा चल्छ भने निर्क्यौल छैन। चित्रकारले भने, ‘हामीसँग जनशक्ति अभाव, अन्तरदेशीय स्वीकृतिलगायत कर्मचारी भर्नासहितका काम बाँकी रहेकाले रेल चल्ने मितिको यकिन भएको छैन।’ उनले थप्दै भने, ‘सक्दो छिटो रेल चलाउने हाम्रो प्रयास हो, तर मुख्य काम बाँकी नै छ। कानुनको अन्योलता, प्राविधिक समस्या र कर्मचारी अभावले रेल सञ्चालनको मिति तोक्न सकिएको छैन।’
प्रदेश सरकारले किनेको बसमा उस्तै झमेला
प्रदेश २ सरकारले सञ्चालन गर्न लागेको प्रदेश परिवहन सेवा कार्यविधि अभावमा थन्किएको अवस्थामा छ। जनतालाई शुलभ सहज यातायात सेवा सञ्चालन गर्न भन्दै प्रदेश २ को राजधानी जनकपुरबाट आठवटा जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्न प्रदेश २ सरकारले ५ वटा सुविधा सम्पन्न बस खरिद गर्यो। दिपावलीको पूर्वासन्ध्यामा धनतेरशको दिन गएको कातिक २८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस किनेको थियो।
किनेको बेला एक महिनाभित्रै सञ्चालन गर्ने भनेपनि चालक, सहचालक लगायतका जनशक्ति र कानुनको अभावमा ५ वटै बस थन्किएको छ। टाटा कम्पनीबाट खरिद गरेको ५ वटै बस धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित शिवप्रदि वर्कशपमा खुल्ला आकाशमूनि थन्क्याएर राखिएको छ।
एउटा बसमा ५० वटा सिट, सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइ समेतको सुविधा छ।
आवश्यक जनशक्ति र कार्यविधि बनाएर एक महिना भित्रै बस सेवा सञ्चाल गर्ने गरी तयारी भइरहेको यातायात व्यवस्था विभाग प्रदेश २ का प्रमुख विनोद यादवले बताए।
‘बस सञ्चालनको लागि चाहिने कार्यविधि तयार भइसकेको छ। अब तयार कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कर्मचारी भर्नाका लागि सूचना निकाल्छौँ,’ यादवले भने, ‘कर्मचारी भर्ना लगतै बस सञ्चालनमा आउँछ। सकेसम्म एकमहिना भित्रै हामी सञ्चालनमा ल्याउने गरी तयारी गर्दैछौँ।’