हर रात सपनीमा ऐंठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि…
२०५६ सालमा विप्लव प्रतीकले लेखेको कविता गीत बन्यो। संगीत र स्वर दिए दीप श्रेष्ठले। गीतले चर्चा बटुल्यो, हिट्स एफएमको ४ वटा अवार्डसहित। नेपाली भाषी र संगीत प्रेमी भएका हरेक ठाउँबाट गीतको तारिफसहित खबरहरू आए।
त्यतिबेला गीत सफल हुनुको अर्थ थियो - गायक, गीतकार वा संगीतकार सबै सफल हुनु। स्रोताले ती सर्जकको नयाँ रचना पर्खनु। प्रतीक्षा हुन्थ्यो रेडियो र टेलिभिजनमा त्यस्तै नयाँ गीत।
यो त्यस समयको कुरा हो जब शब्दले समेटेको कल्पनशीलताबारे बहस हुन्थ्यो।
हर रात सपनीमा ऐंठन हुन्छ… को आधिकारिक भिडियो कहिल्यै बनेन। वर्षौपछि दार्जिलिङका केही युवाले कभर भिडियो बनाएर युट्युबमा राखे। भिडियो एक लाख पटक पनि हेरिएको छैन। तर, गीत गुञ्जन छाडेको छैन। कालजयी बनेको छ त्यो गीत।
गीत शक्तिशाली भए भिडियो नचाहिने तर्क गर्छन् गीतकार प्रतीक।
तर, प्रविधिले फड्को मार्दा भिडियो निर्माण र प्रसारणका लागि माध्यम फराकिलो बन्यो। दर्शक, स्रोताले रेडियो नेपाल वा नेपाल टेलिभिजनका सांगीतिक कार्यक्रम पर्खेर बस्नु पर्ने स्थिति छैन। खर्च सस्तियो। यस्तो अवस्थामा गीतका शब्दलाई दृश्यांकन सहज बनेको छ।
‘शब्दहरूलाई लयले गीत बनाउँछ। गीतलाई संगीतले पूर्ण बनाउँछ। त्यसपछि हुने संयोजनलगायतको कामपछि एउटा रचना पूर्ण बन्छ। त्यो पूर्णतामा नयाँ आयाम थप्ने काम गरेको छ भिडियोले,’ प्रतीकले भने।
१५ सेकेन्ड लामो टिकटकको जमानामा १५ मिनेट लामो भिडियो
कोरोना भाइरसका कारण भएको लकडाउनले नेपाली संगीत क्षेत्र पनि ठप्प रह्यो। केही संगीतकर्मीले भर्चुअल्ली दिएका प्रस्तुति बाहेक गीत मात्र वा म्युजिक भिडियोहरू सार्वजनिक भएन।
अहिले स्थिति सामान्यतिर धकेलिएको छ। त्यसैको असर हुनुपर्छ कुनै दिन त ३० वटासम्म गीतका भिडियो रिलिज भएको बताउँछन् संगीतकर्मी हरि लम्साल।
'युट्युबले व्यावसायिक बन्न दिएको अवसर हो यो। त्यसैले संगीत क्षेत्रलाई पनि केही व्यावसायिक बनाउन भिडियो निर्माण र विज्ञापनका लागि निर्देशिका अनुरुप लामा भिडियो बन्न थाल्यो।'
तीमध्ये अधिकांश भिडियोलाई 'म्यूजिक भिडियो' नभइ 'म्यूजिकल फिल्म' भन्न रुचाउँछन् उनी। कारण – ती भिडियो सर्ट मुभी झै लाग्छन् जहाँ कथा भनिन्छ। अझ कति म्यूजिक भिडियोले त सर्ट मुभीको लम्बाइलाई नै उछिन्छ।
उमेश उपमाको 'मुटु मिची' बोलको गीत १३ मिनेट लामो छ। भिजुअल देखिएको साढे ६ मिनेटपछि मात्र गीत सुरु हुन्छ।
संगीतकार सचिन सिंहका अनुसार उनले यसका लागि करिव ६ मिनेटको संगीत संयोजन गरेका थिए। उक्त गीत रेकर्डिङपछि सुने निर्देशक अनमोल गुरुङले। त्यसपछि उनले गीतको भिडियोका लागि कथा कल्पिए।
'भिडियोमा नयाँ प्रयोग गरौं भन्ने योजना बन्यो। त्यसका लागि निर्देशकले कथा बुन्नुभयो। सबै देखाउँदा लामो भयो। त्यसमा हामीले गीतमै प्रयोग गरेको र अन्य ट्र्याक प्रयोग गर्यौं', सचिन सिंहले भने,'गीत मिल्दो कथावस्तु भएकाले दर्शक, स्रोताले रुचाउनु भएको छ।'
उक्त गीत हालसम्म १५ लाख पटक हेरिएको छ।
गीतको भिडियोमा संवादसहित कथा देखाउने यो पहिलो गीत भने होइन। गत अगस्टमा सार्वजनिक भएको सुजन चापागाईंको गीत 'तीनपाते' हालसम्म १ करोड १९ लाख पटक हेरिएको छ। सोही गीतमार्फत् नेपाली म्यूजिक भिडियोको ट्रेन्ड परिवर्तन भएको दावी गरिएको छ। लेखिएको छ,'तीनपाते एक सांगीतिक फिल्म हो जसले नेपालमा गीतको भिडियोमार्फत् भन्दै आएको कथाहरूलाई अर्को तहमा पुर्याएको छ।'
तीनपातेपछि सार्वजनिक अधिकांश भिडियोमा शब्द वा कलाकारहरू हाउभाउ र अभिनयमार्फत् मात्र कथा प्रष्ट्याइएको छैन, संवादको प्रयोग गरिएको छ। सँगै प्राय भिडियो ८ मिनेटभन्दा लामा छन्। जसमा गीत, संगीत र कथावस्तु मात्र छैनन्। प्राय भिडियोमा गीत दोहोर्याइएको छ वा गीतको भिडियो छायाँकनका दृश्यहरू राखिएका छन्।
यस्तो ट्रेन्डलाई समाजले दुई तरिकाले हेर्ने बताउँछन् गीतकार विप्लव प्रतीक - एउटा समूहले सहर्ष स्वीकार्छ भने अर्को समूहले पूर्ण विरोध गर्छ। त्यसो त नेपालमा पप संगीत आउँदा पनि यस्तै भएको थियो।
'गीतको भावलाई मार्दैन भने भिडियो बन्नु समस्या होइन। आखिर हामी प्रविधिसँग चल्नै पर्छ,' विप्लवले भने। नेपाली दर्शक स्रोताले नेपाली भाषाकै सामाग्री हेर्न चाहिरहेका हुनाले पनि यसखालका भिडियोमा लाखौं भ्युज भएको उनको बुझाइ छ।
पैसाको भरमा भ्युज बटुल्ने होडबाजीले बनाएको बजारमा हृदयस्पर्शी सामाग्री तयार नहुनुलाई स्वभाविक मान्छन् उनी
'बिस्तारै राम्रो, नराम्रो फिल्टर हुँदै जान्छ। जसरी भिडियो बनिरहेका छन् त्यसलाई गलत भन्न मिल्दैन,'उनले सुनाए।
प्रविधिले 'प्ल्याटफर्म' दिएको अवस्थामा भिडियोबिना गीत अपूर्ण नै रहन्छ त?
जनवरी १६ मा गायक विपुल क्षेत्रीले एउटा ट्वीट गरे जसमा उनले आफ्नो चर्चित गीत 'सिन्डिकेट'बारे लेखेका छन्।
5 yrs ago, we released Syndicate, a simple story with no music video, big label name nor online advts pushing it. Here it is today with 20M organic plays that stands as a testament that there are people who still listen to rather than watch music. Thank you to all those who did. pic.twitter.com/goUTE1SbVz
— Bipul Chettri (@bipulchettri) January 16, 2021
उनले उक्त गीतमा आएको भ्युज संख्यालाई 'अर्ग्यानिक'को संज्ञा दिए। थप्छन्, 'आज पनि त्यस्ता श्रोता छन् जसले संगीत हेर्दैनन्, सुन्छन्।'
उनले यस्तो दावी गरिरहँदा ट्रेन्डिङमा आउने गीतहरू त्यस्ता छन् जसको भिडियो खिच्न र प्रवर्द्धन गर्न उल्लेख्य रकम खर्च गरिएको हुन्छ। रकम खर्चको अर्थ गीत राम्रै भन्ने चाहिँ नहुन पनि सक्छ। ट्रेन्डिङमा आएका कतिपय गीति भिडियोहरू न हेर्न सकिने खालका छन् न सुन्दा नै आनन्द अनुभूति हुन्छ।
विप्लव प्रतीक म्युजिक भिडियो जुन तरिकाले आउनु पर्ने हो त्यसरी नबनेको स्वीकार्छन्। 'सार्वजनिक भइरहेका कतिपय गीति भिडियोहरू त शब्द अनुरुप नै छैनन्,' उनले भने।
गीत त जसले पनि लेख्न सक्छ। भिडियो जसले पनि बनाउँछ। अनि त्यस्तै बुझाइ छ - 'जस्तो बनाए पनि हेर्ने दर्शक छन्।' पैसाको भरमा भ्युज बटुल्ने होडबाजीले बनाएको बजारमा हृदयस्पर्शी सामाग्री तयार नहुनुलाई स्वभाविक मान्छन् उनी।
भिडियो र लामो गीत उत्पादन त्यसैको उपज हो। आखिर कस्तो छ त गीत उत्पादन र बजारको सम्बन्ध?
गीत कुनै बेला सौखको विषय थियो। अहिले यो व्यापार बनेको छ। सौख र व्यापारबीच तुलना नहोला। तर, आर्थोपार्जन नहुने हो भने यसले व्यवसायिकता कहाँबाट पाउन सकोस् त!
पहिले गीत रेकर्ड गर्नु आफैँमा महँगो काम थियो। मुम्बईका स्टुडियोसम्म धाएर गीत एरेन्ज गर्दाको खर्चमात्र सम्झने हो भने पनि अहिले कायापलट नै भएको मान्नुपर्छ। क्यासेटमा रेकर्ड हुन्थ्यो गीत। गीतकार र गायकको हातमा पर्ने भनेको 'नाम' मात्रै। म्युजिक कम्पनीको हातमा केही आम्दानी नहुने होइन। तर बल्लबल्ल बनेको एल्बम बजारमा पुर्याएपछि छानीछानी पाइरेसी हुन कति पनि समय नलाग्ने। क्यासेट रेकर्डर भित्रिएपछि पाइरेसीले ह्वात्तै घटाउन थाल्यो – एल्बमको आम्दानी।
त्यसलाई कम्प्याक्ट डिस्कले विस्थापित गर्यो। तर,डिजिटल हुनुको अर्थ थियो पाइरेसी झन् तीब्र हुनु। पछि गीत अनलाइनमा अपलोड हुन थाल्यो र पाइरेसीले पनि ग्लोबल आकार लिन थाल्यो। सँगै जोडियो सिर्जनामाथिको अधिकार र आर्थिकोपार्जनका विषय। प्रतिलिपि अधिकार विश्वव्यापी मुद्दा बन्यो। त्यसले सर्जकहरूलाई थोरै भए पनि न्याय मिल्न थाल्यो। रेडियो र टेलिभिजनमा नि:शुल्क बज्ने उनीहरूका धुन र शब्दले डिजिटल प्ल्याफर्ममा थोरै भए पनि आम्दानीको अवसर पायो। युट्युबको मनिटाइजेसन यसैसँग जोडिएर आएको हो।
युट्युब मनिटाइजेसनले दिएको आर्थिकोपार्जन
युट्युबले आफ्नो प्ल्याटफर्ममा श्रव्यदृश्य सामाग्री निर्माण गर्नेहरू अर्थात् 'कन्टेन्ट क्रिएटर'लाई आर्थिक लाभ पुगोस् भन्ने हेतुले 'युट्युब पार्टनर प्रोग्राम' (वाइपीपी) सुरु गरेको थियो। उक्त कार्यक्रम अन्तर्गत् युट्युब च्यानलहरूले आफ्नो सामाग्रीमा विज्ञापन देखाउन पाउँछन्।
आफ्नो भिडियोमा कस्तो विज्ञापन राख्ने र विज्ञापन भिडियोको कुन भागमा राख्ने स्वतन्त्रता च्यानल सञ्चालकसँग हुन्छ। फरक खालका यिनै विज्ञापनहरू पछिल्लो समय युट्युबमार्फत् हुने आम्दानीको आधार बनेका छन्। त्यसैले केही वर्ष यता नेपाली गीति भिडियोहरू सुरु नहुँदै वा बज्दाबज्दै विज्ञापन देखिन्छ। शब्द, संगीत सुनेर वा भिडियो हेरेर रमाइरहेका दर्शक, स्रोताका लागि झर्को लागे पनि त्यही विज्ञापनमार्फत् सर्जक वा सामग्री निर्माताले पैसा कमाउँछन्।
कुनै पनि वस्तु वा ब्रान्डको प्रचारका लागि विज्ञापनदाता र युट्युबले सहकार्य गरेका हुन्छन्। युट्युबले भूगोलका आधारमा कुन वा कस्ता विज्ञापन च्यानलहरुलाई दिने तय गर्छ। सामान्यतया, दर्शकले भिडियोसँगै विज्ञापन हेरेको (इम्प्रेसन्स) वा त्यसमा भएको क्लिक (क्लिक्स) का आधारमा पैसा उठ्छ। त्यसरी विज्ञापन राखेवापत् हुने आम्दानीको केही प्रतिशत युट्युबले राख्छ र बाँकी च्यानल सञ्चालक दिन्छ।
कुन विज्ञापनको कति रकम वा मनिटाइज भएका भिडियोको कति भ्युजले कति कमाउँछन्? भन्ने चाहिँ यकिन हिसाब हुँदैन। बरु विज्ञापनबाट हुने आम्दानीलाई विविध पक्षले निर्धारण गर्छ। जस्तै, स्किप गर्न मिल्ने विज्ञापनको तुलनामा स्किप गर्न नमिल्ने विज्ञापनबाट धेरै आम्दानी हुन्छ। त्यस्तै, कुनै भिडियोलाई कुन ठाउँबाट हेरिएको छ? भन्ने विषयले पनि आम्दानीमा अन्तर गराउँछ। सामान्यतया पहिलो विश्वबाट हेरिने भिडियोले बढी कमाउँछन्।
युट्युबबाट आम्दानी गरिरहेकाहरूलाई ‘वाइपीपी’को निर्देशिकाले आफ्नो कमाइ नखुलाउन सुझाएको हुन्छ। यकिन कमाइ प्रष्ट नदेखिएपनि ‘सोसल ब्लेड’जस्ता साइटहरूमार्फत् कुनै पनि युट्युब च्यानलको अनुमानित आम्दानी आँकलन भने गर्न सकिन्छ। अमेरिकी डलरमा हुने यस्ता आम्दानीले नेपाली भिडियो निर्माता र युट्युब च्यानल सञ्चालकहरू आकर्षित भएका देखिन्छन्।
'मिड-रोल' विज्ञापनको सहजता
सन् २००९ देखि युट्युबले भिडियोमा विज्ञापन राख्न मिल्ने बनायो। यसले भिडियो अपलोड गर्नेहरुलाई आम्दानीको बाटो खुल्यो जुन सुरुवाती दिनमा थोरैमात्र थियो। युट्युबको लोकप्रियता बिस्तार हुँदै जाँदा यसबाट हुने आम्दानीको सेयर पनि बढ्न थाल्यो। त्यसबिच युट्युबले विज्ञापन राख्ने प्रावधानहरुमा परिमार्जनहरु गर्दै ल्यायो। त्यही क्रममा युट्युब क्रिएटर्स स्टुडियोले गत अप्रिलमा केही नयाँ प्रावधानहरू जारी गर्यो। जस अनुसार ८ मिनेटभन्दा लामा भिडियो 'मिड-रोल' अर्थात् भिडियोको बिचमा देखिने विज्ञापनका लागि योग्य ठहरिए।
च्यानल सञ्चालकले आफ्नो हिसाबले भिडियोमा कति र कहाँकहाँ मिड-रोल विज्ञापन राख्ने निर्धारण गर्न सक्छन्। मिड-रोल विज्ञापनको परिवर्तित प्रावधानका कारण हुनसक्छ पछिल्लो एक वर्षमा रिलिज भएका अधिकांश भिडियो ८ मिनेटभन्दा लामा हुन थालेका छन्। पछिल्लो पटक जसरी भिडियोहरूलाई तन्काइएका छन् तिनले मनिटाइजेसनबाट हुने फाइदातर्फ प्रष्ट संकेत गर्छ।
स्वाभाविक होस् या जबरजस्ती, अहिले गीती भिडियोहरू लम्बिन थालेका छन्। कुनैमा गीत दोहोर्याउने वा भिडियो छायाँङ्कनको फुटेजहरू राख्ने वा गीत सकिएपछि पनि गायक गायिकाले लिप्सिङ्क गरेको देखाउँदै भिडियो तन्काइएका छन्। यतिसम्म कि तीन मिनेटको क्रेडिट लाइन राखेर पनि भिडियो लम्ब्याइएको भेटिन्छ।
पछिल्लो समय निकै चर्चित गीत 'मैसाबले घाइते दिलमा आरा चलाइस्यो' ६ मिनेट पुग्नु अगावै सकिन्छ। तर, भिडियो तन्काएर ८ मिनेट १२ सेकेन्ड लामो बनाइएको छ। संगीत साधनामा अनवरत खटिइरहेका सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई गीत सकिएपछि भिडियोमा जबरजस्ती देखाइएको छ। तन्काइएको भागमा नयाँ शब्द छैन, मात्र सुरुवाती अन्तरा दोहोर्याइएको छ। अन्य लामा गीतमा पनि ‘मैसाब’को जस्तै वा उस्तै प्रयोग बाक्लिँदो छ।
बद्लिँदो ट्रेन्डबारे के भन्छन् संगीतकर्मी/भिडियोकर्मी?
मनिटाइजेसन वा विज्ञापन राख्नु नियम वा नियत विपरित कार्य होइनन्। तर, यसका कारण गीतको सिर्जनात्मक एवं कलात्मक पाटोमा असर गरेको स्वीकार्छन् संगीतकार हरि लम्साल। उनी स्वयं गीति भिडियो उत्पादन गर्छन्।
हरिकै युट्युब च्यानलमार्फत् सार्वजनिक गीत 'हाँस भन हाँसिदिन्छु' एक करोड ५५ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ। गीतको शब्द, संगीत साथै भिडियोबारे प्रतिक्रिया सकारात्मक छन्। तर, ५ मिनेट १८ सेकेन्डमै सकिने उक्त गीतको भिडियो १० मिनेट लामो छ।
'युट्युबले व्यावसायिक बन्न दिएको अवसर हो यो। त्यसैले संगीत क्षेत्रलाई पनि केही व्यावसायिक बनाउन भिडियो निर्माण र विज्ञापनका लागि निर्देशिका अनुरुप लामा भिडियो बन्न थाल्यो,' उनले भने।
उद्योगका रुपमा फस्टाउन नसकेको नेपाली संगीत क्षेत्रका लागि युट्युब कमाउने उचित प्ल्याटफर्म बनेको उनको बुझाइ छ। व्यवसायिक हुने होडमा गीत संगीतलाई हल्का रुपमा लिएको चाहिँ चित्त बुझेको रहेनछ उनलाई।
'संगीत भनेको साधना हो। तर आजभोलि भाइरल हुनकै लागि गीत लेख्ने, त्यस्तै भिडियो बनाउने ट्रेन्ड बढेको छ जुन गलत हो,' उनले भने, 'गीत, संगीतको कलात्मक पाटोलाई मर्न दिनु हुँदैन। जति लामो भिडियो बने पनि संगीतले आम स्रोतालाई कल्पनशीलताको दुनियाँमा पुर्याउनु पर्छ।'
कथानक म्युजिक भिडियोहरूलाई दर्शकको मागका रुपमा पनि व्याख्या गर्छन् उनी। पछिल्लो समय भिडियो र त्यसमा कथा बोल्ने गीतहरू नै धेरै पटक हेरिएका छन्। जसका कारण म्युजिक भिडियोमा लगानी गर्नेहरू पनि अघि सरेका छन्। हरिका अनुसार एउटा भिडियोमा दुई लाखदेखि ७ लाखसम्म खर्च हुन्छ। जसमध्ये अडियोका लागि ७० हजारदेखि १ लाख खर्च हुन्छ। बाँकी रकम भिडियोमा हुने लगानी।
'निर्माताको लगानीको पाटो हेर्ने हो भने युट्युबले विज्ञापन दिँदा निकै राहत भएको छ। तर, हेरिएका सबै गीतले उस्तै पैसा कमाउँछन् भन्ने चाहिँ हुँदैन। कमाइन्छ भन्ने सोचेर लगानी गर्नेहरू धेरै आर्थिक चपेटामा पर्नुभएको उदाहरण पनि छन्,' उनले भने। उनी स्वयंले गाएको 'हाँस भन हाँसिदिन्छु'मार्फत् भएको युट्युब आम्दानी गीतको दोस्रो भाग उत्पादनका लागि ठिक्क भएको सुनाए।
नेपाली संगीत क्षेत्रले भिडियोलाई प्राथमिकता दिइराख्दा भिडियो निर्देशक सान थापाले भने आफ्नो नियमित काम नै थाती राखेका छन्।
'गीत पनि उस्तै, भिडियो पनि उस्तै खोजिने। आफूले गर्ने काम नै एउटाभन्दा अर्को अलिकति फरक हुँदैन भने किन गर्ने?', थापाले भने,'आखिर पैसामात्र सबैकुरा होइन। गरेको काम सम्झन लायक त हुनुपर्यो।' विज्ञापन राख्नकै लागि गीत दोहोर्याउनु वा छायाँकनको भिडियो राख्नुलाई 'अस्वस्थ प्रयोग' मान्छन् उनी। ट्रेन्डिङमा आउनका लागि गरिने 'बुस्ट'ले कला र सर्जकलाई कहीँ नपुर्याउने उनको तर्क छ।
'मोडल वा कलाकार केही समयलाई हिट होलान्, तर सबै चर्चामा आउन खोज्दा कालजयी गीत/भिडियो कसले बनाउँछ?'
म्युजिक भिडियो निर्देशन तथा अभिनयमा सक्रिय लक्ष्मी बर्देवा गीति भिडियो लम्बिनुमा निर्माताको चासो हावी हुनु बताउँछिन्। भिडियो लामो हुँदा व्यवसायिक रुपमा फाइदा भएको र कथानक प्रस्तुतिका लागि पनि योगदान पुगेको उनको भनाइ छ।
गीति भिडियो निर्माण ह्वात्तै बढ्दा लकडाउनका कारण प्रभावित कलाकारहरूलाई केही राहत मिलेको अभिनेता नाजिर हुसेनको तर्क छ। भिडियो मार्फत कथानक देखाउँदा कमजोर गीत, संगीत भएका भिडियो पनि दर्शकले रुचाउने उनको बुझाइ छ। 'गीत जति लामो भए पनि, निर्माता आम्दानीमुखि भए पनि कलाकारको धर्म कलालाई जोगाइ राख्नु हो। त्यसमा ट्रेन्डलेभन्दा बढी आफ्नो उद्देश्य असर गर्छ,' नाजिरले भने,'मेरो उद्देश्य आफ्नो लागि र दर्शकको मनोरञ्जनका लागि काम गर्नु हो।'
'चार मिनेटको गीतलाई बाह्र मिनेट खर्च'
जोरपाटीकी नम्रता कार्कीले लकडाउनपछि रोजगार गुमाइन्। कोठामा एक्लै बस्ने उनका लागि म्युजिक भिडियोहरू नै समय कटाउने माध्यम बने। त्यसैले गीतका भिडियोहरू नै छोटा फिल्म जसरी आएका उनलाई मन परेको रहेछ। 'हेर्दा रमाइलो लाग्छ। गीत र कथा एकैपटक महसुस गर्न पाइन्छ नि त,' उनले भनिन्, 'कथा र संवादले भिडियोलाई बलियो बनाएकोजस्तो लाग्छ। पहिलेजस्तो हेर्दाहेर्दै बन्द गरिँदैन।'
तर, अनावश्यक ‘फिलर’ र कथा राखेर भिडियो तन्काउने ट्रेन्ड बढेपछि जुनसुकै भिडियोमा क्लिक गर्न छाडेको बताउँछन् भक्तपुरका पृथ्वी केसी। 'छानेर, चर्चामा आएका गीतको भिडियो मात्र हेर्छु। कतिको त कथाको पाटो स्किप गरेर गीत मात्र सुन्छु। नत्र चार मिनेटको गीत सुन्न १२ मिनेट खर्च गर्नुपर्छ,' उनले भने।
व्यवसायिकता वा सिर्जनशीलताका नाममा लामा बन्दै गएका म्युजिक भिडियोबारे दर्शक प्रतिक्रिया पनि विभाजित छन्। मुकेश भण्डारीलाई भने भिडियो लामो वा छोटो हुनुले असर गरेको रहेनछ।
'कहाँदेखि वा कहाँसम्म हेर्ने भन्ने हाम्रो रोजाइको विषय हो तर पट्यारलाग्दो पनि त बनाउनु भएन नि। विज्ञापन यति हुन्छन् कि मैले त एड ब्लक सफ्टवेयर राखेको छु,' उनले अचाक्ली विज्ञापन राखिएका भिडियोहरू बारे भने, 'भिडियो निर्माताहरूले प्राविधिक चलाखी अपनाउँछन् भने हामीले गर्न किन नहुने?'
इन्टरनेटको बिस्तार र सहज पहुँचकै कारण युट्यबजस्ता 'फ्रि मिडिया'को प्रयोग बढ्दो छ। युटयुबले भिडियो निर्माताहरूलाई श्रव्यदृश्य सामाग्री बनाउने र प्रसारण गर्ने सिर्जनात्मक स्वतन्त्रता दिएको छ। चर्चा गरिएका लामा गीति भिडियोहरू पनि त्यही स्वतन्त्रता सदुपयोगको उपज मान्न सकिन्छ।
उपलब्ध प्ल्याटफर्मको प्रयोग गर्दैगर्दा सिर्जनात्मक पाटो र व्यवसायिकतासँगै लिएर जान आवश्यक छ। सिर्जनामार्फत् कमाइ हुनु र कमाइ गर्दैगर्दा कलात्मक पाटोलाई मर्न नदिनु महत्वपूर्ण पक्ष हो। किनकि कलाको सन्दर्भमा उम्दा प्रयोग भएका सामाग्री कालजयी बनेका उदाहरण छन्। त्यस्तै भएका अस्वस्थ प्रयोग बढारिएका उदाहरण पनि प्रशस्तै छन्।
कलाकारहरू कलाकारिताबाटै समृद्ध हुने वातावरण बन्दै जानु सकारात्मक विषय हो। युट्युबले त्यो माध्यम दिएको छ।
'तर व्यसायिकतालाई मात्र ध्यान दिई बनाइएका गीतहरूले स्रोतालाई मीठो अनुभव दिएको छैन। त्यसले रचनाकारदेखि कलाकारहरूलाई क्षणिक चर्चा र व्यवसायिक राहत दिएको होला तर, कलामा रचनात्मक टेवा पुर्याएको छैन। संगीत क्षेत्रलाई केही दिएको छैन,' गीतकार कन्चन पुडासैनीले भने।