काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज गर्ने आमसभाका लागि १४ जना वक्ता तोकिएका छन्। काठमाडौको भृकुटीमण्डपमा सुरु हुने सभाका लागि समावेशी बनाउन १४ जना वक्ता तोकिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
राष्ट्रिय स्वरुपको झलक दिन बढी वक्ता भएको उनको भनाई छ।
महिलातर्फ अञ्जना विशंखे, अमृता थापा, रामकुमारी झॉक्रीले सम्बोधन गर्नेछन्। यस्तै सुदुर पश्चिमबाट भानुभक्त जोशी, तराई मधेशबाट महफुज अन्सारी, रामचन्द्र झा, सन्तकुमार चौधरीले सम्बोधन गर्नेछन्।
यस्तै स्थायी कमिटी सदस्य जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले भाषण गर्नेछन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, बरिष्ठ नेता झलनाथ खनाल, पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। कार्यक्रम सञ्चालनको जिम्मा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पाएका छन्।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूह सडक संघर्षमा छ। पुस १४ र माघ ९ मा पनि काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड नेपाल समूहले बुधवारको प्रदर्शन हालसम्मकै ठुलो हुने दावी गरेको छ। २ लाख मानिसलाई सडकमा उतारिने नेताहरुले बताएका छन्।