काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलले संविधान भत्काएको भन्दै ६२/६३ भन्दा ठूलो जनआन्दोलन हुने समेत बताए।
आज विरोध सभालाई संवोधन गर्दै उनले प्रतिनिधिसभा विघटनपछि ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए। त्यसैकारण ओली संकल्प पुजा गर्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो।
संसद पुन:स्थापना हुने भन्दै उनले दुई वर्षपछि मात्रै वैधानिक निर्वाचन हुने बताए। उनले दुई वर्षपछि हुने निर्वाचनमा ओलीको पराजित निश्चित भएको समेत बताए।
'मिस्टर केपी दुई वर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ' उनले भने।
खनालले नारायणहिटीमा केही हजार मान्छे जम्मा गरेर ओलीले जनप्रदर्शन देखाउन खोजेको भन्दै व्यंग समेत गरे। प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरु आन्दोलित नभएको उनले स्पष्ट गरे।
आजको विशाल सभा नै 'जनवाद' भएको भन्दै उनले अब समाजवाद स्थापित गर्ने समेत बताए।
भने, 'ओलीले ३ वर्षमा कृषि क्रान्तिको क पनि उच्चारण गरेन्न। हामी समाजवादका लागि अगाडि बढिरहेका छौं। पुष्पलालले पार्टी स्थापना गर्दा जनवाद भन्थे, यही हो जनवाद। केपी ओलीको धज्जी उडाएर आलोचना गर्न पाएका छौ त्यहि हो जनवाद।'