PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ओली ज्ञानेन्द्रपथमा हिँडेको भन्दै माधव नेपालले भने : मदन भण्डारीलाई बिर्सिसके, पशुपतिको नाम मात्रै याद छ ओलीलाई



ओली ज्ञानेन्द्रपथमा हिँडेको भन्दै माधव नेपालले भने : मदन भण्डारीलाई बिर्सिसके, पशुपतिको नाम मात्रै याद छ ओलीलाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री नेकपाको नभइ गुटको अध्यक्ष भएको बताएका छन‍्।

पार्टी विधान अनुसार ओली पहिलो अध्यक्ष हुनै नसक्ने भन्दै नेपालले ओली आफैले आफैलाई राजा ठानेर हिँडेको आरोप लगाए।  

'उनी नेकपाको होइन, ओली गुटका अध्यक्ष हुन्। अझ केपी फाउन्डेनसको अध्यक्ष भन्दा हुन्छ,' नेपालले भने।

ओलीले कम्युनिष्ट पार्टीको मूल्य मान्यता तोड्दै पार्टी बैठकबाट भागेको नेपालले बताए। संसदीय दल, पार्टी कमिटीको बैठकबारे बोल्दा ओलीले धम्की दिँदै पार्टीमा तानशाही चलाउन खोजेको उनको आरोप थियो।

'ओलीलाई बैठक भन्ने बित्तिकै रिंगटा लाग्छ। उनी कसरी कम्युनिष्ट पार्टीका सदस्य हुन सक्छन्?,' नेपालले प्रश्न गरे।

ओलीले मदन भण्डारीको नाम बिर्सेको र पशुपतिको नाम मात्रै याद भएको उनको टिप्पणी थियो।

'ओली पशुपति पुग्दा पशुपतिनाथले पनि ओलीलाई धिक्कार भने होलान्। उनको पाप धोइ पखाली सकिँदैन,' नेपालले भने।

केपी ओली सच्चिने खालको मान्छे नभएको भन्दै उनले संवैधानिक आयोग र सर्वोच्च अदालतबाट प्रगिगमन विरुद्ध निर्णय हुनेमा विश्वास व्यक्त गरे।

ओली गणतन्त्र र संघीयता विरोधी भएको भन्दै भन्दै नेपालले भने, 'ओली प्रतिगामी ज्ञानेन्द्र पथमा अगाडि बढ्दैछन्।'

सूर्य चिह्न र नेकपा आफ्नो भएको भन्दै नेपालले ओलीसँग बयलगाडा चिह्न मात्रै रहेको बताए। प्रतिनिधिसभा पुन: स्थापना नभए देशमा अनर्थ हुन सक्ने तर्फ नेपालले संकेत गरे।

ओलीले संवैधानिक निकायमा हस्तक्षेप गरेको भन्दै नेपालले निर्वाचन आयोगलाई समेत प्रभावित बनाउने प्रयास भएको बताए।

'निर्वाचन आयोगले उनको कुरा पत्याउन पर्दैन। विधान र दस्तावेज हेरे हुन्छ। आवश्यक परे हाम्रो बहुमत सदस्यको टाउको गणना गर्दा हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell