काठमाडौं : नरसिंह प्रसाद काहार मंगलवार साँझ आफ्ना वडाका करिब ८० जना मानिसलाई लिएर काठमाडौंका लागि हानिए। नवलपरासीको प्रतापपुर गाउँपालिका - ३ का वडा सदस्य हुन् उनी।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा बुधवार दिउँसो सडकमा भेटिए उनी। त्यहाँ उनी न धेरै उत्साही थिए न निराश नै। सँगै थिए साथीहरु। शक्ति प्रदर्शन गर्न नवलपरासीबाटै आएका धीरेन्द्र थारुको भरोसा उनै थिए। धीरेन्द्र जन्मदेखि अपाङ्ग रहेछन्।
धीरेन्द्र थारु
उनको दाहिने खुट्टा छोटो र बाङ्गो भएकाले वैशाखीको सहारा चाहिने। उनीहरू दरबारमार्ग हुँदै रत्नपार्कतर्फ जाँदै थिए। प्रदर्शनकारीको भिडमा पेलिएलान् भन्ने त्रास। गाह्रो होला भनेर नरसिंहले उनको हात थामेका थिए।
परेको बेला साथ र सहयोग मिल्छ भन्ने भरोसाले नै नरसिंहले जनप्रतिनिधि बन्न पाए। तर, देशको राजनीतिक माहोल यसरी बिग्रिँदै गयो कि नरसिंहलाई आफ्ना मतदाताहरूको अगाडि पर्न कठिन। उनलाई डर लाग्छ आफ्ना भोटरको प्रश्नसँग।
'जसले सिद्धान्त पढाए उनीहरूको चाहना अनुरुप चल्दै गयौं। लड्यौं र संविधान ल्यायौं। अहिले त्यही संविधान जोगाउन फेरि आन्दोलनमा होमिन परेको छ,' उनले बुधवार काठमाडौं आउनुको कारण खुलाए।
४२ वर्षीय नरसिंहले जनआन्दोलनको बेलादेखि, आफू र आफू आवद्ध पार्टीले जनताहरूलाई दिएको आश्वासन भुलेका छैनन्। ती आश्वासन आजसम्म पूरा गर्न पनि सकेका छैनन्। आफ्ना ठाउँको मानिसलाई 'काठमाडौं घुम्न जाने' भनेर प्रदर्शनमा सहभागी बनाउन ल्याउनु उनलाई नै चित्त बुझेको रहेनछ। तर, संविधान रक्षाका खातिर आफू प्रदर्शनमा सहभागी भएको सुनाउन भ्याए पनि। 'यस पटक हजारौं मानिसको बलिदानपछि बनेको संविधान जोगाउन आएका हौं,' उनले भने, 'संसद विघटन गलत कदम हो। यस्तो काम प्रचण्डले गरेको भए पनि विरोध जनाउँथ्यौं।'
नरसिंह प्रसाद काहार
१८ वर्षअघि हो, युद्धमा होमिएका थिए नरसिंह। ज्यानको बाजी थापेरै लडाकु बनेका थिए उनी। 'त्यस समय पार्टीले हरेक जात, धर्म, लिङ्ग र वर्गको मान्छे समेटेर समता र समानताका लागि काम गर्यो। शान्ति सम्झौतापछि हाम्रो लडाइको औचित्य पुष्टि भयो भन्ने सोचेका थियौं तर राजनीति र अर्कै हुँदोरहेछ,' उनले धीरेन्द्र थारुको ज्याकेट आफ्नो काँधमा राख्दै बोले। माओवादीले सामाजिक र राजनीतिक रूपान्तरणका लागि देखाएको जोशकै कारण उनी राजनीतिमा होमिएका थिए।
अहिले माओवादी पार्टीको रुपमा नाम निशान बाँकी छैन। तर, माओवादीको नारा जसबाट सुने उनीहरूको व्यवहार चाहिँ एकरत्ती चित्त बुझेको रहेनछ।
'वर्षौ पार्टी र गणतन्त्र भनेर युद्धमा खटिएकाहरूलाई छोडेर युद्धमा कुनै भूमिका निर्वाह नगरेका जनमोर्चाका नेता नारायणकाजी श्रेष्ठ लगायतलाई माथि उचालियो,' उनले गुनासो गर्न पनि भ्याइहाले। उनले यसो भनेको केही समयपछि नै नारायणकाजीले मञ्चमा भाषण गरिरहेका थिए।
जनयुद्धको धङधङीले उनलाई अहिले पनि झस्काउँछ। 'पहिले जसलाई गाउँगाउँबाट लखेटियो उनीहरूलाई नै सर भन्नुपर्ने दिन आयो,' गुनासोको पोको खोले उनले, 'आफूभन्दा तल्लो तहकाहरू जिल्ला र केन्द्रीय तहमा पुगे। चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकारियो।'
२०७४ को फागुनमा भएको पार्टी एकीकरणबाट पनि त्यस्तै असन्तुष्टि चुलियो उनीजस्ता जनस्तरका नेताहरुमा।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकीकरणले माओवादको सिद्धान्त र युद्धको उद्देश्यमै धक्का पुगेको महसुस गरेका रहेछन्।
'त्यो पनि स्वीकारेर अघि बढ्यौं। जनताको हित र देशको विकासका लागि हो भन्ने सोच्यौं। बल्ल मिलेर काम गर्ने वातावरण बन्दै थियो। विकास र परिवर्तनले गति लिँदै थियो। स्थानीय तहको आवश्यकता र क्षमता अनुरुप काम हुँदै थियो। त्यस्तैबिच प्रतिनिधिसभा नै विघटन रे! कसरी स्वीकार्नु?,' असन्तुष्टि बिच नै उनले प्रश्न गरे।
राजनीतिक स्वार्थले देशलाई अस्थिर मोडमा ल्याएर उभ्याएको र जनताको प्रतिनिधि बनेर स्थानीय तहमा काम गरिरहेकाहरूलाई कमजोर महसुस गराइएको उनको तर्क छ। नरसिंह नेकपाका जिल्ला सदस्य समेत हुन्।
संघीयता आएपछि आफ्नो ठाउँबाट आफ्ना मान्छेको लागि काम गर्न पाएको थप जिम्मेवार महसुस गराएको रहेछ उनलाई। तर, चुनाव अघि दिएको वचन पूरा गर्नुअघि राजनीति कता रङबङ्गियो कता? आज सडकमा आउने परिस्थिति त्यसैको उपज थियो।
प्रतिगमनविरुद्धको आन्दोलन भन्दै आएका उनी आफ्ना गुनासा नै व्यक्त गरिरहेका थिए। अघि बढ्दै जाँदा कुरा सुनिरहेका अर्का सहभागी पनि बोले – संविधान त जनताको मुखमा हालिएको बुजो मात्र थियो। देख्नु भएन? स्वार्थ बाझिने बित्तिकै जनतालाई नै मारमा पारेका?
उनको आवाज केही चर्को सुनियो। नरसिंह अलमलमा परे तर सहमति जनाएनन्।
निलो ज्याकेट, खैरो पाइन्ट र खैरो टोपी लगाएका ती मानिस रोकिएनन्, 'हामीलाई लडाएर सत्तामा पुग्नेहरूको रमिता हेर्न आएको म त। आज उनीहरू आफैँ लड्दैछन्।'
यसरी बोलिरहने व्यक्ति रहेछन्, रामेछापका मोहनबहादुर मगर। ५१ वर्षीय उनले आफू नेपाली सेनाका अवकाशप्राप्त सुरक्षाकर्मी रहेको सुनाए। उनीसँग पनि द्वन्द्वकालमा लड्नुको अनुभव रहेछ।
जतिखेर उनी राज्यका लागि लडिरहेका थिए, उनीमाथि आरोप लाग्थ्यो - राजाको पक्षमा लड्यो। तर उनले देखेका छन्, आज तिनै आरोप लगाउने नेताहरुको राजकीय जीवन। 'जनतालाई दु:ख दिएर आफ्नो माना भर्दैछन्। हामीलाई यिनीहरूको स्वार्थको लागि हो यसरी सडकमा उभ्याउने,' उनले भने।
सेनाको जागिर उनका लागि मासिक मिल्ने पेन्सनको स्रोत बनेको छ। तर, आजको राजनीतिक अस्थिरताले त्यही रकम पनि धरापमा पार्दै लगेकोमा चिन्तित थिए उनी। आफ्ना कुरा चर्को स्वरमा राखिरहेका उनले नरसिंह प्रसादलाई सम्झाउँदै भने, 'अब यस्ता आन्दोलन जनताको लागि भनेर नपत्याउनुस् भाइ। सबैले आफ्नो लागि गर्नुपर्ने रहेछ। पार्टीको लागि होइन।'
यता नरसिंह भने अझै आशावादी नै सुनिए। सडकमा नउत्रिए आवाज झनै दबिने र आवाज दबिँदा शक्तिमा हुनेहरूलाई स्वार्थ अनुरुप संविधान मिच्न सहज हुने बुझाइ रहेछ उनको।
'हामी छौं है भन्ने देखाउन पनि यो प्रदर्शनमा आउन आवश्यक थियो,' उनले भने। प्रतापपुर गाउँपालिकाबाट ८ वटा र आफ्नो वडाबाट मात्र २ गाडीभरी प्रदर्शनकारी आएको उनले सुनाए।
यतिन्जेल ठूलो जमातले टुँडिखेल बाहिरको सडक घेरिसकेको थियो। र्यालीमा मिसिएर आएका थिए नरसिंहको वडाका किशोर किशोरीदेखि वृद्धवृद्धासम्म। 'तिर्खा लागेको छ?,' हामीबाट छुट्टिएर सोध्दै उनी पनि त्यही हुलतिर मिसिए।