PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन

भिजिट भिसामा '४० वर्ष' नियमको विरोध गर्दै अध्यागमन विभाग बाहिर प्रदर्शन


काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउने तयारी गरेको छ।

विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै ४० वर्ष भन्दा कम उमेरका महिलाले भिजिट भिसामा पहिलोपटक विदेश जाँदा परिवार र वडाको सिफारिस लिनुपर्ने नियम ल्याउन आँटेको भन्दै महिला अभियन्ताहरुले आज अध्यागमन विभाग बाहिर प्रदर्शन गरेका छन्।

विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत गरेमा महिलाहरूलाई भिजिट भिसामा विदेश जान थप कागजत्र पेश गर्नुपर्ने हुन्छ। ४० वर्षभन्दा कम उमेरका महिलाहरूले भिजिट भिसामा विदेश जाँदा परिवारको स्वीकृति र वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था प्रस्तावित कार्यविधिमा उल्लेख छ।

विभाग बाहिर प्रदर्शनमा उत्रेका महिलाहरुले संवैधानिक अधिकारको रक्षा गर्न र अध्यागनले ल्याउन लागेको नियम फिर्ता लिन माग गरेका थिए।

यता, विभागले यो नियम खाडी र अफ्रिकी जोखिमयुक्त मुलुकमा जाने महिलाहरूका लागि मात्रै लागू हुने जनाएको छ। पटकपटक विदेश गइरहेका महिलामा यो नियम लागू हुनेछैन। त्यस्तै, पढेलेखेका महिलामा पनि यो नियम खासै लागू नहुने बताइएको छ।

भिजिट भिसामा विदेश जाने महिला पुरुषको लागि यसअघि टू वे टिकट, होटेल बुकिङ लगायतका कागजपत्र देखाउनुपर्थ्यो। त्यस्तै एक हजार डलर समेत साथमा बोकेर जानुपर्ने थियो। तर, अहिलेको नयाँ संशोधनमा पुरुषको हकमा १५ लाख रुपैयाँसम्मको बिमा अनिवार्य गरिएको छ।

त्यस्तै, साथमा बोक्ने हजार डलरको सटही रसिद समेत देखाउनु पर्ने भएको छ। पहिले डलर सटही गरेको छाप पासपोर्टमा लगाएको भए पुग्थ्यो।

'परिवारको स्वीकृति महिलाका लागि मात्र हो। १५ लाखको बिमा र सटहीको रसिद भने पुरुषको हकमा पनि लागू हो,' महानिर्देशक केसीले भने।



ट्रेन्डिङ पोस्ट

Ncell