PahiloPost

Mar 3, 2021 | १९ फागुन २०७७

सत्ताको ´इगो हर्ट´ हुँदाको परिणाम [सम्पादकीय]



सत्ताको ´इगो हर्ट´ हुँदाको परिणाम [सम्पादकीय]

नेपाल कम्युनिस्ट पार्टीकी युवा नेता रामकुमारी झाँक्रीलाई शंखमुलस्थित निवासबाट पक्राउ, त्यसको चर्को विरोध अनि दवावकै बिच रिहा। बिहीवार दिनभर नाटकीय घटनाक्रमहरु जारी रह्यो। उनी एकजनालाई पक्राउका लागि प्रहरीको जति ठूलो जत्था पठाइयो, उनका पक्षमा उभिनेहरु त्यसको कैयौं गुना धेरै रहे। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभद्र टिप्पणी गरेको आरोपमा राज्यविरुद्धको कसुर लगाउने तयारीसहित उनलाई नियन्त्रणमा लिइयो। प्रतिनिधिसभा विघटनसँगै तातेको राजनीतिको भोल्टेज झाँक्री पक्राउ परेसँगै झनै बढ्यो। यसको ठीक एकदिन अघि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आयोजना गरेको आमसभाको मञ्चमा नेता झाँक्री जुन अवतारमा प्रकट भइन्, त्यो नाटकीय थियो तर झस्काउने र बलियो बिम्बसहितको। मुखमा टाँसिएको टेप उनले जसरी फ्याँक्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रामक रुपमा प्रस्तुत भइन् त्यो न ओलीका लागि प्रितिकर हुनसक्थ्यो न भण्डारीका लागि नै। त्यसको सगोलको जवाफ थियो, उनको गिरफ्तारी।

केही अघि झाँक्रीले गोरखामा राष्ट्रपति भण्डारीलाई बडामहारानीको संज्ञा दिँदै शीतल निवास छोडेर निर्वाचनमा लड्न आउन चुनौती दिएकी थिइन्। झाँक्रीले त्यो कार्यक्रमा राष्ट्रपतिलाई चुनाव लड्ने भए शीतल निवास छोडेर कोटेश्वर वा बालकोट जान भनेकी थिइन्। उनले राष्ट्रपति भण्डारीमाथि गरेका टिप्पणीहरुमध्ये निकै कठोर थिए। उनले ती शब्दहरु प्रयोग नगरेको भए पनि हुन्थ्यो। तर, प्रधानमन्त्रीका हरेक कदमलाई कुनै परामर्शविना नै लालमोहर लगाउने राष्ट्रपति भण्डारी, लहडकै भरमा प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको शैलीका सामुन्ने झाँक्रीका अभिव्यक्तिको मूल्य त्यति गहन होइन जति बनाइयो। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘इगो हर्ट’ हुँदा के हुन्छ त्यसको सप्रसंग व्याख्या थियो हिजोको घटना।

झाँक्रीलाई नियन्त्रणमा लिन प्रहरीमाथि करिब १० दिन अघि देखि नै प्रेसर थियो। प्रहरीले बुझेको थियो, यो राजनीतिक मुद्दा हुनेछ। यसको सूचना झाँक्रीसम्म पनि थियो। त्यसैको असर हो उनले सभागृह अगाडि अभिव्यक्ति स्वतन्त्रताको विषयलाई सांकेतिक हिसाबले प्रस्तुत गरिन्। जनमत उनको पक्षमा ढल्कियो। प्रहरीले पक्राउ गर्ने र उनीमाथि राजद्रोहको मुद्दा लगाउने विषय प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न खडा गर्‍यो। अनि ओलीविरुद्ध यसअघि कहिल्यै नसुनिएका नारा लाग्न थाल्यो। राजनीतिक प्रतिशोध साँध्न सत्ताले एउटा सामान्य नेतामाथि कतिसम्म ज्यादती गर्न सक्छ भन्ने बुझेका कार्यकर्ता प्रतिकारमा उत्रिए। दवाव थेग्न नसक्ने देखिएपछि रामकुमारी झाँक्रीलाई जसरी पक्राउ गरियो, त्यसैगरी रिहा पनि। प्रधानमन्त्री ओलीको इगो उनकै लागि एकाएक प्रत्युत्पादक बन्न पुग्यो। आफूविरुद्ध जारी आन्दोलनमा प्रधानमन्त्री ओली आफैँले घ्यू थपे।

झाँक्रीका अभिव्यक्तिमाथि बहस जारी छ। उनले बोलेका विषयलाई लिएर उनको आलोचना गर्नेहरु पनि उत्तिकै छन्। तर, हिजोको घटनाले रामकुमारीका अभिव्यक्तिप्रति आलोचना गर्नेहरु घटेका छन्। उनका समर्थक बढेका छन्। त्यो समर्थन उनी आवद्ध राजनीतिक दलबाटमात्र होइन, सबै राजनीतिक दल र संगठनबाट उनलाई मिलेको छ। किनकि रामकुमारी झाँक्रीले राष्ट्रपतिमाथि दिएको अभिव्यक्ति राजनीतिक रुपमा बोल्नु गलत भए पनि महसुस चाहिँ सबैले गरेको विषय हो। अध्यादेश जारी र फिर्ताका प्रकरणहरु बारम्बार त्यसको साक्षी बनेका छन्।

राष्ट्रपति भण्डारीमाथि नेकपाको गुट संचालन गरिरहेको आरोप पहिला देखि नै लाग्दै नै आएको हो। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यो भूमिका सार्वजनिक भइरहेको पनि छ। तर, संस्थागत रुपमा राष्ट्रपति कार्यालयले ती आरोपहरुबारे मौनता साँध्दै आएको छ। भण्डारीले कोरोना कहरबिच प्रधानमन्त्री ओलीले ल्याएको दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हतारमै स्वीकृति गर्नु र मसी नसुक्दै त्यसलाई फिर्ता गर्दा आफ्नो पदीय मर्यादा त भुलिन् नै ओलीको आवेगपूर्ण निर्णयहरुमा लगातार साक्षी बस्ने काममात्र गरिन्। त्यसकै उपक्रम हो, प्रतिनिधिसभा विघटनको सिफारिस हुने बित्तिकै राष्ट्रपतिले त्यसलाई बिना कुनै सल्लाह स्वीकृत गर्नु। सिंगो देशको राष्ट्रपति हुनुपर्ने पदमा रहेर उनी नेकपाको एउटा गुटसँगमात्र नजिक रहिन्। भीम रावल लगायतका नेता राष्ट्रपतिकहाँ भेट्न जाँदा उनले समय दिइनन्। झाँक्रीका अभिव्यक्ति यिनै सेरोफेरोलाई लिएर बाहिरियो। झाँक्रीले गरेजस्तै राष्ट्रपति भण्डारीको गुटगत राजनीतिक सक्रियताको चर्चा सडक आन्दोलनदेखि चिया पसलसम्म चलिरहेकै छ। राष्ट्रपतिविरुद्ध बोल्नै नपाइने भन्दै जसरी झाँक्रीलाई समातियो त्यसले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धकै जनमत बलियो बनायो। ओलीप्रति सफ्ट कर्नर भएका युवापङ्ति पनि झाँक्रीको पक्षमा देखिए। झाँक्रीको लागि सडक तात्यो। प्रधानमन्त्री ओलीविरुद्ध थप निर्मम र निकृष्ट शब्दले नाराबाजी भयो।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिलाई स्थिरता भत्काए। यस विषयलाई लिएर सर्बोच्च अदालतबाट जस्तोसुकै फैसला आवस्, अस्थिरताको बिजारोपण भइसकेको छ। त्यसैको उपक्रम हो धरपकड र मुद्दा। पराजित मानसिकताको उदाहरण पनि हो यस्तो कदम। प्रधानमन्त्री र राष्ट्रपति दुवैको कद होचो बनाउनका लागि एउटा इँटा थप्ने काम सरकराले गरेको छ। यसले जनविश्वास गुमाउनेमात्र होइन, अहिलेको व्यवस्थाप्रति नै वितृष्णा फैलाउन योगदान पनि दिन्छ। त्यही वितृष्णा रोपेर पुन: अर्को प्रतिगमनका लागि बाटो ढुकेर बसेकाहरुका लागि यस्ता गतिविधिले हौस्याउने नै छ। झाँक्रीको पक्राउ र रिहाइ प्रकरण सरकारका लागि पाठ बनोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell