PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘गुमनाम आमाहरूको कथा’ पुस्तक अंश : यो ‘डाक्टर’ को घाँडो!



‘गुमनाम आमाहरूको कथा’ पुस्तक अंश : यो ‘डाक्टर’ को घाँडो!

  • डा बाबुराम भट्टराई-

स्कुलमा पढुन्जेल प्रत्येक छुट्टीको दिन गाईभैँसी गोठालो हुन जान्थें। हाम्रो एउटा रिठ्ठु भन्ने गाई थियो। असाध्यै चोर! आँखा झिमिक्क भयो कि हामीलाई छलेर ऊ खेतबारीमा पसिहाल्थ्यो। त्यसैले हामी केटाकेटी गोठालोलाई सजिलो परोस् भनेर बाले प्रत्येक दिन उसको घाँटीमा घाँडो झुन्ड्याइदिनुहुन्थ्यो। अनि बल्ल हामी उसलाई नियन्त्रण गर्न सकेर दङ्ग पर्थ्यौं।

स्कुल छाडेको आज २०/२१ वर्ष भइसकेछ। तर अहिले आफ्नो नामको अगाडि झुन्डिएको 'डाक्टर' को घाँडोले मलाई त्यो चोर रिठ्ठु गाईको सम्झना दिइरहेछ। पिएचडी गर्दाखेरि नै आफूमा विकसित प्रगतिशील चेतनाका कारण मैले भविष्यमा आफ्नो नामको अगाडि 'डा' नझुन्ड्याउने अठोट गरेको थिएँ। किनकि त्यसमा कताकता बुर्जुवा आडम्बर र आत्मप्रदर्शनको गन्ध आउँथ्यो। फेरि कार्ल मार्क्सजस्ता महापुरूषले पनि कहिल्यै आफ्नो नामको अगाडि त्यो थोत्रो 'डा.' झुन्ड्याउनु आवश्यक ठानेनन्। त्यसैले पिएचडी पूरा गरेको एक वर्ष जति मैले पनि 'डा.' झुन्ड्याइनँ।

तर आजको साँघुरिँदै गएको र अत्यन्तै प्रतिस्पर्धात्मक हुँदै गएको संसारमा एउटै नामका धेरै मान्छे भइदिनाले कसैको परिचय स्थापना गर्न पनि ज्यादै कठिन हुन थालेछ। एउटै नाम, एउटै थर र एउटै पेसाका एक जनाभन्दा बढी मानिस भएपछि झन् मुस्किल पर्दो रहेछ। इन्जिनियरिङ क्याम्पस पुल्चोकमा पढाउने मेरो जस्तो इन्जिनियरिङ पेसा (तर उहाँ सिभिल, म आर्किटेक्चर) का अर्का बाबुराम भट्टराई हुनुहुन्छ। त्यसैले मलाई चिन्ने कतिपय मित्र ती इन्जिनियरिङ क्याम्पसमा पढाउने बाबुराम भट्टराई मै नै हुँ भन्ने ठान्नुहुँदो रहेछ। अरु त अरु प्रधानमन्त्री किसुनजी समेत प्रत्येक चोटि मसँग भेट हुँदा तपाईं इन्जिनियरिङ क्याम्पसमै हुनुहुन्छ, होइन त भनेर सोध्नुहुन्छ।

एक पटक ती समनामी मित्र नेपाल प्राध्यापक सङ्घको केन्द्रीय उपसचिवमा उठ्नुभएको थियो। मेरा कतिपय मित्रले 'तपाईंलाई भोट दिएका छौं' भनेर मलाई चिठी लेख्नुभयो। 'घिउ कहाँ पोखियो, आफ्नै भागमा' भनेझैं हामी दुवैको राजनीतिक चिन्तन मिल्ने हुनाले त्यसबाट केही नोक्सान परेन। अर्को चोटि भने उहाँ मोटर दुर्घटनामा परेर घाइते हुनभएछ, केही दिनपछि हाम्री आमा पो रूँदै, कराउँदै 'घाइते' छोरालाई भेट्न गाउँबाट आइपुग्नुभयो।

बुटवलमा अर्का पत्रकार बाबुराम भट्टराई हुनुहुँदो रहेछ। उहाँले पत्रिकामा लेख्दा मलाई स्याबासी वा गाली आउने र मैले पत्रिकामा लेख्दा उहाँलाई स्याबासी र गाली आउने भएर हैरान। त्यस्तै एक जना कवि बाबुराम भट्टराई पनि हुनुहुँदो रहेछ। मेरै बहिनीले एक दिन 'दाइको कविताको किताब किनेर ल्याएँ' भन्दा पो म झसङ्ग भएँ। स्कुलमा छ-सात कक्षामा पढ्दा एक चोटि एउटा बेढङ्गे कविता भनौदो कुन्नि के जातिको समारोहमा पढेर सुनाउनुबाहेक मैले आजसम्म कुनै कविता लेखेको छैन।

यस्तो परिचयको समस्या परेर मलाई साथीहरुले आफ्नो नामका अगाडि 'डा.' झुन्ड्याउने सल्लाह दिनुभयो। भोलि अर्को कुनै बाबुराम भट्टराईले पिएचडी नै गरेर अथवा बिहारतिरबाट एउटा छ महिने कम्पाउन्डरीको कोर्स गरेर नामअगाडि 'डा.' झुन्ड्याइदियो भने फेरि फसाद पर्न सक्छ भन्ने जान्दाजान्दै मैले आखिर आफ्नो नाम अगाडि 'डा. ' झुन्ड्याउन थालें।

तर त्यस दिनदेखि मलाई अर्को समस्या थपिएको छ। एकातिर साथीहरुले अनायासै बोलाउने 'डाक्साहेब'को सम्बोधनले बारम्बार आफ्नो प्रगतिवादी चेतनालाई चिमोटेर आत्मग्लानिले पीडित गराइरहन्छ भने अर्कोतिर यो 'डाक्टर'को घाँडो केही निहित स्वार्थीहरुले मलाई बेलाबखतमा कुट्ने सजिलो हतियार पनि भएको छ। अरु कुरो केही नभेट्टाएपछि केही व्यक्ति 'ठूलो डिग्रीवाला', 'बुद्धिजीवी' हुनुलाई नै ठूलो अभिशापका रुपमा तेर्साएर आफ्नो दुनो सोझ्याउन खोज्दा रहेछन्। आफैं लुकिछिपी बिहार र युपीका तेस्रो दर्जाको विश्वविद्यालयबाट डिग्री बटुल्न खोज्नेहरुले अरुको डिग्रीमा मात्रै 'बुर्जुवापन' देख्नु कत्तिको जायज होला! कुनै पनि डिग्री आफैंमा न अभिशाप हो न क्रान्तिकारीताको गेटपास नै भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी चिन्तन पद्धति अँगाल्ने जोसुकैले पनि नबुझेको कसरी हुन सक्छ र?

मार्क्सलाई पिएचडीको डिग्री र लेनिनलाई 'फस्ट क्लास फस्ट'को आभूषणले मात्रै न त क्रान्तिकारी नै बनाएको हो, न क्रान्तिकारी हुनबाट नै रोकेको हो भन्ने माक्र्स र लेनिनका अनुयायीहरुले त राम्ररी नै बुझ्नुपर्ने हो कि? येनकेन डिग्री हासिल गरेर आडम्बर प्रदर्शन गुर्न जति अनुचित हो, 'क्रान्तिकारी'ले पढ्नु नै आवश्यक छैन भनेर आजको यति जटिल वैज्ञानिक युगका परिवर्तनकामी योद्धाहरुलाई ज्ञानको महत्वपूर्ण हतियारबाट वञ्चित गर्नु उति नै खतरनाक एवम् हानिकारक हो कि?

जेहोस्, यो 'डाक्टर'को घाँडोले मलाई भने निकै पिरोलिरहेछ। यसबाट छुटकारा पाउने उपाय कसैले बताइदिनुहुन्थ्यो कि ?

०४७ असोज ८  

(पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईको कृति ‘गुमनाम आमाहरूको कथा’ फाइन प्रिन्टले प्रकाशन गरेको हो। पुस्तक शनिबार सार्वजनिक हुँदैछ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell