PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'मानसिक स्वास्थ्यप्रति मानिसहरु सचेत छैनन्'



'मानसिक स्वास्थ्यप्रति मानिसहरु सचेत छैनन्'

  • डा.रितेश थापा-

तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा कालान्तरमा मानसिक समस्या  निम्तिन सक्छ। यस्तो समस्या जुनसुकै उमेर, वर्ग, समुदाय र क्षेत्रका मानिसमा हुनसक्छ।

चैतमा देश लकडाउनमा गयो। सबै क्षेत्र ठप्प भए। धेरै मानिस घरभित्र थुनिए। दैनिक चलायमान जीवन नै रोकिएका कारण धेरै मानिसहरु मानसिक समस्याको शिकार बन्न पुगेको देखिन्छ।

सामान्य अवस्थामा भन्दा कोभिड१९ को समयमा मानसिक समस्याका बिरामीहरु बढेको देखियो। कतिपयले यसलाई महसुस गरेर मनोपरामर्शदातासम्म पुगे। कतिपयले अनुभूति नै गरेनन् वा सामान्य रुपमा लिए। कतिले त्यसलाई नजिकबाट बुझ्न नसक्दा समस्याहरु जटिल बन्दै गए।

तर मानसिक रोग र समस्या बारेमा मानिसबीच धेरै भ्रम रहेको छ।

मानसिक रोग

व्यक्तिको सोच्ने, तर्क वितर्क गर्ने, उत्पादनशील कार्य गर्न सक्ने बौद्धिक क्षमतामा आएको परिवर्तनले स्वयं व्यक्ति, परिवार र समाजलाई असर गर्न थालेमा मानसिक रोग भएको बुझ्नुपर्छ।

मानसिक समस्याका कारण व्यक्तिको मनमा उठेका भावनाहरुलाई नियन्त्रण गर्ने, सम्झना शक्ति र कुनै पनि निर्णयमा सही वा गलत छुट्याउन सक्ने क्षमतामा असर हुन्छ।

त्यस्तै सम्बन्ध विस्तार, निरन्तर र व्यवस्थापन, शरीरलाई नियन्त्रण गर्न सक्ने जस्ता क्षमताहरुमा ह्रास आउँछ। जुन पारिवारिक वातावरण, खानपान, दिमागमा चोटपटक जस्ता विभिन्न कारणले यस्ता असरहरु देखिन सक्छन्।

त्यसो त पागलपन मात्र मानसिक रोग नभइ एक किसिमको मानसिक समस्या हो भन्ने बुझ्न जरुरी छ। जसलाई मानसिक असन्तुलन भनिन्छ।

मानिसहरु विभिन्न कारणले सामान्य हेड्याकदेखि सिजोफ्रेनिया जस्ता कडा प्रकारका मानसिक समस्या वा मनोरोगको शिकार बन्न पुगेका हुन्छन्। समाजमा यसप्रतिको चेतनाका कमी वा भ्रमले गर्दा सडकमै निस्किएका, पागलपन भएका, अभद्र व्यवहार देखाउने, चिच्याउने, कराउने, राती नसुत्ने जस्ता व्यक्ति मात्रै मानसिक रोगी हुन् भन्ने गलत धारणा भएको पाइन्छ।

डिमेन्सिया : वास्तवमा मानिसको उमेर बढेसँगै मस्तिष्कका सेल्सहरु सुक्ने र मर्दै जान्छन्। जसले मानिसको बिर्सने बानी बढ्दै जान्छ। जसलाई डिमेन्सिया भएको मानिन्छ। यसो भएमा मानिसलाई 'न्यूरो साइक्र्याटिक्स' भएको हो भन्ने बुझ्नुपर्छ।

डिप्रेसन : व्यक्तिको जीवनमा कुनै घटनाका कारण उदासपन देखिएमा परिवार समाजले समान्य लिइदिने चलन छ। तर कालान्तरमा त्यही घटनाका कारण डिप्रेसनको शिकार पनि बन्न पुगेको देखिन्छ। जसको प्रत्यक्ष असर मस्तिष्कले भावनामा परिवर्तन गर्दछ र शारिरिक कार्यमा असर पुर्याउने हुँदा मनमस्तिष्क अनिन्त्रित भइदिन्छ।

यसैगरी सिजोफ्रेनिया, साइकोसीस लगायत सयभन्दा बढी किसिमका मानसिक समस्याहरु छन्। तर,शुरुवातमा डिप्रेसन हुन्छ अनि त्यही पछिल्लो रुपमा मानसिक असन्तुलनको अवस्थामा पुग्छ भन्ने भ्रम देखिन्छ। जुन सत्य होइन।

किनकी मानसिक असन्तुलन र डिप्रेसन भनेका फरक किसिमका मानसिक समस्या हुन्। दुवैलाई एउटै भाँडामा राख्न मिल्दैन। जसरी निमोनिया र क्षयरोगबीच फरक पाइन्छ। जसको उपचार पद्धति केही समान हुन्छन् भने केही फरक।

मनोरोगका लक्षण

भ्रामक विश्वास : कडा प्रकारका मानसिक रोगको शिकार भएकाहरुमा भ्रामक विश्वास बढी पाइन्छ। मानसिक सन्तुलन गुमाएका मनोरोगीमा यथार्थमा नभएको वा अरु कसैले नसुन्ने, नदेख्ने, आभाष गर्न नसकिने तर त्यो व्यक्तिले मात्र महसुस गर्ने र सोही अनुरुप प्रतिक्रिया जनाउने गर्दछन्।

कसैले मलाई मार्नका लागि खानामा विष मिसाएको छ। मेरो सन्तान, परिवार वा विजनेसमाथि कसैले हमला गर्न लागेको छ। कसैले सामाजिक सञ्जाल, पत्रपत्रिकामा मेरो बारे लेख्लान्, मलाई पिछा गरिरहेका छन्। मेरै विरोधमा सबै छन् जस्ता भ्रम विश्वासमा परिणत भइ मनो रोगीले सोही किसिमका प्रतिक्रिया देखाउँछन्।

मिथ्याभास/ह्यालुसेनेसन: मानसिक रोगको अर्को गम्भीर प्रकृतिको लक्षण हो मिथ्याभाष। यस प्रकारको मानसिक असन्तुलनमा अलि भिन्न रुप देखिन्छ। जसमा अरु कसैले सुन्न, देख्न, र आभाष गर्न नसकिने तर त्यो व्यक्तिले मात्र महसुस गर्ने हुन्छ। जुन यथार्थ हुँदैन।

यस्ता प्रकारका मनोरोगको लक्षणमा मानसिक असन्तुलन भएका व्यक्तिका वरपर कोही नहुँदा र कोही नबोलेपनि मान्छेको आवाज गुन्जिएको महसुस हुन्छ। कसैले आदेश दिएजस्तो आभाष हुन्छ र व्यक्तिले सोही अनुसारको प्रतिक्रिया देखाउन थाल्छन्।

जस्तै,

  • कोठाबाट बाहिर ननिस्किने
  • कहिले धेरै बोल्ने त कहिले नबोल्ने
  • तँ झ्यालबाट फाल हान्दे भनेर कसैको आदेश पालना गरेझै फाल हान्ने
  • बीच सडकमा हिँड्ने
  • चिच्याहट निकाल्ने

अर्थात् जसरी एक स्वस्थ्य व्यक्तिलाई दोस्रो व्यक्तिले गरेको आदेशमा प्रतिकृया गरे जस्तै देखिन्छ।

कारणहरु

वंशाणुगत : मानसिक समस्याका कारणहरुमध्ये एक हो वंशाणुगत। अघिल्लो पुस्तामा भएको मानसिक समस्याका कारण पछिल्लो पुस्तामा पनि त्यही समस्या दोहोरिनुले पनि वंशाणुगत कारण हुनु हो। यसमा हजुरबा हजुरआमामा भएको मानसिक समस्या छोराछोरीमा नभइ नातीनातिनीमा देखिन पनि सक्छ।

त्यस्तै बच्चा गर्भमा रहँदा आमाले सामना गर्नुपरेको अवस्था र सम्बन्ध बिच्छेद, बसाइसराइ, आफन्तको मृत्यु, जस्ता कुनै घटनाले पनि प्रभाव पार्न सक्छ। त्यस्तै, दीर्घकालीन रोगबाट ग्रस्त, अपहेलना, लैंगिक, जातीय, धार्मिक भेदभाव र मानसिक तनावका अस्थाहरु झेल्नुपर्दा त्यसले पनि व्यक्तिमा मानसिक समस्या उत्पन्न हुन्छ।

व्यक्तिको व्यक्तित्व : मानसिक रोगको अर्को कारण हो व्यक्तित्व। जस अन्तर्गत उसको बाल्यावस्थाको हुर्काइ, वातावरीय, पारिवारिक, सामाजिक, आर्थिक शैक्षिक विकास पर्न सक्छ। त्यस्तै अधिकांशमा बाल्यावस्थामा कुनै न कुनै प्रकारको अप्रिय घटनाबाट गुज्रिएको अवस्था पर्दछ।

अहिलेको अवस्थामा बढ्दो यौन दुर्व्यवहार, लागुऔषधको प्रयोग। दीर्घकालिन रोगबाट ग्रसित भएकाले बाँचुन्जेल औषधी खानुपर्ने चिन्तामा रहनु पनि मानसिक समस्याको एक कारण मान्न सकिन्छ।

प्राकृतिक प्रकोप तथा महामारी : व्यक्तिको कल्पनाभन्दा बाहिरको घटना पनि मानसिक समस्याको एक कारण हो। उदाहरणका लागि २०७२ सालको भूकम्प, विश्वव्यापी पाण्डेमिकको रुपमा फैलिएको कोरोना भाइरस जस्ता प्राकृतिक प्रकोप र महामारीले पुर्‍याएको क्षतिका कारण पनि मानिसहरु मानसिक समस्याको शिकार बन्न पुग्छन्।

यी र यस्ता विभिन्न कारणले गर्दा मानसिक सन्तुलनमा उतारचढाव आउने भएको हुँदा मनोरोगको कारण कुनै ठोस रुपमा प्रमाणित गर्न सकिँदैन। तर सम्भावित कारण र कारक तत्वहरु भने देखा पर्न सक्छन्। जुन पहिलेदेखि जोखिममा रहेको तर तत्काल कुनै घटना घट्न पुगि त्यसको व्यवस्थापन गर्न नसक्दा मानसिक असन्तुलनसम्मको अवस्थामा व्यक्ति पुग्न सक्छन।

उपचार

मनोपरामर्श : परामर्श मानसिक समस्याका व्यक्तिहरुका लागि एक उपचार पद्धति मात्र हो। तर अधिकांश मानिसहरु जुनसुकै प्रकारका मानसिक समस्यामा पनि उपचारका नाममा परामर्श मात्र लिने, औषधी नखाने भन्ने भाव व्यक्त गर्छन्। मनोपरामर्शसँगै उसको मानसिक समस्याको अवस्था र प्रकार हेरेर उपचार गर्नुपर्ने हुन्छ। त्यसैले यो नै पूर्ण उपचार हुन सक्दैन।

जसरी व्यक्तिको शरिरमा लागेका कुनैपनि रोग एउटै औषधीले मात्र ठीक हुदैन। त्यसरी नै मानसिक समस्याका लागि पनि आवश्यकता हेरेर मनोरोग विशेषज्ञको सल्लाह बमोजिम उसैको निगरानीमा उपचार पद्धति अपनाउनुपर्छ। कतिपय अवस्थामा अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने हुन्छ।

औषधीको प्रयोग : डिप्रेसनमा ६ देखि ९ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्छ। एन्जाइटीमा ६ देखि एक वर्षसम्म। मानसिक असन्तुलन भएका व्यक्तिले राम्रो पारिवारिक वातावरणमा रही नियमित रुपमा करिब दुई वर्ष औषधी सेवन गरे ठीक हुनसक्छ। तर यदि बीचमा औषधी छुट्यो, पारिवारिक वातावरण सहज भएन, समस्या बारम्बार दोहोरिएमा जीवनभर औषधी सेवन गर्नुपर्ने हुनसक्छ।

मानसिक समस्याको उपचारका क्रममा औषधी सेवन गर्ने मात्र नभइ रोगको कारण पत्ता लगाएर परिवारका सदस्यलाई पनि उपचारमा संलग्न गराउनु पर्छ। 

इसीटी : उपचार पद्धतीमै अपनाइने इसीटी (­इलेक्ट्रिक कम्पेन्शेशन थेरापी) दिमागमा करेन्ट लगाउनु हो। यदि मनोरोगी अत्यन्तै आक्रामक भएमा, औषधीले उसको व्यवहारमा परिवर्तन नहुँदा, मनोपरामर्श र औषधी उपचारले मस्तिष्कमा भएको रसायनहरुलाई सामान्य अवस्थामा ल्याउन नसकेको अस्थामा, छिटो प्रतिक्रिया दिनको लागि इलेक्ट्रिक मेशिनले करेन्ट लगाउने गरिन्छ।

यस पद्धतिमा मनोरगीहरुको उपचारमा कुनै जबर्जस्ती भन्दापनि मेसिनबाट उसको मस्तिष्क स्वास्थ्य परीक्षण गरिन्छ। जसको लागि आफ्नै नियमहरु छन्। जहाँ व्यक्तिलाई सम्झाइ बुझाइ आवश्यकता अनुसार भोको पेट राखेर औषधीको मात्रा मिलाएर मात्र करेन्ट लगाइन्छ।

तर, दक्षिण एसीयामा भने जबर्जस्ती करेन्ट लगाइएको दृश्य फिल्मका पर्दाहरुमा देखाइने हुँदा करेन्ट लगायो भने झन् दिमाग बिग्रियो भन्ने जनमानसमा गलत धारणा छ।

आरटीएम्एस : मानसिक समस्याका लागि हालसम्मकै सबैभन्दा उच्च प्रभावकारीको उपचार पद्धति भनेको आरटीएम्एस (रिपिटेटीभ ट्रान्सक्रानियल म्याग्नेटीक स्टीमुलेशन) हो। जुन सहज र सरल किसिमबाट उपचार गरिने पद्धति हो।

डिप्रेसन, अव्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) जस्ता मानसिक समस्या भएकाहरुमा बारम्बार एउटै सोचाइ आइराख्ने हुनसक्छ। उनीहरु कुनै काम दोहोर्‍याइरहेका हुन्छन्। सिजोफ्रेनियाका मनोरोगीका कानमा कुनै आवाज गुन्जीरहने हुन्छ। यस्ता प्रकारका मनोरोगीलाई औषधीले ठीक नगरेको अवस्थामा आरटीएमएस पद्धतिबाट पनि उपचार गराउन सकिन्छ। जुन नेपालमा पनि अभ्यास भइरहेको छ।

मानसिक समस्याप्रति चेतनाको कमी

शारीरिक स्वास्थ्यमा जति पनि उपचार खर्च व्यहोर्न तयार मानिसहरु मानसिक समस्याको उपचारका लागि हिच्किचाउने गरेको पाइन्छ। मानसिक समस्यामा परेको व्यक्ति, उसका परिवार वा आफन्तले सिजोफेनीया, साइकोसीस जस्ता कडा प्रकारका मानसिक समस्याको शिकार भइसक्दा पनि उपचार गर्न आनाकानी गर्छन्। यसबाट शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य उपचारमा खासै ध्यान नदिएको देखिन्छ।

त्यसो त सामाजिक हैसियत खस्कने डरले मानसिक समस्या भए पनि उपचारमा जान नसक्नु अर्को प्रमुख कारण देखिन्छ। आफ्नो इज्जत प्रतिष्ठामा आँच आउने डरले मनोपरमर्श तथा मानसिक अस्पतालसम्म पुग्न डराउनेहरु थुप्रै भेटिन्छन्। धार्मिक पूजापाठ गर्ने, धामी झाँक्रीमा विश्वास गर्ने, यूवा अवस्थामा मानसिक समस्या देखिए विवाह गरे ठीक हुन्छ भनिदिने जस्ता सल्लाको पछि लाग्दा झन् समस्या निम्त्याउँछ।

जसकारण मानसिक समस्या बढ्दै गएपछि मानिस आत्महत्याको स्थितिमा पुग्ने गरेको घटनाहरु समेत देखिएका छन्। आत्महत्याको प्रयास गर्नु मनोरोगको उपज हो। ८५ देखि ९० प्रतिशत आत्महत्याको मुख्य कारण कुनै न कुनै प्रकारको मानसिक रोग हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएको छ।

व्यक्तिले त्यसअघि नै आफू कुनै न कुनै प्रकारको मानसिक तनावमा रहेको सूचना परिवार आफन्त र साथीभाइमा धेरै तरिकाबाट दिन खोजेको हुन्छ। तर त्यसलाई समयमै बुझ्न नसक्दा वा सामान्य लिँनाले परिणाम गलत भइ दुर्घटना निम्त्याउँछ।

पछिल्लो समयमा सूचनाको स्रोतसँग जोडिएका केही यूवाहरुमा भने मानसिक समस्यालाई लिएर सचेतता बढ्दो छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत वा स्वास्थ्य शिविरहरुबाट पनि यस सम्बन्धिका सूचना सम्प्रेषण भइरहेकै अवस्था छ। जुन सकारात्मक हो। तर, अझैपनि मानसिक समस्याप्रतिको सोचमा चेतनाको कमी देखिन्छ।

-डा. थापा मानसिक रोग विशेषज्ञ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell