रसुवा : नेपाली कांग्रेसका नेता एंव सांसद मोहन आचार्यले रसुवागढी नाका पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन्।
२८५७ औं सोनाम ल्होछारको अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड - १ रसुवाले आयोजना गरेको कार्यक्रममा आचार्यले रसुवागढी नाका लामो समयदेखि पूर्ण सञ्चालनमा आउन नसक्दा नेपाल र चीनबिचको व्यापारिक कारोवार प्रभावित भएको बताए। ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु किस्ता तिर्न नसकेर गाडी नै फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको भन्दै आचार्यले ४०० भन्दा बढी रसुवालि ड्राइभर र यससँग जोडिएका कैयो को रोजगारि खोसिएको उल्लेख गरे।
नाका खोल्न सम्बन्धित निकायहरुमा पटकपटक अनुरोध गर्दा पनि केही नलागेकोले सबैले आआफ्नो क्षेत्रबाट आवाज उठाउन उनको आग्रह थियो।
बागमती प्रदेश सभा सदस्य प्रेम तामाङले नाका सञ्चालनमा आउन नसक्दा व्यापारिहरु ठुलो मर्कामा परेको, ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारिले त आत्महत्या नै गरेको खबरले दुखी बनाएको बताए।
चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी नाका संचालनमा ल्याइएको भन्दै उनले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाए। यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उनको आरोप थियो।
गत वर्ष माघ १५ देखि नाका बन्द छ। सुरुमा ल्होसारका कारण बन्द भएको नाका पछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो।
जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइएको थियो। त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो। नियमित रुपमा नाका सञ्चालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो।
