PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

भारतीय गृहमन्त्री अमित शाह नेपाल र श्रीलंकामा भाजपा सरकार बनाउने योजनामा : त्रिपुराका मुख्यमन्त्री



भारतीय गृहमन्त्री अमित शाह नेपाल र श्रीलंकामा भाजपा सरकार बनाउने योजनामा : त्रिपुराका मुख्यमन्त्री
भारतीय गृहमन्त्री शाह र त्रिपुराका मुख्यमन्त्री देव । तस्विर : टेलिग्राफ इन्डिया

भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलंकामा भारतीय गृहमन्त्री अमित शाह भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने योजनामा रहेको बताएका छन्। 

पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देवले शाहले भारतका सबै प्रदेशमा भाजपा सरकार बनेपछि छिमेकी राष्ट्रहरुमा समेत भारतीय जनता पार्टी स्थापना गर्न र सरकार बनाउन बाँकी नै रहेको बताएको इस्ट मोजोलाई उद्धृत गर्दै द वायरले उल्लेख गरेको छ।  भारतका अन्य संचारमाध्यमले पनि  मुख्यमन्त्री देवको विवादस्पद अभिव्यक्तिबारे रिपोर्टिङ गरेका छन्।

'हामी स्टेट गेस्ट हाउसमा कुरा गर्दै थियौं। अजय जमवलले भाजपाले भारतका धेरै प्रदेशमा सरकार बनाएको बताए। उत्तरमा शाहले श्रीलंका र नेपाल बाँकी रहेको बताए। उनले त्यहाँ श्रीलंका र नेपाल बाँकी रहेको। त्यहाँ पार्टी विस्तार गरेर सरकार बनाउनुपर्ने बताए' देवले भनेका छन्।  

देवले भाजपालाई संसारकै ठूलो पार्टी बनाउन शाहको मुख्य भूमिका रहेको र आफूलाई ठूलो पार्टी भन्ने कम्युनिष्टहरु पराजित भएकोसमेत बताए। देवले भारतको केरलामा समेत भाजपा सरकार गठन गर्नेबारे आफूहरुले छलफल गरिरहेको बताएका छन्।

देवको यो भनाइ सार्वजनिक भएसँगै ‍भारतीय जनता पार्टी र नरेन्द्र मोदी सरकारमाथि दबाव बढेको छ। भारतीय कुटनीतिज्ञ र विपक्षी दलका नेता र पत्रकारहरुले देवको भनाइबाट स्पष्टीकरण मागिरहेका छन्। मुख्यमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे भाजपाको केन्द्रीय नेतृत्वले स्पष्टकरण दिनुपर्ने माग उठेको छ।

कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) का नेता जितेन्द्र चौधरीले मुख्यमन्त्री देवले संविधान र प्रजातन्त्र नै नबुझेको बताएका छन्। देवले भने जस्तै अमित शाहले नेपाल र श्रीलंकामा भाजपा विस्तार गरेर सरकार बनाउने योजना बनाएको भए त्यो विदेशी राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप हुने उनले बताएका छन्।

चौधरीले देवको माध्यमबाट गृहमन्त्री अमित शाहले नेपालको विरुद्ध सरकारमै बसेर षड्यन्त्र गरिरहेको पुष्टि भएको बताएका छन्। उनले देवको अभिव्यक्तिबारे भाजपाको केन्द्रीय नेतृत्वबाट नभइ प्रधानमन्त्री नरेन्द्र मोदीले समेत स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

त्रिपुरा काँग्रेसका उपाध्यक्ष तपस देले अमित शाहको अभिव्यक्ति 'उपनिवेश' प्रेरित भएको तर्क गरेका छन्। उनले नेपाल र भारतको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने समेत बताएका छन्।  

मुख्यमन्त्री देवले विवादास्पद अभिव्यक्तिका लागि चिनिन्छन्। केही महिनाअघि उनले पार्टिसनअघि श्रीलंका भारतको भाग रहेको बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell