PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संसद विघटनको कारण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, 'मैले गठबन्धन सरकारको नियति व्यहोर्नुपर्‍यो, सहकर्मीले विस्थापित नै गर्न खोजे'



संसद विघटनको कारण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, 'मैले गठबन्धन सरकारको नियति व्यहोर्नुपर्‍यो, सहकर्मीले विस्थापित नै गर्न खोजे'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जानुको विकल्प नभएको बताएका छन्। आफ्नो नेतृत्वको सरकार शुरु भएको तीन वर्ष पुरा भएको अवसरमा आज सिंहदरवारबाट सम्बोधन गर्दै प्रम ‌ओलीले यस्तो बताएका हुन्।

आफूले सरकार सञ्चालन गरेको एक हजार ९३ दिन भएको उल्लेख गर्दै ओलीले आफ्नो सरकारले गठबन्धनको सरकारलेजस्तै नियति व्यहोरेको गुनासो गरे।

'पछिल्लो एक वर्षदेखि झन्डै झन्डै दुई तिहाई संसदको समर्थन प्राप्त गठबन्धनको सरकारले जस्तै नियति व्यहोर्नुपर्‍यो,' ओलीले भने, 'आफ्नै खुट्टामा अल्झिए झैं काम गर्न नसक्ने अवस्था आयो।'

संवैधानिक निकायमा नियुक्ति रोक्नेदेखि संसदमासमेत विधेयकहरु रोकिएको प्रधानमन्त्रीको भनाई थियो। उनले भने, 'संवैधानिक निकायमा नियुक्ति नै हुन नदिने। संसदले सरकारलाई बिजनेस दिने हो। तर विधेयकहरु संसदमा फसाइरहेका छन्।'

त्यसैगरी प्रधानमन्त्रीले केही नियुक्ती प्रक्रिया अघि बढे आफ्नै दलभित्रबाट कचिंगल मच्चाउन खोजेको आरोप लगाए। 'राजदूत खाली छन् नियुक्ती गर्न दिइँदैन। संवैधानिक अंगमा कसैको सिफारिस भइहाले कचिंगल मच्चाउँछन्। आफ्नै संसदले संसदीय समितिमा अल्झाउँछन्,' ओलीले भने।

आफ्नै दलका साथीहरु अलमल्याउने हैसियतमा उत्रेको ओलीको आरोप थियो। त्यसैगरी प्रधानमन्त्री ओलीले सत्तारुढ दलकै नेताहरु समानान्तर सत्ता चलाउने अभ्यासमा लागेको आरोप लगाउन भ्याए।

'गठबन्धन सरकारका अर्का समूह झै अचानक फौजदारी अभियोग छापेर सरकारमाथि हमला गर्ने र सकेसम्म विस्थापित गर्न खोजे। पुसको ५ गते ५ बजेसम्म सम्झाउने प्रयास जारी राखे,' उनले भने।

वैकल्पिक सरकार बनाउने प्रयास पनि गरे कतै सम्भावना नदेखेपछि संसद विघटन गरेको उनले बताए। प्रधानमन्त्री ओलीले तीन वर्षको प्रगति सुनाउनु अघि धेरै समय आफूले प्रतिनिधि सभा विघटन गर्नुको कारण प्रष्ट्याउनमा खर्च गरेका छन्।

संसदीय दलमा आफू अल्पमतमा नपरेको र आफ्नो राजीनामा नमागिएको ओलीको भनाई छ।

'मेरा बिरुद्ध संसदीय दलमा आलोचना टिप्पणी केही पनि छैन्। केही व्यक्तिहरु एक जना व्यक्तिले झुटो लाच्छना बाहेक केही पनि छैन्। संसदीय दलका उपनेता समक्ष पनि आएको छैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell