PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जेठसम्ममा चुनाव हुनैपर्ने भन्दै निर्वाचन आयोगप्रति देउवाको शंका, 'बदमासी गर्न सक्छ है आयोगले, खै कार्यतालिका ल्याएको?'



जेठसम्ममा चुनाव हुनैपर्ने भन्दै निर्वाचन आयोगप्रति देउवाको शंका, 'बदमासी गर्न सक्छ है आयोगले, खै कार्यतालिका ल्याएको?'

काठमाडौं  : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेका छन्। निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद विषय भएको देउवाको भनाई थियो।

काँग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले भने, 'ओलीले संसद विघटन गरेको छ। संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन?'

जेठको अन्त्यसम्म चुनाव गराउनैपर्ने बाध्यता रहेको दाबी गर्दै देउवाले आयोगले चाँडो कार्यतालिका ल्याउनुपर्ने बताए। 'जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले,' देउवाको प्रश्न थियो, 'किन बोल्दैन निर्वाचन आयोग? म यहीबाट भन्न चाहन्छु। ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ। निर्वाचन आयोगले किन बोल्दैन। शंका गर्नुपर्ने बेला भएको छ।'

अदालतमा जारी बहसको निर्णय कुर्ने काम आयोगको नभएको देउवाको भनाई थियो। सभापति देउवाले सूर्य चिन्हको विवाद छिटो टुंग्याउनसमेत आग्रह गरे। त्यसो त देउवाले नेकपा विवादले आफ्नै पार्टीमासमेत समस्या शुरु भएको बताएका थिए।

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भए पनि यसको पुनर्स्थापनाबारे भने देउवाले मुख खोलेका छैनन्। आजको विरोध सभामा पनि देउवाले यस विषयमा अदालतको विचाराधीन मुद्दा भएकाले बोल्न नमिल्ने भनाई दोहोर्‍याए। 'अदालतको विचाराधीन मुद्दामा यसो गर उसो गर भन्न मिल्दैन नि। अदालतको निर्णय हुन दिउँ।' देउवाले अदालतले न्याय नदिए त्यो भन्दा ठूलो अदालत जनता भएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell