PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

म्यानमार 'कू' : सैन्य सरकारले सूचीमाथि लगायो दोस्रो अभियोग



म्यानमार 'कू' : सैन्य सरकारले सूचीमाथि लगायो दोस्रो अभियोग
Photo : Reuters

म्यानमारीकी नेतृ आङ सान सूचीलाई सैन्य सरकारले थप 'क्रिमिनल चार्ज' लगाएको छ। कू गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि सूचीलाई जुन्ता सरकारले पक्राउ गरेको थियो। उनलाई कहाँ राखिएको छ भन्ने बारेमा कसैलाई पनि थाहा छैन। सेनाले भने सूचीलाई उनकै घरमा राखिएको दाबी गरेको छ।

मंगलबार भने सूचीलाई भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित गराइएको थियो। जसमा उनीमाथि थप मुद्दा लगाइएको छ।

यसअघि सूचीमाथि गैर कानूनी रुपमा वाकी टकी राखेको अभियोग लगाइएको थियो। अहिले म्यानमारको राष्ट्रिय प्रकोप कानून उल्लंघन गरेको भन्दै उनीविरुद्धको मुद्दा थपिएको हो। कोरोना प्रोटोकल उल्लंघन गरेको अभियोग उनलाई लगाइएको छ।

राष्ट्रपति विन मिन्टविरुद्ध पनि कोरोना प्रोटोकल गरेको अभियोग लगाइएको छ। उनलाई पनि मंगलबार नै भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराइएको थियो।

सैन्य शासनविरुद्ध १७ दिनदेखि म्यानमारका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ। निषेधाज्ञा तोड्दै हजारौं मानिस सडकमा ओर्लिएका छन्। प्रदर्शनलाई प्रभावित पार्न इन्टरनेट समेत अवरुद्ध पारिएको छ। सैन्य सरकारले प्रदर्शनमा उत्रनेहरुलाई नियन्त्रणमा लिएर २० वर्षसम्म कैद गर्ने चेतावनी समेत दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell