भारतको राजधानी दिल्लीस्थित राउज एवेन्यू अदालतले पत्रकार प्रिया रमानीलाई मानहानी मुद्दामा सफाइ दिएको छ। उनीविरुद्ध भारतका पूर्व विदेश राज्य मन्त्री एमजे अकबरले मानहानीको मुद्दा दर्ता गराएका थिए।
सन् २०१८ मा भारतमा मिटु मुभमेन्ट उत्कर्षमा रहेको बेला रमानीले अकबरमाथि यौन उत्पिडनको आरोप लगाएकी थिइन्। अकबर पनि पत्रकारिता पेशामै संलग्न हुँदा आफूमाथि यौन दुर्व्यवहार भएको रमानीले आरोप लगाएकी थिइन्। त्यसपछि अकबरले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। अकबरले आफूमाथि लगाइएको आरोपलाई काल्पनिक भन्दै रमानीविरुद्ध मानहानी मुद्दा दर्ता गराएका थिए।
रमानीले घटना भएको २० वर्षपछि अकबरको नामको खुलासा गरेका थिए। अदालतले रमानीविरुद्धको मानहानी मुद्दा खारेज गर्दै उनले उठाएको कुरा कार्यालयमा हुने यौन हिंसा अन्तर्गत उठाइएको बताएको छ। यस प्रकारको दुर्व्यवहारले महिला गरिमाविरुद्ध भएको र त्यसले महिलाको आत्मविश्वासमाथि चोट पुर्याउन अदालतले भनेको छ।
अदालतले सामाजिक प्रतिष्ठा भएको व्यक्ति समेत यौन हिसांमा संलग्न हुन सक्ने भन्दै आफ्नो फैसलामा भनेको छ : व्यक्तिगत गरिमाको मूल्यमा कसैको छविलाई बनाएर राख्न सकिँदैन।