जनकपुरधाम : पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा प्रजातन्त्र आएको ७१ वर्षको इतिहासमा लोकतन्त्रमाथि अहिले ग्रहण लागेको बताएका छन्।
जनकपुरधाममा नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्व राष्ट्रपति डा यादवले १४ वर्षका लागि लोकतन्त्रका लागि जेल बसेको धाक देखाउने प्रधानमन्त्री स्वयं अहिले लोकतन्त्रलाई संकटमा पार्न लागि परेको आरोप लगाए।
उनले प्रधानमन्त्री ओलीतर्फ इंकित गदै भने, ‘१४ वर्ष लोकतन्त्रका लागि जेल बसेका हुन् कि एकतन्त्रका लागि?’
उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा विघटन गर्ने कदमको साक्षी राष्ट्रपति स्वयं बन्नु सरासर गलत रहेको बताउँदै वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप समेत लगाए।
‘सम्माननीय राष्ट्रपति जी दलको नेतृ होइन, प्रधानमन्त्रीले सिफारिश गर्दा उनले कुलिंग पिरियड लिन सक्नु पर्थ्यो, विपक्षी दलहरुसंग छलफल गर्नु पर्थ्यो वा फिर्ता पठाउनु पर्थ्यो त्यो पनि नभए अदालतमा पठाउन सक्नु हुन्थ्यो तर त्यस्तो गर्नु भएन’, पूर्व राष्ट्रपति डा यादवले भने, ‘मलाई पनि देशको प्रथम नागरिक बन्ने सौभाग्य प्राप्त भएको थियो, मैले गिरिजाबाबुलाई राजिनामा बुझाएको उनले बुझाउनु भएको छ कि छैन थाहा भएन।’
विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गर्नु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रुपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरु आफ्नै टाउको फुटाउन बाहेक केही नरहेको पूर्व राष्ट्रपति यादवले बताए।
यस्तै पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमले संघीयता र संविधान नै धरापमा परेको बताए। उनले देशमा अहिले लोकतन्त्र नै बाँकी नरहेकोले देशमा लोकतन्त्र फेरी स्थापित गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए।