
जनकपुरधामः प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरेकी हुन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर गतिविधि चलिरहँदा कुनै संकेतबिनै प्रदेश प्रमुख फेरिएपछि विभिन्न चर्चा सुरु भएका हुन्। बाँकेका परियार माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका हुन्। कतिपयले परियारको बहिर्गमनलाई उनका स्वकीय र सचिव र नेपाल रेल्वेका महाप्रबन्धकबीचको आपसी विवादलाई पनि हटाइनुको कारण जोडेका छन्।
राजनीतिज्ञहरुले भने संघीय मन्त्रिपरिषद् र राष्ट्रपतिलाई निरंकुशताको संज्ञा दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारमा यस्ता सरप्राइज भइरहने टिप्पणी गरेका छन्।
प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख परियारले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि चालेको कदमविरुद्ध दिएको अभिव्यक्तिलाई पनि पदमुक्तसँग जोडेर हेरेका छन्।
के हो टेलिफोन काण्ड?
करिब एक साताअघि नेपाल रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र प्रदेश प्रमुखका निजी सचिव अनिल पासवानबीच टेलिफोनमा गाली गलौज भएको अडियो बाहिरिएको थियो। महाप्रबन्धक भट्टराईले पासवानलाई अपहरणको धम्की दिएका थिए। साथै भट्टराईले आफूलाई प्रदेश सरकारले कुनै पनि निर्देशन दिन नमिल्ने भन्दै पासवानसँग विवाद गरेका थिए।
अडियो संवादमा महाप्रबन्धक भट्टराईले आफू केपी ओलीको छोरा रहेको बताएका छन्। अश्लील गाली गलौज समेत भएको सम्वादमा पासवानले पनि भट्टराईलाई ज्यान मार्ने धम्की दिएका छन्। अन्य नेताहरुको समेत प्रसंग जोडेर भएको उक्त अश्लील गालीलाई समेत परियारको पदमुक्तसँग अहिले जोडिएको छ।
यद्यपि परियारले भने यस विषयमा औपचारिक रुपमा कुनै पनि टिप्पणी गरेका छैनन्।
के भन्छन् परियार?
परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन्। ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन’, परियारले भने ‘साइलेन्ट नै छु । दलित कम्युनिटीको भनेर हटाएकी क्या हो।’
शुक्रबार बिहानमात्रै प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा विघटनको कदमलाई संकेत गर्दै देशमा उब्जेको वर्तमान परिस्थितिले संविधानको रक्षाप्रति चिन्ता र आशंका पैदा गरेको अभिव्यक्ति परियारले दिएका थिए। उनले वर्तमान अन्योलताबाट मुलुकले चाँडै निकास पाउने आशा पनि गरेका थिए।