PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यो चुनाव हुनेवाला छैन : रामचन्द्र पौडेल, 'बैशाख २७ पछि नेपालको शासनको अथोरिटी कोसँग हुन्छ?'



यो चुनाव हुनेवाला छैन : रामचन्द्र पौडेल, 'बैशाख २७ पछि नेपालको शासनको अथोरिटी कोसँग हुन्छ?'

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले घोषणा गरेको चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन्। शुक्रवार धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा निर्मित वीपी कोइरालाको पूर्ण कदको शालिक अनावरण गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

पौडेलले घोषित मितिमा चुनाव नहुने स्थिति रहेकाले त्यसपछिको शासनसत्ता कसको हातमा हुने भन्ने प्रश्नसमेत उठेको उल्लेख गरे। 'हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो। शेरबहादुर देउवाले विघटन गरेको संसदलाई  आन्दोलनबाट फर्काएको हो नि। फेरि इतिहास नदोहारिओस २०६२/६३ को जस्तो,' पौडेलले भने, 'अदालतले संसद विघटनलाई सदर गरोस अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस। यो चुनाव त हुनेवाला छैन। बैशाखको २७ गतेपछि शासनको अथोअिधिकार को संग हुन्छ?'

पौडेलको थप प्रश्न थियो, 'चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार को सँग हुन्छ?' यसले मुलुकलाई अराजकतातिर लैजाने उनको भनाई थियो। पौडेलले देशमा अब आतंक शुरु हुनेसमेत बताए। 'त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए,' उनले भने, 'जोसँग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए। जो सँग हतियार छ उही शक्तिशाली हुने दिन आउछन्। को सँग हुन्छ शासन गर्ने अधिकार। मुलुकमा यस्तो अवस्था आउँदै छ।'

यस्तो अवस्थामा काँग्रेस रमिते बन्न नहुने उनको पौडेलको भनाई थियो। काँग्रेस देशको भरोसायोग्य पार्टी भएको उल्लेख गर्दै उनले भने, 'यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुदैछ। मेरो पार्टीमा पार्टीका नेताहरुसँग यही आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन।'

पौडेलको जोड प्रतिनिधिसभाको पुनःस्थापनामै केन्द्रित रह्यो। 'अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला। संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सवै उनीहरु नै हुन्। चुनाव भयो भने हामी जितौला तर अहिले हामीले तत्कालिन फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने?'

पौडेलले केन्द्रीय समितिमा आफूले राखेको प्रस्ताव पारित नभएको दुखेसोसमेत पोखे। आफूले संवैधानिक अंगका नियुक्तीको खारेजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गरौं भन्ने प्रस्ताव राखेको तर केन्द्रीय समितिबाट पारित नभएको बताए। यसबारे उनको भनाई थियो, 'निर्णय विहिन भएर पार्टी बसिराखेको छ। हामी निर्णय विहिन बन्ने होइन हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell