PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नयाँ बसपार्कमा गुञ्जन्छ २० वर्षअघि भागेर आएको त्यो धुन …



स्वेच्छा राउत

नयाँ बसपार्कमा गुञ्जन्छ २० वर्षअघि भागेर आएको त्यो धुन …

दाइसँग रोइकराइ गरेपछि किनिदिएको साइकल सुटुक्क बेच्नुको थक्थकी। बिरानो बाटो हुँदै गर्न लागेको यात्रा। साथमा अरु केही थियो त डर र थोरैथोरै ग्लानी।

रातको ११ बजे, घरका सबै निदाइसकेका थिए। कुकुरहरू एकोहोरो भुक्न थालेपछि सुटुक्क निस्किए हरि। आफ्नो उद्देश्यले डोहोर्‍याएकाले हुनसक्छ उनलाई गैंडाको बिगबिगीले पनि तर्साएन। भिरेको झोलामा केही जोर लुगा। त्यही लुगाको खातमा पट्याएर राखेको साप्ताहिक पत्रिकाको एउटा अंक। त्यही पत्रिका जसमा उनी पुग्नुपर्ने ठाउँको ठेगाना थियो। हरेक साता आउने पत्रिकाको पानामा –  'सीमित सिट बाँकी' लेखिएको विज्ञापन छापिएको थियो। सिट नसकियोस्, त्यसका लागि हिँडेका थिए उनी।

घरमा पटकपटक आग्रह गर्दा पनि काठमाडौं जाने स्वीकृति मिलेको थिएन। उनका बुबा बिरामी थिए। 'यस्तो बेलामा मलाई छोडेर जान्छस्?' भन्ने प्रश्नले रोक्छ भन्ने डर थियो। त्यसैले हिँडेका थिए परिवारसँग बिदासमेत नमागी। सँगै आइए पढ्दापढ्दैका साथीहरू पनि छाडेर। सन्दर्भ हो २०५६ सालको।

१७ वर्षको उमेरमा लिएको त्यस निर्णयले उनलाई काठमाडौं ल्याएर छाडिदियो - नयाँ बसपार्कमा।

नारायणघाटभन्दा टाढा कतै नगएका उनलाई यो शहर नौलो लाग्यो। मान्छे र गाडीको चाप उल्कै। घरहरू पनि बाक्लो। अनेक दिशाबाट आइरहेका आवाजले कोलाहल बनाएको थियो माहोल। कोलाहलबिच कुनै पसलमा बजिरहेको थियो रेडियो। उनले सोचेका थिए – त्यो रेडियोमा एकदिन गुञ्जनेछ आफ्नै गीत।

राती घरबाट भागेका उनी बिहानीपख आइपुगेका थिए काठमाडौं। यहाँको बाटो देखाउने त्यही पत्रिकाको पाना थियो। झोलाबाट निकाले र सोध्दैखोज्दै पुगे बागबजार। त्यहाँ थियो श्रीराम आचार्यको संगीत पाठशाला। भर्ना भए। घरबाट भाग्नुअघि दाइले ३२ सय हालेर किनिदिएको एट्लासको साइकल १६ सयमा बेचेका थिए। दाजुले चिनी मिलमा पसिना बगाएर जुटाएर किनेको साइकल बेचेर आएको पैसा संगीत सिक्ने रहरमा खर्चिए।

त्यसपछि गर्ने के? जाने कहाँ?

पहिलोपटक टेकेकाले हुनसक्छ नयाँ बसपार्क आफ्नै ठाउँजस्तो लाग्यो उनलाई। त्यतै फर्किए। खर्च रहुन्जेल बस्नका लागि होटल थियो। आफू पुगेकै होटलमा भेटे वासुदेव मैनाली। कैलालीबाट भर्खरै आइपुगेका वासुदेवलाई आफूजस्तै केही अन्यौल र केही उत्सुक देखेपछि कुराकानी सुरु गरेका थिए उनले।

बिरानो ठाउँमा मान्छे भेट्नु भनेको बाटो भेट्नु रहेछ। वा भेट्नेहरूको गन्तव्य मिल्नु। मैनाली पनि संगीतमा उस्तै रुची राख्दा रहेछन्। त्यसदिन दुवै सँगै बसे। एकअर्कालाई गीत गाएर सुनाए। भोलिपल्ट मैनालीले हरिलाई पनि आफूसँगै मितिनी दिदीकहाँ लिएर गए।

आफू गएर बास बसेको ती दिदीको ठेगाना याद छैन हरिलाई। वासुदेव मैनालीलाई पनि फेसबुकमा निकै खोजे उनले। तर भेटेनन्। वासुदेवलाई चाहिँ याद होला, आफूले सहारा दिएको त्यो केटो? जो संगीत सिक्नकै लागि घरबाट भागेको निर्धक्क सुनाउँथ्यो?

उनले चिन्लान् आज सुगम संगीतसँगै जोडिएर आउने नाम - हरि लम्साल?

+++

हरि स्कूल पढ्दा निकै गीत गाउँथे। सर मिस र साथीहरूलाई उनको स्वर असाध्यै मनपर्ने। घरमा पनि बुबा संगीत प्रेमी। हरेक रात सुत्नुअघि, रेडियोको ट्युन बटारेजस्तै हरिको कान बटार्दै भन्थे – 'ल अब गीत गाउ त छोरा।'

बुबालाई निद्राले झुप्प नपारेसम्म गाइरहन्थे हरि। उस्तैगरी कान निमोठेपछि बन्द हुन्थ्यो त्यसदिनको प्रसारण।

सुन्नेहरूले तारिफ गरे। थोरै फुर्किएका हरिलाई लाग्थ्यो – स्वर त मेरो मीठो छ। जस्तो पनि गाउन सक्छु। अब हार्मोनियम, गितारजस्ता बाजा बजाउन जाने, ठूलै संगीतकर्मी हुन्छु। त्यस समयका चर्चित गायकहरू रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राई, आनन्द कार्कीलगायतको ठाउँमा आफूलाई कल्पन्थे उनी। सोच्थे – उनीहरूलाई भेट्न पाए? उनीहरूसँग भेट्ने हुटहुटी पनि उत्तिकै थियो काठमाडौं आउँदा।

काठमाडौंमा अभावसँग जुँधे। गाउँमा हराएको छोरोको खोजी भइरहँदा हरि भने कहिले पहिलो पटक भेटेका साथीको मितिनी दिदीकहाँ पुग्थे। कहिले कक्षामा भेटिएका राजेश विकको कोठामा। बास र गाँसको ठेगानबिना कुदिराख्दा काठमाडौंमै बस्दै आएका मामाका छोराले उनलाई भेटे। मामाका छोरा नेपाल प्रहरीमा कार्यरत। केही दिन उनैसँग बसे। करिव एक महिनापछि आफ्नै दाजु चन्द्रकान्त आएर कोठा व्यवस्थापन गरिदिए उनलाई। अनि भने - 'देखेको सपना पूरा नभएसम्म चैनको निद्रा नसुत्नु।'  

त्यसपछि रफ्तार लियो उनको संगीत साधनाले।

केही महिना सारेगम कला केन्द्रमा सिके। त्यसपछि गन्दर्भ संगीत विद्यालयमा चन्दनकुमार श्रेष्ठलाई गुरु थापे। सिक्न थाले शास्त्रीय संगीत।

‘संगीत क्षेत्र त मैले सोचेभन्दा धेरै फराकिलो रहेछ। यसबारे मैले केही जानेकै रहेनछु भन्ने बुझेँ। त्यसपछि बजाउने होइन गाउने साधनामा लागेँ,’ उनले सुनाए। केही महिनामा हार्मोनियम बजाउन सिक्ने, त्यसपछि जस्तो गीत पनि गाउन सक्ने र रेकर्ड गराएर  गायक बन्ने योजनाको फेहरिस्त त्यतै कतै छुट्यो।

काठमाडौं बसाइ लम्बियो हरिको। बसुन्जेल संगीत विद्यालयमै रिसेप्सनिस्टको काम गरेर खर्च जुटाए। ६ वर्ष लामो बन्यो शास्त्रीय संगीत साधना। तर, गायनको फरक आयाम सिकेर कहाँ सकिन्थ्यो र?

सिकाइको भोकले काठमाडौंमा मात्र अड्याएन उनलाई। हानिए भारत। पुनेस्थित इन्स्टिच्युट अफ मोडर्न म्यूजिकमा भर्ना भए, सुगम संगीत सिक्न। शास्त्रीय संगीतको नीति र नियममा बाँधिएका उनलाई सुगम संगीत केही सहज र स्वतन्त्र महसुस भयो। त्यहीँ उनले गितार, पियानो लगायत बाजा पनि बजाउन सिके। निरन्तर साथ र सहयोग पुर्‍याए उनका दाजुले जसले सधैं सोध्थे – 'कस्तो गर्दैछस्?' सोधेनन् के गर्दैछस्?

आमा वृद्ध भइसकेकी थिइन्। बुबा त हरिले घर छाडेको वर्ष दिनमै बिते। त्यसैको पश्चताप् उनको हृदयको कुनै कुनामा गुजुल्टिएर बस्यो। सँगै प्रतीज्ञा पनि गरे – जुन उद्देश्यका लागि बुबालाई दु:खाएर हिँडें त्यो पूरा गर्छु। दिनभर रेडियो बटारेर बस्ने बुबा रहेनन्। तर, कुनै दिन रेडियोमा आफ्नो नामसहित बज्ने गीतहरूमा आमाको मुस्कान मिसिन्छ भन्ने थाहा थियो उनलाई। आडमा दाजु भाउजु छन् भन्ने कुराले आफैलाई थुम्थुम्याउँथे उनी।

करिब १० वर्ष सिके। सिकिरहे।

२०६३ सालमा पुनेबाट नेपाल फर्किए हरि। दश वर्ष लामो जनयुद्ध भर्खर थामिएको थियो। शान्‍ति सम्झौताका कारण राजनीतिक उथलपुथल केही साम्य। कला र मनोरञ्जनको क्षेत्र फराकिलो बन्दै थियो। यस पटक काठमाडौं टेक्दा उनीसँग संगीतको ज्ञान थियो। आत्मविश्वास पनि केही उँचो। तर, त्यहीँबाट सुरु भयो संघर्षको दोस्रो चरण - अन्यौलताको अर्को श्रृङ्खला।

'कहाँबाट के सुरु गर्ने थाहा थिएन। फेरि नयाँ संगीतकर्मीका लागि अवसर जुर्नु पनि ठूलो कुरा थियो,' हरिले त्यस समयको संगीत क्षेत्र र आफ्नो अन्यौलताबारे बुझाए, 'म अलमलमा थिएँ। संगीत सिकाउन थाल्ने कि संगीत रचना गर्न? बच्चैदेखि देखेको गायक बन्ने सपना त्याग्न पनि तयार थिइनँ।'

करिव ७ महिना कामविहीन छट्पटाहटमा बिताए उनले। जहाँ रुमल्लिएका थिए त्यहाँबाट सहजै उम्कने बाटो थिएन। अनि भाग्नका लागि आँट पनि। जुन आँट १७ वर्षको उमेरमा बटुलेका थिए।

+++  

नजाउ टाढा तिमीलाई मेरो माया भयो झन् गाढा  

मेरो आँखामा तिमीलाई नै, मेरो मनमा तिमीलाई नै….

इन्डियन आइडल सहभागी राहुल वैद्यले गाएको यही गीतसँगै उदाए नेपाली संगीत क्षेत्रमा नयाँ संगीतकार।

२०६४ सालमा गीतकार कृष्ण केसीले विश्वास गरे तिनै सिकारु संगीतकारलाई। एल्बम 'आफ्नो मन'का लागि। सिकारु यस अर्थमा, त्यसअघि हरिले संगीतकर्मलाई पेशा बनाइसकेका थिएनन्।

'त्यही एल्बमका गीतहरू चर्चित भए। नेपाली संगीत बजारमा हरि लम्साल पनि रहेछ है भन्ने थाहा भयो केहीलाई,' संगीत क्षेत्रमा सुरुवाती दिनबारे सम्झिए उनले, 'पहिलो एल्बमबाटै आफूले गुनेका अग्रजबाट स्याबासी पाएँ। त्यसपछि काठमाडौंमा घिस्रिरहेको जिन्दगी केही सहज बन्दै गयो।'

फाट्टफुट्ट एल्बमका काम मिल्दै गयो। फिल्मका गीतहरूका लागि पनि हरिको खोजी हुन थाल्यो। पहिलो गीत 'नजाउ टाढा...'ले काम दिलायो उनलाई। केही समयको अन्तरालमा गजलमा संगीत भरे 'जेजे हुन्छ यहाँ पर्दा पछाडि....'। त्यसले गजलको क्षेत्रमा पनि उनलाई चिनायो। त्यसपछि सार्वजनिक भए उनका 'कसले सुरुवात गर्‍यो होला यो माया भन्ने चिज...',  'पानीको फोकाजस्तै फुट्यो हाम्रो माया....'। र, त्यसपछि पछाडि फर्किएर हेर्नु परेन उनले। शब्दहरूले खोज्न थाले हरिका संगीत।

संगीत रचनालाई 'अन्तर्मनबाट निस्कने धुन' भन्छन् उनी। उनले रचना गर्ने धुनहरूमा वर्षौ लामो धैर्यता, ध्यान, मेहनत र भोगाइको परिणाम मिसिएका हुन्छन्। संगीत साधनाबिच बाच्नका लागि गरेको संघर्षको कथा बेग्लै छ। जुन उनी शब्दमा उन्न चाहँदैनन्। 'ती अनुभूतिहरू पनि धुन बनेर गुञ्जिरहेका छन्। भोगाइ हुन् कहीँ कतै मैले गर्ने काममा प्रभाव पारिहाल्छन् नि,' उनले यतिमात्र बोले।

संगीतकारलाई गीतको 'क्याप्टेन' मान्छन् उनी। नाइके हुनुको अर्थ अरुले दिएको शब्दमा संगीत खेलाउन सक्नु। आफ्नो संगीतमा अरुको शब्द अटाउन सक्नु। बाजालाई बुझ्नु। शब्द र संगीतका लागि मिल्दो स्वर चिन्नु। अनि, कुनै गीतका लागि हरि यी सबै आवश्यकताका पूरक हुन् चाहे त्यो कलात्मक पाटोमा होस् या प्राविधिक।

उनी शब्दसँग खेल्न सक्छन्। कहीँ कतै कुनै शब्द नमिल्दा गीतकारलाई भन्न सक्छन् – यसमा यो थपौं वा यो घटाऔं है। उसो त उनी आफैँ पनि लेख्छन् गीत। यो बाजा बढाउ वा यसले 'डिस्टर्ब' गर्‍यो भन्ने ल्याकत राख्छन्।

गायक बन्न हिँडेका उनी अहिले यसरी नै रमाइरहेका छन् संगीतकार बनेर। संगीतले नै चिनाएको छ उनलाई, बेग्लै शैलीका कारण। यस्तोबिच गाउने हुटहुटी कम हुनुको पनि कारण रहेछ उनीसँग।

२०५७ सालमा गीतकार तीर्थराज बास्ताकोटीले आफ्ना शब्दको लागि संगीत भर्न दिएछन् हरिलाई। संगीत रचे। गाउने प्रस्ताव पनि उनैलाई राखे तीर्थराजले।

'गाउन त गाएँ। रिकर्ड गरिसकेपछि आफ्नै सुरमा चित्त बुझेन। मैले आफ्नै स्वरमा काम गर्न बाँकी छ भन्ने बुझेँ,' उनले सुनाए। त्‍यस गीतलाई स्वर दिए सुरेश अधिकारीले। उनी गायकको रुपमा चर्चामा रहेको समय थियो त्यो।

तर पनि गाउनै छोडेका कहाँ हुन् र उनले।

गत वर्ष, गीतकार प्रह्लाद शाहले गीत लेखे र संगीत भर्नका लागि पठाए हरिलाई। हरिले संगीत दिए। प्रेमी प्रेमिकाको संवादजस्तो सुनिने त्यो सरल गीतमा स्वर दिइन् मेलिना राईले। गायक चाहिँ को? मिल्दो आवाज कसको हुनसक्छ? हरिसँग प्रश्न बाँकी नै थियो। गीतको 'डमी भर्सन' सुनेका गीतकार शाहले हरिसँग भने – यो फिल अरु गायकमा आउँदैन। प्लिज तपाईं नै गाउनुस् न।

उनलाई हार्न सकेनन् हरिले।

गाए –

हाँस भन हाँसी दिन्छु रोउ भन रोइदिन्छु

माग तिमी मसँग जे छ, परानै मागे परानै दिन्छु…  

यो गीत एक करोड ५० लाखभन्दा बढी हेरिएको छ युट्युबमा। तर, पनि गायनलाई सहज मान्न तयार छैनन् उनी।

'म राम्रो गाउन सक्छु जस्तो लाग्छ तर गाउँछु भन्न सक्दिँन,' हरिले आफ्नो गायनबारे भने, 'गायक हुन स्वरमात्र भएर पुग्दैन भन्ने बुझेको छु। मेरो स्वभाव नै मञ्चमा आम स्रोताले रुचाउने गायकको जस्तो छैन।'

शान्त स्वभावका छन् उनी। चाहिँदो आवाज त उनको संगीतले निकालेको छ। ताली र गाली स्वीकारेका छन्। प्रचारसँग उस्तो मतलव राख्दैनन्। जिन्दगीको 'रिदम' मिलाउँदै अघि बढेका उनी 'आज'सँग खुशी छन्। सन्तुष्ट पनि। हिजो घरबाट भागेर आउँदा जो जो गायकलाई देख्ने रहर हुर्काएका थिए, मनमा ती सबैका लागि संगीत दिइसकेका छन्। मन पर्ने अग्रज फत्तेमान राजभण्डारीसँग समेत लिरिकल एल्बम निकालेका छन् उनले।

'सबैसँग काम गर्ने अवसर जुर्‍यो। त्यो पनि प्रिय भएर। संगीतमा मेरो धरातल जहाँ थियो त्यहाँबाट केही माथि उक्लिएँ भन्ने लाग्छ। तर यो नै अन्तिम खुड्किलो चाहिँ होइन,' उनले भने। आफ्नो सफलतालाई भने व्याख्या गर्न चाहँदैनन् उनी। किनकि हरेक पटक एउटा उद्देश्य पूर्तिहुँदा अर्को सपना देखेका छन् उनले।

सुरुवाती दिनमा आमा, दाजु र भाउजु आफ्नो गीत सुन्न रेडियो नजिकै बस्थे। टिभीमा प्रसारण भएको अन्तर्वाता दोहोर्‍याएर हेर्थे साथीभाइ। त्यसताका कान्तिपुरमा अनमोलमणि पौडेलले लेखेको 'शहरमा एउटा हरि' पढेर कोही रोएको खबर उनीसम्म आइपुग्थ्यो। यस्तै स-साना प्रतिक्रियाहरूलाई मान्छन् आफ्नो प्राप्तिको मानक।

संगीतको यो यात्रामा उनीसँगै रहेको अर्को नाम हो रेखा गुरुउ। जसले रित्तै काठमाडौं आएको हरिको सपनालाई आफ्नो पनि सपना मानिन्। दशक लामो संघर्षपछि पनि अन्यौलताबिच गुज्रिरहेका हरिको छेउमै भइदिइन्। स्कूल जीवनमा बसेको प्रेम थियो यी दुईबिच। जब हरि भारतबाट फर्किएर काम सुरुमात्र गरेका थिए, तब बन्यो विवाहको योजना। त्यतिबेला रेखा त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा पढ्दै थिइन्।

२०६५ सालमा विवाह गर्ने योजना लिएर पुगे घर। हरि ब्राह्मण, रेखा थारु। दुवैको परिवारलाई स्वीकार्य थिएन सम्बन्ध। उनीहरू काठमाडौं फर्किए। भद्रकालीमा एक अर्कामाथिको विश्वासलाई साक्षी राखेर गरे विवाह।

'समस्याहरू आउँछन् भन्ने थाहा थियो तर प्रेमको अघिल्तिर सबैकुरा गौण लागे। फेरि विवाहअघि पनि त अप्ठ्यारा थिए। त्यतिबेला 'सबैकुरा ठीक हुन्छ' भन्दै सम्झाउने उनी नै त थिइन्। समस्यालाई समयसँगै सुल्झाउँदै लानुपर्ने रहेछ,' उनले भने।

स्वाभिमान र स्वस्थ संगीत साधनालाई आफ्नो सुत्र मान्छन् हरि। अस्वस्थ बजार र प्रचारबाट टाढा रहेर पनि उनले करिब १ हजार ३ सय गीतमा संगीत दिइसकेका छन्। गजल र सुगम संगीतमा उनको नाम नचिन्ने कमै होलान्। अहिले भने मौलिक सिर्जनामा जोड दिने योजनामा छन् उनी। नेपालीपन झल्कने गीतहरू। जुन उनलाई आफ्ना कामहरूमा खड्‍किएको छ। २०७२ सालदेखि संगीतकार र एरेन्जरहरू मिलेर स्टुडियोसमेत सञ्चालनमा ल्याएका छन् उनले। अकस्टिक स्टुडियोमा उनीसँग सहकार्य गरेका छन् कुशल संगीतकार सचिन सिंह र रेकर्डिस्ट प्रकाश मिश्र र चन्द्र सुवेदीले।

गीत, संगीत, स्टुडियो, स्रोता बिचमै अल्झिएका छन् हरि जसले गर्दा निस्कने, शहर घुम्ने मौका बिरलै पाउँछन्। तर, पनि कहीँ कतै जानुपर्दा पुग्छन् नयाँ बसपार्क। त्यहाँ वरपर उनका कोही छैनन्। तर, केही छ। जहाँ यात्रु पर्खिरहेका गाडीहरूमा वा ग्राहक पर्खिरहेका पसलहरूमा बजिरहेको हुन्छ  

मुरी र क्विन्टल चाहिँदैन मलाई साँचो भने चुट्की काफी छ

रोपनी विगाह चाहिँदैन मलाई साँचो भने धुर नै काफी छ….

यो सफल गीत गाउने हरिलाई बसपार्कमा सल्बलाइरहेको भिडले नचिन्ला। तर, संगीतले दिएको यस्तै स-साना खुशीहरू 'चुट्की' सरह नै भए पनि सन्तुष्ट छन् हरि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell