PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

गगनको प्रश्न : अदालत धम्क्याउने ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा ?



गगनको प्रश्न : अदालत धम्क्याउने ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा ?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाएका छन्।

पार्टीको विरोध सभालाई नवलपुरमा सम्बोधन गर्दै नेता थापाले अदालत धम्क्याउने 'केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा खड्गप्रसाद ओली' भनेर प्रश्न गरे।

पार्टीभित्र झगडा गरेर, काम नगरेर लाज पचाएर संसद भंग गरेको उनको आरोप छ।

‘निर्वाचनबाट ५ वर्षको जिम्मा लिएर गए। प्रतिपक्षले र अरु कसैले अप्ठेरो पारेको छैन। आफै झगडा गरेर, चलाउन नसकेर, नेकपा थला परेर संसद भंग गरेको छ। जिम्मा लिएर काम गर्न नसक्दा लज्जा हुनुपर्ने हैन। लाज लाग्नुपर्ने होइन,’ थापाले भने। 

सरकार र संसद चालाउन ५ वर्षका लागि जिम्मा पाएको तर चलाउन नसकेर संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै थापाले अदालतमा मुद्दा चलिरहेका बेला खुला ठाउँबाट प्रधानमन्त्रीले अदालतलाई धम्क्याइरहेको उल्लेख गरे।

‘म प्रधानमन्त्रीलाई सम्माननीय प्रधानमन्त्री भनेर भन्थें। तर मेरो प्रधानमन्त्री केपी शर्मा ओली आजको दिनमा सम्माननीय केपी शर्मा ओली हो कि एउटा टोले गुण्डा खड्गप्रसाद ओली हो? उहाँले बोलेको शब्द हेरौं। मलाई यो भन्दैगर्दा रत्तिभर पनि खुसी लागेको छैन। तर मेरो प्रधानमन्त्रीले उच्चारण गरेका शब्द सम्झिनुस् त निर्वाचन आयोगका बारेमा, अदालतका बारेमा, आफ्नै पार्टीका साथीका बारेमा, हाम्रा बारेमा। यो प्रधानमन्त्रीले बोल्ने शब्द हो? प्रधानमन्त्रीको मर्यादा हो यो? प्रधानमन्त्रीले कसैको मर्यादा राख्न नपर्ने, अनि खड्गप्रसाद ओलीलाई सम्माननीय भनेर हामीले मात्र तिनको मर्यादा राख्न पर्ने? जनताले मात्र राख्न पर्ने? राख्दैनन्। जसले आफूले मर्यादा राख्न सक्दैन अरुले पनि राख्दैन,’ उनले भने।   

प्रधानमन्त्रीले अदालत मात्र होइन सबैभन्दा बढी जनतालाई हेपेको गगनको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell