PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुनकोशी पुल निर्माण कार्य तत्काल शुरु गर्न स्थानीयको खबरदारी



सुनकोशी पुल निर्माण कार्य तत्काल शुरु गर्न स्थानीयको खबरदारी

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सिन्धुपाल्चोक र दोलखालाई जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य छ वर्ष बित्दा पनि अघि बढ्न सकेको छैन।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दासमेत निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले शनिबार पुलमा धर्ना दिएका छन्। प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका छन्।

उक्त पुल २०७२ सालबाट निर्माण सुरु भएको थियो। पुल २०७५ सालमा नै तयार हुनुपर्ने सम्झौता थियो तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। २०६७ सालबाट स्थानीय समाजसेवी माधव भण्डारीको नेतृत्वमा उक्त पुल सुनकोसीमा निर्माण गर्न पहलकदमी भएको थियो। सोही पहलकदमीका कारण २०६९ सालमा तत्कालीन सरकारले रातो किताबमा सुनकोसीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो।

यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुलहरू निर्माण सम्पन्न भएर यातायातका साधान सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन। पुल निर्माण भएको हालको काममा पनि गुणस्तरहीन र कमसल काम भएको स्थानीयवासीले आरोप लगाएका छन्। त्रिपुरासुन्दरी गाउँपालिका–३ का स्थानीय गोकुल नेपालले पुल निर्माणमा चरम लापरबाही भएको बताए। ४० मिटर पुल निर्माणमा कमसल खालका कच्चा पदार्थ प्रयोग भएको समाजसेवी माधव भण्डारीले बताए। पुलका सबै खम्बाहरू चर्किसकेको उनले जनाए।

पुलका खम्बा चर्किसकेको कुरातर्फ ठेकेदार पक्षलाई पटक पटक निर्देशन गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर गोविन्द डमरुले बताए। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय महामन्त्री बलेदव तिमल्सिनाले पुल निर्माणको गति नलिएको, भएका काम पनि गुणस्तरहीन भएकोले तत्काल सुधार गरेर निर्माण कार्य सुचारु गर्न आग्रह गरे। पुलको ठेकेदार हिदुङ एन्ड थोकर लामा कन्स्ट्रक्सनका हो।

पुल निर्माणको काममा सरकारका तर्फबाट र ठेकेदार पक्षबाट भएको लापरबाही, स्थानीय तहको उदासीनताविरुद्ध स्थानीय व्यक्तिहरूले विरोध गर्न थालेको कुरा बाह्रबिसे धुस्कुन पिस्कर सुनकोसी पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीले बताए। पुल निर्माणको ढिलाइले त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका स्थानीय बासिन्दा हिउँद र वर्षायाममा आवतजावतमा अवरोध खेप्नु परिरहेको स्थानीय समाजसेवी तथा काँगे्रस नेता रामकुमार लामाले गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell