काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मान्छेहरुले काँग्रेसलाई खोज्न थालेको बताएका छन्। काँग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा काठमाडौंको अनुपम फुडल्यान्डमा आयोजित विचार गोष्ठीमा देउवाले उक्त भनाई राखेका हुन्।
नेपालको राजनीति केही तातेको उल्लेख गर्दै सभापति देउवाले केहीले काँग्रेसले केही नगरेको उल्लेख गर्दै भोट दिने बेलामा नदिएर अहिले काँग्रेस खोज्न थालेको बताए। 'अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले। जनताले भोट दिएन अहिले काँग्रेस चाहिया छ,' देउवाले भने, 'काँग्रेसलाई खोज्न थाले मान्छेहरुले।'
देउवाले जनताले नेकपालाई भोट हालिहाले पछि आफूहरुले मान्नुपर्ने बाध्यता आइलागेको बताए। देउवाले राजनीति यस्तै हुन्छ भन्ने ठेगान नभएको समेत बताए। यसबारेमा पार्टीमा छलफल चलाउनुपर्ने देउवाले बताए। 'अहिले पनि अवस्था यस्तै छ। भोलि के हुन्छ थाह छैन। सल्लाह गर्नुछ हामीले,' उनले भने।
सबैभन्दा खुसीको कुरा संसद बाँचेकोमा लागेको उनले बताए। देउवाले १४ औं महाधिवेशन तोकेकै समयमै हुने बताए।