PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको अवस्था अझै अज्ञात, प्रहरीनै शंकाको घेरामा



सुमित मिश्र

आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको अवस्था अझै अज्ञात, प्रहरीनै शंकाको घेरामा

जनकपुरधाम : महोत्तरीमा आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको पत्ता अझै लाग्न सकेको छैन। सोमवार रातिदेखि नै बेपत्ता भएका पिपरा गाउँपालिका वडा नम्बर–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको प्रहरीले तीव्र रुपमा खोजी गरिरहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार २ जनालाई अनुसन्धानको क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने दुवै प्रहरी हुन्। दुवै जनाको परिचय भने खुलाइएको छैन। तर, प्रहरी नायव उपरीक्षक विष्टले घटनामा संलग्नता हुन सक्ने आशंकामा दुई जनालाई सोधपुछका लागि प्रहरी कार्यालयमा ल्याइएको बताए।

‘हामीले बोलाएपछि उहाँहरू आफैँ प्रहरी कार्यालय आउनु भएको हो,’ विष्टले भने।

यद्यपि, प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरज प्रताप सिंहले अनुसन्धानको क्रममा ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उनका अनुसार पक्राउ पर्नेमा प्रहरीका कोही छैनन्। डीआइजी सिंहले झा दम्पत्तिबारे अहिलेसम्म केही खुल्न नसकेको बताएका छन्।

उनले भने, ‘घरबाटै बेपत्ता भएका दम्पत्तिको खोजी तीब्र रुपमा भइरहेको छ। घरमा रहेकी उनको बुहारी र स्थानीयसँग समेत यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको छ।’

प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको उनले बताए।

अनुसन्धानको क्रममा घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र प्रवेश गरेका अपहरणकारीले झा दम्पत्तिलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको प्रहरीले बताएको छ। उनीहरु सुतेको कोठा वरिपरी रगतको छिटाहरु पनि देखिएको छ। यसकारण दम्पत्तिको हत्या समेत भइसकेको हो की भन्ने प्रहरीको आशंका छ। घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिनीहरु भने सकुशल रहेका छन्।

झाकी कान्छी बुहारी उषाले भनिन्, ‘म बिहान उठ्दा घरमा रगतका छिटाहरु देखेँ, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ वहाँहरु दुवैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरेँ, उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे।’

प्रहरीलाई तत्कालै खबर गरेपनि प्रहरी भने डेढघण्टा पश्चात घटनास्थल पुगेको उषाले बताइन्। घटनास्थलमा महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसी र प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट सहितको टोली पुगेर अनुसन्धान गरेको छ। घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell