PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रजातन्त्र प्राप्तिपछि कोरिएका कलहका रेखा, धुव्रीकृत समाज र मेरो बाल मस्तिष्क



प्रजातन्त्र प्राप्तिपछि कोरिएका कलहका रेखा, धुव्रीकृत समाज र मेरो बाल मस्तिष्क

  • सुभाष सुवेदी-

२०४६ सालको जन आन्दोलनताका भर्खर ११ वर्षमा प्रवेश गर्दै थिएँ म। बाल मस्तिष्क - जे देख्यो, सुन्यो त्यही सही र उचित लाग्ने उमेर। सम्भवत: भर्खर कक्षा ६ तिर उक्लेको थिएँ हुँला। घरमा बुवा रेडियोमा समाचार सुनिरहनुहुन्थ्यो। नचाहेर पनि नाराजुलुस, तोडफोड र राजनीतिका समाचारहरु कहिले खाना खाँदा, कहिले घरवरिपरी काम गर्दा वा खेल्ने क्रममा कानमा ठोक्किन आइपुग्थे। फेरि हाम्रो घरमा तुलनात्मक रुपमा अलि बढी राजनीतिक समाचार सुनिथ्यो कि भन्ने लाग्छ।

राजनीति र व्यवस्थाप्रति चासो बढ्नुको कारण यही होला म मा। २०४६/४७ सालको आन्दोलनको बेला गाउँसमाजमा सुनिन्थ्यो - यो ३० वर्षे पञ्चायत ढालेपछि हामी सबै बराबर, धनीगरिब कोही हुनेछैनौं, हामी सबैले स्वतन्त्र रुपमा बोल्न र लेख्न पाउने छौं, स्वतन्त्र रुपले जिउन र बोल्न पाइने छ। रातारात हाम्रो दिन फेरिनेछन्। सबैले न्याय पाउनेछन्। जनताको शासन शुरु हुनेछ। यस्तै प्रजातान्त्रिक सिद्धान्तका आधारभूत सत्यतासँगै अनेकौ मणगढन्ते हल्ला पनि सुनिन्थे।

हाम्रो गाविस जिल्ला सदरमुकामसँगै जोडिएको थियो। बेलाबेला सदरमुकाममा लुकीचोरी भएका नाराजुलुस र गाउँमै कतिपय गतिविधिबारे विद्यालय, समाज सबैतिर कुरा हुन्थ्यो। यसले चञ्चल र केही सिक्न इच्छुक बाल मस्तिष्कमा गहिरो छाप परेको रहेछ। के सही, के गलत छुट्याउन सक्ने हाम्रो उमेर थिएन। आफूभन्दा ठूलाले भनेपछि विश्वास गरिहाल्ने।

लामो जनआन्दोलन पछि देशमा प्रजातन्त्र आयो। प्रजातन्त्र प्राप्तिको क्षणलाई दिनभर रेडियोमा प्रसारण भएको बालस्मृति अझै ताजा छ। कारण बुवा समकालिन अवस्थामा स्थानीय राजनीतिमा हुनु हुन्थ्यो। प्रजातन्त्रपछि हाम्रो समाजमा आएको खुसीको लहर, उत्साह, उमंगले विस्तारै आफ्नो दिशा परिवर्तन गर्‍यो। त्यो थियो सामाजिक कलह, विभाजन र विभक्त हुने ध्रुवीकरणको बाटो। यस्तोसम्म अवस्था आयो कि समाजको त कुरै छोडौं श्रीमानश्रीमती, बावुछोरा, आमाछोरा, दाजुभाई, दिदीबहिनीबिच बोलचाल बन्द र पानी बाराबारको अवस्था घरघरमा भित्रियो। पञ्चायतवादी र जनवादीको विभाजन प्रजातन्त्र अघिदेखिकै सुरुवात हो। मानिस खुला रुपमा नआएको अवस्थामा समाज त्यति धेरै विभाजित र विभक्त थिएन। किनभने एकहदसम्म हाम्रो समाज पनि पूर्ण स्वतन्त्र थिएन। तर प्रजातन्त्रप्राप्ति पछि तत्कालिन अवस्थामा हाम्रो समाज मुख्यत: तीन समूहमा ध्रुवीकरण भयो। काँग्रेस, कम्युनिष्ट र पञ्चयाती राप्रपा।

तत्कालिन अवस्थामा काँग्रेस र कम्यूनिष्ट त जनआन्दोलनकै सहयात्री थिए। तैपनि आफ्नो राजनीतिक संगठन विस्तार गर्न यी दुइबिच भएको होडबाजी र एकले अर्कोलाई लगाएको झुटा अभियोग गाउँसमाज विभाजनको मुख्य कारण बन्न पुग्यो। विस्तारै त्यो अभियोग राजनीतिक रुपमा मात्र सीमित नभई व्यक्तिगत रुपले घरघरमा प्रवेश गर्‍यो।

यसरी विस्तारै समाजमा आएको विभाजन गाउँ टोल समाजमा हिँडडुल, आपसी सरसहयोग, विवाह, भोजभत्तेर, मर्मपर्मलगायत समाजमा हाम्रा मुल्य मान्यता र संस्कृतिका रुपमा रहेका सबै परम्परामा समेत देखिए। एउटा पक्षले विवाहमा अर्को पक्षलाई नबोलाउने, मृत्यु संस्कारमा अर्को पक्षको व्यक्ति सहभागी नहुने। एक पक्षले अर्को पक्षलाई साथ र सरसहयोग नगर्ने। आआफ्नै समूहमा मात्र सीमित हुने। यतिसम्मकी दैनिक उपभोग्य सामान खरिद गर्न होस् वा चिया खानसमेत आफ्नै संगठनमा आवद्ध व्यक्तिको पसल जाने। यस्ता घटनाको साक्षी बनेका हामी र हाम्रो बाल मस्तिष्कमा यसको नकारात्मक प्रतिबिम्वित भएको रहेछ।

हाम्रो गाउँमा २ स्थानमा प्रावि र एक स्थानमा निमावि थिए। गाउँको मध्यभागका अवस्थित श्री नारायण निमावि (लट्टेबाली स्कुलका नामले परिचित) का विद्यार्थी हामी। त्यस्तै छ या सात कक्षामा अध्ययनरत थियौं।

विद्यालयमा एक जना गणित शिक्षक हुनुहुन्थ्यो। विचार धाराले उहाँ लेफ्ट। उहाँमा साहित्यप्रति निकै रुचि थियो कि भन्ने लाग्छ। मैले उहाँका केही उपन्यास पढेको स्मरणमा छ। उहाँले पढाउने शैली मन नपरेर हो वा कसैको उक्साहटमा परेर। यकिन छैन। विद्यालयका सबै विद्यार्थीले उहकाँ विरुद्ध गाउँभरी, 'सर चाहिँदैन!चाहिँदैन!! हामीलाई पढाउन पाइँदैन!पाइँदैन!' भन्दै नारा लगाएर गाउँ परिक्रमा गरेका थियौं हामीले। यो समयले हाम्रो बाल मस्तिष्कमा भरेको एउटा अज्ञानता तत्कालिन परिस्थितिमा समाजमा भएका घटनाको उपज थियो।

यही समयको वरिपरीनै हुनुपर्छ। समाजमा एक प्रकारको चलन आएको थियो। प्रचलन के भने झन्डा गाड्ने। चाहे त्यो घरमा होस् वा सार्वजनिक स्थानमा। थाहा थिएन यसको अर्थ हामीलाई। अहिले थाहा पाइयो - झन्डा गाडिएको क्षेत्र आफ्नो कब्जा वा नियन्त्रणमा छ भन्ने रहेछ। यो फेसनको रुपमा आयो र निकै लामो समय समाज ध्रुवीकरणको कारक बन्यो। एकले सार्वजनिक स्थानमा झन्डा गाडेपछि त्यही स्थानमा अर्को दलले झन्डा गाड्यो। हुँदाहुँदा एकै स्थानमा तीनचार दलका झन्डा गाडिएका हुन्थे। त्यो झन्डा गाडिएको थिएन बरु झगडाको बिउ रोपिएको थियो। आफैसँग पनि स्थानीय दाइहरुसँग यस्ता कार्यमा सहभागी भएको अनुभव छ।

आफूलाई मन नपरेको दलको झन्डालाई रातको समयमा अर्को दलले हटाउने, च्यात्ने झन्डा गाडिएको बाँसलाई काट्ने गर्थे। यसले समाजमा झगडा र वैमनस्यताको उग्र रुप लिन थाल्यो। एकले अर्कोलाई अभियोग लगाउने, शंका, उपशंका गर्ने। अन्तिममा पुग्ने चाहि काटमारको अवस्थामा यही बिन्दुबाट समाज ध्रुवीकरणको बिजारोपण भएको थियो। एकले अर्कोको अस्तित्व स्विकार नगर्ने र बहुल्यता भएको अवस्थामा प्रजातान्त्रिक मान्यतासम्मत कार्यलाई निषेध गर्ने प्रवृति। एक किसिमले यो हाम्रो पुस्ताको बाल्यकालीन 'स्कुल अफ थट' नै थियो। जुन जीवनकालमा कही न कतै प्रतिविम्बित भइरहँदो रहेछ। तुलनात्मक रुपमा मजबुत ठानिएको संगठनले अर्को संगठनलाई सभा सम्मेलन गर्न नदिने, सभा सम्पन्न गरी घर फर्कँदै गर्दा रात्रीकालिन समयमा आक्रमण गरेर घाइते बनाएका अनेकौं घटना मेरो बालस्मृतिमा अझै ताजा छन्।

विस्तारै यही झन्डा गाड्ने फेसन गाउँ समाजका घरघरमा पुग्यो। श्रीमानको विचार फरक, श्रीमतीको विचार फरक, छोरा बुहारी वा छोरीको विचार फरक, एकै घरभित्र समेत एकले अर्काको अस्तित्व नस्विकार्ने। फेरि यसको झलक बाहिरी समाजलाई प्रष्ट थाहा हुने कारण झन्डा। एकै घरको छानामा २ वा सोभन्दा बढी राजनीतिक दलको झन्डा भए सहजै अनुमान लगाउन सकिन्थ्यो यो घरमा मेलमिलाप छैन। बाल्यकालिन स्मृतिमा अझै ताजा छ एकै घरमा समेत ३/४ वटा राजनीतिक दलका झन्डा राखेको।

यसरी घरघरमा भित्रिएको कलहका कारण हाम्रो गाउँ समाजमा धेरैको घरबार बिग्रिएका थिए। बेमेलका कारण श्रीमती घर छोडेर माइत जाने, श्रीमान चाँही रक्सी सेवन गरी आफ्नो पुरुषत्व प्रवृत्ति देखाउने। छोराछोरी अलग्गै बस्ने। यस्ता खालका प्रवृत्ति पनि प्रशस्तै उदाहरण थिए। हाम्रो परिवार पनि एक हदसम्म राजनीतिक दलको आबद्धता हिसाबमा ठुलै वैचारिक द्वन्द्व थियो। 

समयक्रमसँग २०४८ सालको आमनिर्वाचन नजिकिँदै थियो। सबै दलका संगठनले चुनाव प्रचारप्रसार तीव्र पार्दै लगेका थिए। प्रचारप्रसारका लागि टाँगिएका तुल, ब्यानर र पोस्टर च्यात्ने र हटाउन पनि माथिकै प्रवृत्ति थियो।

प्रचारप्रसारका लागि गाउँघरका हरेक घरमा नारा लेखिन्थे। बाटामा देखिएका ठूलाठूला ढुङ्गा कुनै नकोरिएको होस् वा जतापायो त्यतै पोस्टर टाँसी प्रकृतिलाई नै कुरुप बनाइन्थ्यो। मेरो समकालिन सबैमा यो अनुभव पक्कै हुनुपर्छ त्यसरी टाँसिएका पोस्टर च्यातेको। च्यात्न रमाइलो लाग्थो। हामीलाई केहीहदसम्म थाहा थियो केही स्थानका पोस्टर च्यात्नु हुँदैन। कारण उही भोलिपल्ट खाइने कुटाई।

हामी बच्चानै थियौं। यस्ता सबै परिघटना देखेर मनमा रहर लाग्यो। अनि मैले र दाइले निर्णय गर्‍यौं - इनामेल किनेर बुवा आवद्ध दलको प्रचारप्रसार गर्ने। हाम्रो घरबाट सदरमुकाम त्यस्तै ६/७ किलोमिटर टाढा थियो। हामी (म र दाई) बाटाभरी भेटिएका खाली ढुङ्गा र घर देख्नै नहुने के–के लेखेर दलको चिह्न बनाइहाल्ने। त्यतिबेला बनाएको चिह्न बनाउन अहिले पनि मलाई सहज लाग्छ।

बाल्यकालको स्मृति त्यति तेज हुने रहेछ।

प्रजातन्त्रका आफैमा कति सुन्दरपक्ष छन्। जनताले जनताका लागि जनताले नै गर्ने शासन। समानता, वाक स्वतन्त्रता यी शब्द कति शक्तिशाली छन् जसलाई अहिले विश्वले नै अँगालेको छ। एकै सिक्काका दुई पाटा भनेझैं कुनै पनि व्यवस्था, पद्धति, समाज वा व्यक्ति सबैका दुई पाटा हुन्छन्। सकारात्मक र नकरात्मक।

नकरात्मक पक्षचाँही सबै किसिमले मन मस्तिष्क र समाजबाट हटाउन निकै कठिन हुने। त्यसमा पनि बाल मस्तिष्कमा परेको नकरात्मक असरचाहि दीर्घकालिन हुने रहेछ। मलाई लाग्छ त्यो तत्कालिन समयमा समाजमा राजनीतिक चेतना र केही हदसम्म शिक्षाको कमीका कारण थियो। वर्तमान अवस्थामा त्यो समाजसँग म पूर्ण परिचित छैन। सतही ज्ञानका आधारमा भन्नुपर्दा निक्कै परिवर्तन र चेतना स्तरमा वृद्धि भएको पाउँछु। यो बाल्यकालिन स्मृतिका परिघटनाका केही वर्षपछि विस्तारै सामाजिक मुल्य मान्यतातर्फ फर्केको अनुभूति गरेको थिएँ। मेरो भनाई विद्यमानमा रहेको कुसंस्कार, गलत प्रवृत्तिकाविरुद्ध समाजको तल्लो तहबाट नै रुपान्तरणको प्रयास गर्ने हो भने यसले मूर्त रुप लिन धेरै समय लाग्दैन कि भन्ने लाग्छ। मध्य तथा पछिल्लो पुस्ताले यसमा अग्रसरता लिएको देख्दा निकै आनन्द लाग्दो रहेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell