PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झा दम्पत्ती अपहरण प्रकरण : ६ दिनसम्म भेटिएन क्लु, बेचैनमा परिवार



सुमित मिश्र

झा दम्पत्ती अपहरण प्रकरण : ६ दिनसम्म भेटिएन क्लु, बेचैनमा परिवार

जनकपुरधाम: महोत्तरीको पिपरा गाउँपालिका-५ स्थित सोहडवाबाट गत सोमबार मध्यरातिदेखि अपहरण भएका झा दम्पत्ति प्रकरणमा प्रहरीले अझै क्लु भेट्न सकेको छैन। ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीता देवीको अपहरण भएको ६ दिनपछि पनि अवस्था अज्ञात रहनु प्रहरी प्रशासनका लागि समेत चिन्ताको विषय बनेको छ।

प्रहरीको टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिइरहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसी स्वयं त्यहाँ पुगेर यस घटनाको अनुसन्धान गरिरहेका छन्। यद्यपि प्रहरी प्रशासन अझै अपहरणको क्लु खोज्नमै व्यस्त रहेको प्रहरी उपरीक्षक केसीले बताए।

एसपीदेखि डिआइजीसम्म अनुसन्धान तल्लिन छन्। तर अझैसम्म केही क्लु नै भेटिएको छैन। जसकारण थप अनुसन्धान गर्न कठिनाइ भइरहेको छ।

यता प्रदेश २ प्रहरीका प्रमुख धीरजप्रताप सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको जानकारी दिए। उनले ३ जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताए।

https://pahilopost.com/assets/upload/images/20210226_095150.jpg

‘यो घटनाको क्लु खोज्न अझै हामी व्यस्त छौँ’, डिआइजी सिंहले भने, ‘प्रदेश प्रहरी, इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली अपहरणको अझै क्लु खोज्न व्यस्त छ थप अनुसन्धान गरिरहेका छौं।’

प्रहरीका अनुसार दुवैलाई ओछ्यानबाटै अपहरण गरिएको छ। त्यस्तै, गीता देवीको घरमा रगतको थोपा देखिएको छ। घर पुग्ने पीसीसी ढलान गरिएको गल्लीमा समेत रगतका थोपा जस्तै देखिएको छ। ओछ्यानसहित नै ती दम्पत्तिलाई अपहरण गरिएकोले यो घटना रहस्यमय बन्न पुगेको छ।

यता अनुसन्धानमा खटेका एसपी टीकाबहादुर केसीलाई शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा सरुवा गरिएको छ।

ग्राउण्ड जिरोबाट हेर्दा के छ?

घरमा अहिले रुवावासी छ। मुसाफिर र गीता देवीको अपहरण गत सोमबार राति सुतिरहेकै कोठाबाट भएको थियो। दुवै अलगअलग कोठामा सुत्थे। मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा। नवनिर्मित घरमा ढोका लगाइएको छ भने झ्याल लगाउन बाँकी नै छ।

अपहरित झा दम्पत्तिका दुई बुहारी रातभर जाग्राम बसेरै रात बिताउँछन्। उनीहरुलाई विश्वास छ सासु-ससुरा घर फर्केर आउँछन्। तर, अहिलेसम्मको दम्पत्तिको अत्तोपत्तो छैन। https://pahilopost.com/assets/upload/images/20210226_101306.jpg

अपहरित मुसाफिरकी बहिनी शान्ति देवीले भनिन्, दाई भाउजुको लासै भए पनि हामीलाई बुझाएको भए सन्तोष हुन्थ्यो तर उनको कुनै खबर अहिलेसम्म नआएकाले हामी बेचैन छौं। दाई भाउजुको स्वभाव एकदमै सरल थियो, सबैसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गर्थे। तर, कसको आँखा लाग्यो दाई भाउजुको अपहरणसँगै परिवार नै छिन्न भिन्न भएको छ।’

बहिनी शान्तिका अनुसार मुसाफिरको पछिल्लो समय स्वास्थ्य एकदमै कमजोर बन्दै गइरहेको थियो। उनलाई खाना नपच्ने समस्या थियो, त्यसैले उनी खाना पनि राम्ररी खान छोडेका थिए। मुसाफिर साक्षी बसेको मोही जग्गाको विवादको सम्बन्धमा फैसला आएलगत्तै उनलाई उपचारका लागि वीरगंज लाने योजना परिवारको रहेको बहिनी शान्तिले बताइन्।

छोरी बेबी मिश्र बुवाको अपहरणको खबर पाएलगत्तै माइत पुगिन्। उनी भाउजुहरुलाई सम्हाल्नका लागि माइत पुगेकी थिइन्। तर, आमा बुवाको अपहरणले उनी पनि बेचैन छिन्।

‘मेरो बुवाले कसको के बिगारेका थिए’, बेबीले भनिन् ‘आमा बुवाको अवस्था अज्ञात त छ नै हामी पनि डरका बीच जसो तसो बाँचिरहेका छौं।’

उनले बुवा आमाको अवस्था चाँडै ज्ञात भएन भने समाजलाई लिएर कडा आन्दोलन गर्ने चेतावनी दिइन्।

https://pahilopost.com/assets/upload/images/20210226_101808.jpg

अपहरणको कारण जग्गा विवाद!

अपहरित मुसाफिर झा महोत्तरीको लोहारपट्टि नगरपालिका १ बगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए। मंगलबार सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउनेवाला थियो। तर, सोमबार राति सासु ससुराको अपहरण भएको जेठी बुहारी अंशु झाले बताइन्।

अंशु भन्छिन्, ‘बगरामा रहेको ४ बिघा मोही जग्गा विवादमा मेरो ससुरा साक्षी बसेका थिए। बगराका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटक पटक आउँथे। त्यो दिन पनि आएका थिए, मंगलबार फैसला आउने भएकाले उनीसँगै मेरो ससुरा बाहिर गएका थिए।’

अंशुका अनुसार त्यो दिन मोसाफिर घर फर्केर पनि आए। सबै ठीक थियो। तर, राति सासु ससुराको अपरहण भएको सुँइको समेत उनले पाइनन्। जबकी ससुरा सुतेको छेउकै कोठामा उनी सुतिरहेकी थिइन्।

ती दम्पत्तिको अपहरण हुनुभन्दा एक दिन अगाडि गाउँकै एक व्यक्तिसँग गीता देवीको विवाद भएको थियो। बुहारी अंशुका अनुसार त्यो विवाद पनि जग्गालाई नै लिएर भएको थियो। त्यो विवाद भने साक्षी बसेको मोहीको जग्गालाई लिएर नभई उनीहरुले बेचेको जग्गालाई लिएर भएको थियो।

https://pahilopost.com/assets/upload/images/20210226_101950.jpg

पुरानो घर फुसको थियो त्यसैले पक्की घर बनाउनका लागि १० धुर जग्गा उनीहरुले बेचेको अंशुले बताइन्। त्यो जग्गा गाउँकै एक व्यक्तिले लिएका थिए। ७ लाख ५० हजार रुपैयाँमा त्यो जग्गा बिक्री गरिएको थियो। जग्गा लिने व्यक्तिले शुरुमा ५ लाख रुपैयाँ दिने र बाँकी पैसा पछि दिने भन्दै जग्गा रजिष्ट्रेशन गरिदिन दबाब बनाए। जुन कुरा सासुले नमान्दा विवाद भएको बुहारी अंशु बताउँछिन्। विवाद भएकै दिन मध्यरातमा उनीहरुको अपहरण भएको थियो।

अवकाशप्राप्त कर्मचारी थिए मुसाफिर

अपहरित मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी हुन्। उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर १० वर्ष अगाडि अवकाश प्राप्त गरेका थिए। मुसाफिरको स्वभाव एकदमै सरल भएको भाई विजयकान्त झाले बताए।

‘सिधा इमान्दारीपूर्वक जीवन व्यतित गर्ने मेरो दाईको कसैसँग दुश्मनी हुन सक्छ जस्तो मलाई लाग्दैन। उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धी कुनै समस्या हुँदा वा विवाद हुँदा समाधानका लागि उनको खोजी हुने गर्थ्यो। र, उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell