PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ह्विप नमान्ने सांसदलाई ओलीले निकाल्न सक्दैनन् : भीम रावल, 'बरु उहाँलाई हटाउँछौ अब हामी'



ह्विप नमान्ने सांसदलाई ओलीले निकाल्न सक्दैनन् : भीम रावल, 'बरु उहाँलाई हटाउँछौ अब हामी'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गरेका छन्। 

आइतवार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताए। संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्विप मान्न नपर्ने पनि रावलले बताए। त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफुहरुको बहुमत रहेको बताए । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि बताए । ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले, समानुपातिक सांसद हटाइदिन्छु। उहाँलाई हटाउँछौ अब हामी,' रावलले भने, 'बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौ हामी यो बुझिराख्नुस्।' 

प्रधानमन्त्री ओलीको धम्की धेरै नटिक्ने उनको भनाई थियो। 'दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सो को लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने। मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्नुकुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाट्ने कुरा रहेछ,' रावलले भने, 'दलका नेता कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ। दुई तिहाई सदस्य हामीसँग छन्। अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वत्ः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावालले गरे। निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनको भनाई थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानून र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि उनको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell