PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राजीनामा पत्र लेख्ने अवस्था नै नरहेको प्रधानमन्त्रीको जिकिर, अबको बाटोबारे यस्ता छन् तर्क



राजीनामा पत्र लेख्ने अवस्था नै नरहेको प्रधानमन्त्रीको जिकिर, अबको बाटोबारे यस्ता छन् तर्क

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्। माइतीघर मण्डलबाट आफूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता भएको सुनेको ओलीले बताए। हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डसँग बहुमत नभएको दाबी गरे। संसदीय दलको नेतामात्रै घोषणा गर्नुभन्दा प्रधानमन्त्री नै घोषणा गर्नु राम्रो हुने ओलीले कटाक्ष गरेका छन्।

'माइतीघर मण्डलाबाट संसदीय दलको नेता छानिनु भो भन्ने सुनेको थिए। उहाँले आफैँले आफैँलाई छान्नु भो। बहुमत उहाँसँग छ भने संसदबाट प्रधानमन्त्री फेरे भैगो नि,' ओलीले भने,' घोषणा नै गर्नु परेपछि दलको नेता मात्रै किन प्रधानमन्त्री ठोकेको भए हुन्थ्यो।'

उनले आफू कुनै आवेश उत्तेजनामा नजाने बताए। स्थिरता नबिग्रिने लक्षण देखिए राजीनामा दिने ओलीको भनाई छ।

'उपयुक्त विकल्प देखियो भने, स्थिरता तर्फको यात्रा खासै नबिग्रिने देखियो भने राजीनामा गर्न सकिन्छ,' उनले भने।

अदालतको निर्णयले अस्थिरता देखिने संकेत देखिएको ओलीको दाबी छ। उनले अदालतको फैसलाबारे धेरै बहस गर्नु ठिक नभएको बताए।

'अदालतको फैसला कार्यान्वयन हुन्छ। त्यो कार्यन्वयन गर्न मेरो कर्तव्य हो। देशमा अन्यौलको स्थिति सिर्जना हुँदैछ। अब यो बहसको चरणमा छ। अब बहस गरिरहनुको अर्थ छैन्,' उनले भने।

आफूले गल्ती गरेको भए माफी माग्ने तर संसद् विघटन गरेर आफूले गल्ती नगरेको ओलीको दाबी छ। कुनै व्यक्तिले गल्ती गर्‍यो भन्दैमा आफूले माफी नमाग्ने उनले बताए।

'गल्ती गर्‍यो भने माफी माग्छु। कसै व्यक्ति वा निकायलाई गल्ती लाग्नु स्वभाविक हो,' उनले भने।

राजीनामा पत्रबारे सोध्दा ओलीको जवाफ थियो, 'म पत्र लेख्दिनँ। मैले लेख्नुपर्ने अवस्था छैन।'

ओलीले संकटकाल लगाउने कुरा बाहेक अन्य विकल्पहरु बारे आफू सोचिरहेको बताए। प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत पनि लिन सक्ने बताए। 'मैले आवश्यक परे विश्वासको मत लिन सक्छु। विश्वासको मतमा मलाई हराउन सक्नुपर्‍यो,' ओलीले भने, 'अर्को बाटो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हराउने संसदीय बाटो छ। संवैधानिक बाटो छ। कानुनी बाटो छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell