PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२७०० भन्दा बढीको मृत्यु भइसक्दा कोरोनाका कारण मान्छे मर्न नदिएको ओलीको दाबी, 'अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन'



२७०० भन्दा बढीको मृत्यु भइसक्दा कोरोनाका कारण मान्छे मर्न नदिएको ओलीको दाबी, 'अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना नियन्त्रणमा सम्पन्न देशहरुलाई समेत पछि पारेको दाबी गरेका छन्। हिमालय टेलिभिजनमा यक्ष प्रश्नको सामना गर्ने क्रममा ओलीले कोरोना नियन्त्रणमा सरकार अब्बल भएको बताएका हुन्।

'कोरोना नियन्त्रण गर्ने राम्रो देशमा १ प्रतिशत देशमा नेपाल पर्छ। हामीभन्दा सम्पन्न देशले यस्तो गर्न सकेका छैनन्। हामीले गरेका छौं' उनले भने।

पहिला कोरोना परीक्षण गर्ने यन्त्र नै नभएको तर अहिले ठाउँमा ८३ ठाउँमा परीक्षण हुने भन्दै कोरोनाका कारण धेरै मान्छेलाई मर्न नदिएको दाबी समेत गरे।

'अहिले धेरै हजारको संख्यामा एकैदिन टेस्ट गर्न सक्छौं। यसैबीच गर्‍यौं। मान्छे मर्न दिएनौं। मान्छेले उडाएपनि' उनले भने।

उनले कोरोना नियन्त्रणका लागि दिएको उपाय उडाउनेहरुलाई मुर्खको संज्ञा समेत दिए।

ओलीले यसअघि नेपालमा कोरोनाका कारण केही व्यक्तिको मृत्यु भएको घोषणा भइसक्दा पनि कोरानाका कारण नेपालमा कसैको मृत्यु नै नभएको दाबी समेत गरेका थिए। हाल नेपालमा २ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

'मैले निरोगी नेपाल बनाउने सोचेको छु । कोरोना लागि हाल्यो भने मर्न सक्छ। त्यसकारण मार्न नपारोस्। लागि हाले अस्पताल जानु नपरोस्। मैले मामुली कुरा बताएको हो' कोरोनाको उपचारबारे दाबी गर्दै भने, ' अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन । झुकिएर लागि हाले स्टिम लिने।'

यसअघि ओलीले बेसार पानी खाँदा र हाच्छिउँ साच्छिउँ गर्दा कोरोना भाग्ने दाबी समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell